पहिलोपटक २०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनाव जित्दा नै शरतसिंह भण्डारी मन्त्री भएका थिए। त्यसयता अहिले १०औँ पटक उम्मेदवार बनेका छन् र दुईपटक मात्र पराजित भएका छन्।
काठमाडौँ– भदौ २४ को विध्वंशमा आफ्नै घर जलेपछि माघ ५ गते साँझसम्म पनि जसपा नेता शरतसिंह भण्डारी सोही क्षेत्रबाट उम्मेदवारी मनोनयनका लागि तयार थिएनन्। आफ्ना निकटसँग उनी दोहोर्याइतेहर्याइ भनिरहेका थिए, “म जितेको क्षेत्रमा त मेरो घर सुरक्षित रहनुपर्थ्यो, तर जल्यो। अनि त कसरी उम्मेदवारी दिऊँ?”
यद्यपि, पार्टी कार्यकर्ताको जोडबल र आफन्तको दबाब भण्डारीले थेग्न सकेनन्। भोलिपल्ट माघ ६ गते उनले महोत्तरी क्षेत्र नं. २ का लागि मनोनयन गर्ता गराए। निर्वाचनमा यो उनको १०औँ उम्मेदवारी हो।
उम्मेदवारी दर्ता गर्न शुरूदेखि नै हच्किनुमा भण्डारीकी श्रीमतीकै मुख्य भूमिका रहेको उनी निकटका एक नेता बताउँछन्। ती नेताका अनुसार, भण्डारी शुरूमा उम्मेदवारीका लागि तयार रहे पनि श्रीमतीले असहमति जनाएपछि ५ गते रातिसम्मै दोधारमा थिए।
“तर दादा (शरतसिंह)लाई धेरै कार्यकर्ताले घरैमा आएर दबाब दिन थाल्नुभयो। कति त भावुकै भएर अनुनयविनय गर्नुभयो,” उनले भने, “५ गते पूरा कटिसकेको थियो। ६ गते नै भन्नुपर्ला बिहानै उम्मेदवारी दिने निर्णयमा पुग्नुभएको हो।”
भण्डारी पञ्चायतकालको निर्वाचनदेखि नै उम्मेदवार भएका हुन्। त्यसबेलाका दुवै निर्वाचनमा उनी महोत्तरीबाट विजयी भएका थिए। २०४६ सालमा व्यवस्था परिवर्तन भएपछि २०४८ सालमा गठन भएको सूर्यबहादुर थापा नेतृत्वको राप्रपामा लागे।
त्यही वर्ष भएको निर्वाचनमा उनी महोत्तरी–५ बाट उम्मेदवार बने पनि कांग्रेसका वसन्तकुमार गुरुङसँग पराजित भए। त्यसपछि कांग्रेसकै रुखको छहारीमा सरे। तर २०५१ सालको चुनावमा कांग्रेसले टिकट दिएन। उनी स्वतन्त्र उम्मेदवार भएर जित हासिल गरे। निरन्तर उम्मेदवार भइरहेका उनी त्यसयता २०७० सालको संविधानसभा निर्वाचनमा मात्र पराजित भएका छन्।
पहिला के भनेर जिते, अहिले के भनिरहेका छन्?
२०६४ सालयताको सबै निर्वाचनमा भण्डारी भौतिक संरचना निर्माणको सपना बाँड्थे। तर यसपटक उनी कुनै भौतिक संरचना बनाइदिने आश्वासन बाँडेका छैनन्, बरू बनेका भौतिक संरचना आफूले बनाएको दाबी गरिरहेका छन्। मनोनयन दर्ता गरेसँगै टोलटोलमा मतदाता भेट्न पुगिरहेका उनी आफूले गरेका कामहरूको शृंखला सुनाइरहेका भेटिन्छन्।
त्यति मात्र होइन, भण्डारी लोकसेवामा आरक्षण र समानुपातिक समावेशीको मुद्दा पनि आफूले नै स्थापित गराइछाडेको बताइरहेका छन्। “मकहाँ मान्छेहरू आएर मेरो फलानोले लोकसेवा पास गर्यो भन्न आउँछन्। म उनलाई थप केही सोध्नुअघि नै तिनीहरू मधेशी कोटा भनिदिन्छन्। त्यो कोटा कसले दिलाएको हो?” भण्डारीले भाषणमा भनेका छन्, “विकासको कुरा त छँदैछ। सवाल अधिकार र पहिचानको पनि छ। अहिले सचेत हुनुभएन भने पाएको अधिकार पनि गुम्न सक्छ।”
पञ्चायतकालदेखि नै भण्डारीका लागि अनुकूल बनिरहेका महोत्तरीका क्षेत्रहरू यसपटक भने चुनौतीपूर्ण छ। सो क्षेत्रमा पुराना दलसँगै नयाँ उम्मेदवार पनि छन्।
२०५१ सालदेखि भण्डारीलाई मत दिइरहेका ५९ वर्षीय रामबाबु गुप्ता यसपटक मत हाल्नुअघि सोचविचार गर्ने बताउँछन्। भण्डारीको छवि र काममा धेरै टिप्पणी नगर्ने बताए पनि मत परिवर्तन गर्ने पक्षमा रहेको उनको भनाइ छ। “यसपटक यो क्षेत्रको माहोल अलिक फरक छ,” गुप्ता भन्छन्, “तर सधैँ एउटैले अवसर पाउनु हुन्न जस्तो महसुस हुन थालेको छ।”
सोही क्षेत्रको परोलमा १७ वर्षदेखि टेन्टको व्यापार गर्ने लखन शर्मा पनि भण्डारी यसपटक सहज अवस्थामा नभएको बताउँछन्। उनका अनुसार, भण्डारीलाई यसपटक कांग्रेस उम्मेदवार किरण यादवले टक्कर दिने सम्भावना छ। “यसपटक घण्टी (रास्वपा)ले पूरै माहोल बदलिदिएको छ। जित्छ–जित्दैन त्यो अहिले नै भन्न सकिँदैन, तर अनुमानको गणित बिगारेको छ,” शर्मा भन्छन्, “दादालाई यसपटक किन पनि गाह्रो छ भने घण्टी र कांग्रेसको सम्भावना पनि बलियो छ।”
