पहिरो पन्छाएपछि खुल्यो नारायणगढ-मुग्लिन सडक

पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड दुवैतर्फ पन्छाएर सोमबार दिउँसोदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ।

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ। सोमबार बिहान १७ किलो र सिमलताल नजिक लेदो र ढुङ्गासहित पहिरो खसेपछि सडक बन्द भएको थियो।

सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी एवं इन्जिनियर कृष्ण आचार्यका अनुसार १७ किलोमा खसेको ढुङ्गा र सिमलताल नजिक खसेको लेदोसहितको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो।

दुवै ठाउँमा तत्काल पहिरो हटाएर सुरुमा एकतर्फी सडक खुलाइएको थियो। क्रमशः सवारी चाप कम भएपछि बाँकी अवशेष पूरै हटाएर आज दिउँसो ३ः१५ बजेदेखि दुईतर्फी रूपमा सवारी साधन सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।