अस्तव्यस्त सडक
काठमाडौँ उपत्यकाको सडक धुलो, धुवाँ, ढल र खाडललगायत कारणले अस्तव्यस्त छ। सडकमा कोरिएका जेब्रा क्रस, सडक लेन मेटिएको छ। कतै जेब्रा क्रससमेत नहुँदा पैदल यात्रुले सकस भोग्नु परेको छ। खानेपानीका लागि जथाभाबी खनेर बनेको खाडल तथा बिजुलीको भूमिगत तार व्यवस्थापनले झन् जोखिम बढेको छ। बढ्दै गएको सवारी साधनको संख्याले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ। धुलो र धुवाँले मानवीय स्वास्थ्यमा प्रतिकूल असर पारेको विभिन्न तथ्यांकले देखाएका छन्।
एनसेल बिक्री प्रकरण
सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले एनसेल बिक्रीविरुद्ध प्रदर्शन गरेको छ। बिहीबार काठमाडौँको पद्मकन्या बहुमुखी क्याम्पसमा विद्यार्थीले एनसेल बिक्रीमा भएको अनियमितता छानबिनको माग गर्दै प्रदर्शन गरेका हुन्। उनीहरूले कांग्रेस सरकारमा रहँदा कुशासन बढेको भन्दै नेतृत्त्वलाई प्रश्नसमेत गरेका छन्।
पर्व
प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आइतबार बेलुकीदेखि मनाइँदैछ। पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आइतबार दिवंगत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउँछन्। आइतबार दीपदान गरी सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ।
विरोध
सिंहदरबार प्रवेश गेटहरूमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। सर्वसाधारण प्रवेश गर्ने दक्षिण गेटसहितका गेटहरूमा चेकजाँचमा कडाइ गरिएको हो। सिंहदरबारभित्र छिर्ने सवारीसाधन र पैदल यात्रुहरूलाई चेकजाँच गरिएको छ। प्रहरीले सवारीसाधन तथा झोला चेकजाँच गरेर मात्रै प्रवेश अनुमति दिएको छ। सिंहदरबार क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
अपांगता पुनर्स्थापना केन्द्र
काठमाडौँको भृकुटीमण्डपस्थित अपांग पुनर्स्थापना केन्द्र २०५८ सालमा स्थापना भएको हो। यसको मुख्य उद्देश्य अपांगता भएका व्यक्तिलाई व्यावसायिक र सिपमूलक तालिम दिई गुणस्तरीय सेवा प्रदान गर्नु रहेको छ। आर्थिक रूपमा कमजोर भएकालाई नि:शुल्क र अन्यलाई सहुलियतमा सेवा दिँदै आइरहेको छ।
पर्यटन
उत्तरी इलामको सन्दकपुर डाँडा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थान हो। समुद्री सतहबाट ३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको यहाँबाट सूर्योदयको मनोरम दृश्य देख्न सकिन्छ। यहाँबाट सगरमाथा, कन्चनजंघासहित मनोरम हिमशृंखला पनि अवलोकन गर्न सकिन्छ। प्राकृतिक दृश्यसँग रमाउँदै सूर्योदय र हिमशृंखला अवलोकन गर्न आउनेहरूको यहाँ चहलपहल रहन्छ। आसपासका क्षेत्र जैविक विविधताका साथै कतिपय दुर्लभ वन्यजन्तुको वासस्थान समेत रहेकाले अनुसन्धानकर्ताहरू पनि यो क्षेत्रमा पुग्ने गर्दछन्। तस्वीरः विमल वैद्य
ट्रलीबस
काठमाडौँ र भक्तपुरलाई जोड्ने सडकमा कुनै समय ट्रलीबस गुड्थ्यो। चीनको सहयोगमा २०३२ सालमा त्रिपुरेश्वरदेखि सूर्य विनायकसम्म १४ किलोमिटरमा विद्युतीय ट्रलीबस निर्माण गरिएको थियो। २०६५ सालयता भने पूर्ण रूपमा बन्द छ। ती ट्रलीबस मीनभवनस्थित यातायात व्यवस्था कार्यालय परिसरमा थन्किएका छन्। यहाँ ३२ वटा ट्रलीबस राखिएको छ। बसमा लेखिएका ‘म नै भविष्य हुँ, मलाई बचाउनुहोस्’ वाक्यांशले विभागलाई नै गिज्याइरहेको छ। बस प्रतिदिन जीर्ण बन्दै छन्। बसका सबै पार्टपुर्जामा खिया लागिसकेको छ। विद्युतीय ट्रलीबस साँच्चै नै अब इतिहास बनेको छ।
