भोटेकोशी बाढीका घाइतेमध्ये २७ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार जारी, ३९ जना डिस्चार्ज

रसुवाको भोटेकोशी बाढीमा घाइते भई त्रिवि शिक्षण अस्पताल ल्याइएका ६७ जनामध्ये हाल २७ जनाको उपचार भइरहेको छ भने ३९ जना डिस्चार्ज भइसकेका छन्।

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भई उद्धार गरेर महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइएकामध्ये २७ जनाको उपचार भइरहेको छ।

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले अस्पतालमा ल्याइएका ६७ बिरामीमध्ये २७ जनाको उपचार भइरहेको जानकारी दिए। उपचाररत बिरामीमध्ये तीन जनाको सघन उपचार कक्ष (आईसीयू) र दुई जनाको हाइकेयर (विशेष निगरानी) मा राखेर उपचार भइरहेको छ।

अस्पतालमा ल्याइएकामध्ये एक घाइतेको उपचारका क्रममा मृत्यु भएको जनाउँदै डा. सेढाईंले मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेको उल्लेख गरे। उनका अनुसार हालसम्म अस्पताल ल्याइएका बिरामीमध्ये ३९ जना डिस्चार्ज भइसकेका छन्।