जसपा महोत्तरी जिल्ला अध्यक्ष रामनरेश राय भने उक्त क्षेत्रमा भण्डारीकै बोलवाला भएको दाबी गर्छन्। पछिल्ला निर्वाचनजस्तै यो निर्वाचनमा पनि भण्डारी भारी मतका साथ जित्ने उनी बताउँछन्। “हामी काम गरेका पार्टी हौँ। हाम्रो संगठन छ। त्यसै हक दाबी गरिरहेका छौँ र?” राय भन्छन्, “हो, प्रतिस्पर्धामा कांग्रेस र घण्टी जरूर छन्। तर जित १०० प्रतिशत हाम्रै हुन्छ।”
जितेपछि सधैँ मन्त्री
२०३२ सालदेखि सक्रिय राजनीति शुरू गरेका भण्डारी पहिलोपटक २०४३ सालमा प्रधानमन्त्री मरिचमान सिंहको नेतृत्वको मन्त्रिपरिषद्मा सहायकमन्त्री भएका थिए। उनले पञ्चायत तथा स्थानीय विकास मन्त्रालयको जिम्मा पाएका थिए।
दोस्रोपटक सोही वर्ष सिंह नेतृत्वकै सरकारमा उनी वाणिज्य राज्यमन्त्री भए। सिंह नेतृत्वकै सरकारमा थप दुईपटक मन्त्रीहरूको जिम्मेवारी हेरफेर हुँदा उनी वाणिज्य राज्यमन्त्री नै रहिरहे।
२०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्र पुनर्बहाली भयो। त्यसपछि बनेका सरकारमा पनि भण्डारी पटकपटक मन्त्री भए। उनी पाचौँपटक २०५२ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा बिनाविभागीय राज्यमन्त्री भएका थिए। त्यसपछि २०५३ जेठमा मन्त्रिपरिषद् पुनर्गठन हुँदा बिनाविभागीय राज्यमन्त्री नै रहे। त्यही वर्ष पुस २४ गते भएको पुनर्गठनमा बिनाविभागीय मन्त्री भए।
प्रजातन्त्र पुनर्बहालीपछि सिंहदरबारमा अधिकार आए पनि सरकार गठनबारे पर्याप्त अभ्यास नहुँदा र मन्त्रालयहरूको परिकल्पना ठीक ढंगले नगरिँदा आफू तीन पटकसम्म बिनाविभागीय मन्त्री बनेको भण्डारीले पछिल्लो पटक मन्त्रीको शपथ गर्नुअघि उकालोसँगको कुराकानीमा बताएका थिए। “अहिलेजस्तो त्यतिखेर प्रधानमन्त्रीको सचिवालय बनाएर विज्ञहरू राख्ने चलन थिएन। बिनाविभागीय मन्त्री हुँदा मैले नै प्रधानमन्त्री कार्यालयमा काम गर्ने अवधारणा अघि सारेको थिएँ,” उनले भनेका थिए, “कामकाजको बाँडफाट नभएकोले मैले प्रधानमन्त्रीलाई काममा सघाएको थिएँ।”
भण्डारी २०५४ सालमा प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको सरकारमा युवा, खेलकुद तथा संस्कृतिमन्त्री भए। सोही वर्ष थापा सरकारका मन्त्रीहरूको जिम्मेवारी दुईपटक हेरफेर हुँदा युवा, खेलकुद तथा संस्कृतिमन्त्री नै कायम भए।
२०५६ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वमा पनि भण्डारी युवा, खेलकुद तथा संस्कृतिमन्त्री भएका थिए। पुनर्गठन समेतलाई मान्दा उनी ११औँ पटक मन्त्री भएका थिए। सोही वर्ष भट्टराई नेतृत्वको सरकारका मन्त्रीको जिम्मेवारी हेरफेर भयो, तर उनको मन्त्रालय फेरिएन।
भट्टराई सरकारका मन्त्रीको जिम्मेवारी त्यही वर्ष पुनः हेरफेर हुँदा १३औँ पटकमा भण्डारी स्वास्थ्यमन्त्री भए। २०५८ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्रीकै जिम्मेवारी पाए। सोही वर्ष देउवा नेतृत्वको सरकार पुनर्गठन हुँदा पनि स्वास्थ्यमन्त्री कायम रहे।
२०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा उनी १६औँ पटकमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री भए। २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा रक्षामन्त्री भए। २०७८ जेठ २१ गते केपी शर्मा ओली नेतृत्वको सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भए।
पुनर्गठन समेतलाई हिसाब गर्दा भण्डारी २०७९ चैत १७ गते १९औँ पटक मन्त्री हुने चर्चा चलेपछि उकालोसँग टेलिफोनमा उनले यसपटक आफूलाई खेलकुद, पर्यटन, ऊर्जा वा स्वास्थ्यमन्त्री बन्ने चाहना भएको बताएका थिए। ती मन्त्रालयमा विगतमा काम गरेको अनुभव भएकाले पुनः जिम्मेवारी लिन चाहेको उनको भनाइ थियो।
तर उनको चाहनाअनुसार भएन। उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त भएर १२औँ पटक मन्त्रीको शपथ गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
