के हो माइतीघर जलमग्न हुनुको कारण?

माइतीघर क्षेत्रमा ९० सेन्टिमिटरबाट ६० सेन्टिमिटरमा साँघुरिएको ढल र कङ्क्रिटका संरचनाका कारण बर्खामा जलमग्न हुने गरेको प्राविधिक टोलीको अध्ययनले देखाएको छ।

काठमाडौँ– माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा हुने डुबानको मुख्य समस्या पूर्वाधार निर्माणको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको प्रतिवेदन पेश भएको छ।

झरी परेपछि सो क्षेत्र डुबानमा पर्न थालेपछि साउन ५ गते काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायका प्रमुख र प्रतिनिधिसहित अनुगमन भएको थियो। अनुगमनपछि उनले सम्बन्धित कार्यालयका अधिकारीहरूको संयुक्त टोलीलाई प्राविधिक प्रतिवेदन पेस गर्न निर्देशन दिएकी थिइन्।

कार्यवाहक प्रमुखको निर्देशनपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसीको संयोजकत्वमा गठित समितिले स्थलगत प्रतिवेदन तयार पारेको हो। टोलीका सदस्यहरूमा काठमाडौँ महानगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन रेग्मी, सडक विभागका इन्जिनियर पुरुषोत्तम भण्डारी र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक उज्ज्वल श्रेष्ठ थिए।

प्रतिवेदन अनुसार माइतीघर मण्डला क्षेत्रको ढल निकास प्रणालीमा गम्भीर इन्जिनियरिङ त्रुटि देखिएको छ। माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भागमा ९० सेन्टिमिटरको ढल छ। यो ढल प्रणाली तल्लो भागमा पुगेपछि ६० सेन्टिमिटरमा साँघुरिएको छ। यसरी माथिल्लो भागबाट आउने पानीको चापलाई तल्लो भागको साँघुरो ढलले धान्न नसक्दा ‘बोटलनेक’ को समस्या भई पानी सडकमा बाहिरिने गरेको प्रतिवेदनमा उल्लेख छ।

यसबाहेक, टुकुचा खोलाको सतह बढेको बेला ढलको पानी खोलामा जानुको साटो उल्टै बस्ती र सडकतर्फ फर्कने ('ब्याक फ्लो') समस्याले गर्दा पनि माइतीघर जलमग्न हुने गरेको देखिएको छ।

भौतिक पूर्वाधार बाहेक वातावरणीय र सहरी विकास व्यवस्थापनका कारणहरूलाई पनि प्रतिवेदनले डुबानको प्रमुख कडीका रूपमा औँल्याएको छ। विगतमा माइतीघर चोकसँगै जोडिएका खुला क्षेत्रहरूले ‘प्राकृतिक जलाधार’ को काम गर्थे, जसले वर्षाको पानीलाई जमिनमुनि सोस्ने गर्थ्यो। तर, अहिले ती क्षेत्रमा जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला सरकारी वकिलको कार्यालय लगायतका ठूला भवनहरू निर्माण भएपछि जमिन कङ्क्रिटले ढाकियो। यसकारण पानी सोसिने प्राकृतिक प्रक्रिया बन्द भएको छ। यसले गर्दा सतहमा बग्ने पानीको मात्रा अत्यधिक बढ्न गई माइतीघर चोकमा सिधै केन्द्रित हुने गरेको प्राविधिक टोलीको निष्कर्ष छ।

अतिक्रमणको समस्या पनि माइतीघर डुबानमा उस्तै जिम्मेवार देखिएको छ। अनुगमनका क्रममा कतिपय स्थानमा ढलमाथि नै व्यक्तिगत र सरकारी भवनका संरचनाहरू निर्माण भएका कारण नियमित सरसफाइमा अवरोध पुगेको पाइएको छ। ढलको पाइपभित्र प्लास्टिकजन्य फोहर, बोतल र ढुङ्गा–गिट्टी थुप्रिनुले पानीको बहावलाई थप रोकेको छ। यस समस्यालाई समाधान गर्न कार्यवाहक प्रमुख डंगोलले अनुगमनकै क्रममा स्थानीय प्रशासन र साझेदार निकायहरूको सहकार्यमा सबै प्रकारका अवरोध हटाउन निर्देशन दिएकी थिइन्।

प्रतिवेदनले तत्काल र दीर्घकालीन रूपमा चालिनुपर्ने कदमहरू पनि सिफारिस गरेको छ। तत्कालका लागि ढल निकास मार्गमा रहेका अवरोध हटाउने, म्यानहोलहरूको उचाइ बढाउने र नियमित सरसफाइ गर्ने कार्यलाई प्राथमिकता दिइएको छ। दीर्घकालीन समाधानका रूपमा माइतीघर वा पुरानो स्वास्थ्य मन्त्रालय परिसरको सार्वजनिक जग्गाभित्र जमिनमुनि ठूलो क्षमताको पानी भण्डारण ट्याङ्की निर्माण गर्न सुझाव दिइएको छ। यसले वर्षाको पिक समयमा आउने पानीलाई केही बेर भण्डारण गरी पछि बिस्तारै निकास दिन सहयोग पुग्नेछ।

त्यस्तै, टुकुचा खोलाको निकास विन्दुमा पानी फिर्ता हुन नदिने ‘नन रिटर्न भल्भ’ जडान गर्न, समग्र उपत्यकाको ढल सञ्जालको जीआईएस म्यापिङ गर्न र माइतीघर क्षेत्रको क्याचमेन्ट एरियाको आधारमा ढलको क्षमता पुनः डिजाइन गर्न प्रतिवेदनले जोड दिएको छ।

सडक, खानेपानी, ढल र विद्युत् जस्ता निकायहरूबिच समन्वयको अभावमा एउटाले बनाउने र अर्काले खन्ने परिपाटीलाई अन्त्य गरी एकीकृत प्रणाली विकास गर्नुपर्ने आवश्यकतालाई समेत प्रतिवेदनले विशेष महत्त्वका साथ उठाएको छ।