पर्व
नेपाल संवत्को नयाँ वर्ष ११४४ मंगलबार विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ। नेपाल संवद् चान्द्रमासअनुसार प्रचलनमा रहेको छ। नेपाल संवत् नयाँ वर्षको उपलक्ष्यमा नेवार समुदायको बाहुल्यता रहेका स्थानमा मौलिक भेषभुषासहित सांस्कृतिक झाँकीयुक्त शुभकामना र्याली निकालिएको थियो। नेवार समुदायको बाक्लो वस्ती रहेको बलम्बुको लाछीटोलमा स्थानीयहरू भेला भएर ‘भिन्तुना र्याली’सहित शुभकामना आदानप्रदान गरेका थिए। विभिन्न गाजाबाजासहित मौलिक पोसाकमा देखिएका स्थानीयको भीडले नगर भरिएको थियो। बालबालिकादेखि ज्येष्ठ सदस्यसमेत यस उल्लासमा सरिक देखिन्थे। तस्वीरहरू: किसन पाण्डे/उकालो।
पर्व
पाटनमा सोमबार बेलुका मैनबत्ती बालेर नेपाल संवत्को नयाँ वर्षको न्हु दँया भिन्तुना र्याली निकालिएको छ। नेपाल संवत् ११४४ को न्हु दँया भिन्तुना र्याली निकालिएको हो। न्हु दँया भिन्तुना अर्थ नयाँ वर्षको शुभकामना हुन्छ। कात्तिक शुक्ल पक्षदेखि नेपाल संवत्को नयाँ वर्ष शुरू हुन्छ। काठमाडौँ उपत्यकामा मौलिक संवत्का रूपमा नयाँ वर्षको खुसियाली मनाउने गरिन्छ। नेपाल संवत् चन्द्रमासमा आधारित छ। लक्ष्मीपूजाको भोलिपल्ट नेपाल संवत् शुरू हुन्छ। सांस्कृतिक दृष्टिकोणले नेपाल संवत् शुरू भएको दिन नेवार समुदायमा ‘म्ह:पूजा’ गर्ने सांस्कृतिक परम्परा रहेको पाइन्छ। म्ह:पूजा नेपाल भाषाको शब्दावली हो र यसको अर्थ शरीर पूजा हुन्छ। नयाँ वर्षको पहिलो दिन आफ्नै शरीर पूजा गर्ने परम्परा आफैँमा विशिष्ट र मौलिक रहेको छ। यसलाई विशेषतः काठमाडौँ उपत्यका भक्तपुर ललितपुरमा ठूलो उत्साहसाथ मनाइने गरिन्छ।
पर्व
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार शनिबारदेखि विधिवत् रूपमा शुरू भएको छ। तिहार शुरू भएसँगै किनमेल गर्न असनलगायतका बजारमा उपभोक्ताको भीड लाग्ने गरेको छ। भाइ मसला, टीका, मखमली फूल, दाजुभाइका लागि ढाका टोपीलगायत तिहारलाई आवश्यक पर्ने सामान किन्न असन, इन्द्रचोक क्षेत्रमा ग्राहकको भिड लागेको हो। दशैँका बेला सुनसान रहेको असन क्षेत्र तिहार लागेलगत्तै भिडभाडयुक्त बनेको छ। शनिबार काग पूजा गरिएसँगै यमपञ्चक शुरू भएको छ। बुधबार परेको भाइटीकाको शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा रहेको छ। यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर मनपर्ने परिकार ख्वाउने गर्छन्। दाजुभाइले पनि दिदीबहिनीहरूलाई आफ्नो क्षमताअनुसार दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ। आइतबार कुकुर तिहारसँगै साँझ लक्ष्मीपूजा गरिँदै छ। लक्ष्मीपूजाको दिनदेखि घर–घरमा देउसी भैलो खेल्न थालिने प्रचलन छ। यस दिन घरमा लक्ष्मीको वास होस् भन्दै धन सम्पत्तिको पूजा गर्ने पनि गरिन्छ। लक्ष्मीको आगमनका लागि दियो बालेर घरलाई झिलिमिली पार्ने गरिन्छ।
पर्व
फूलैफूलको पर्व तिहार शुरू भएको छ। गाउँघरमा ढकमक्क फुलेको सयपत्री र मखमलीले छुट्टै सुन्दरता थपेको छ। तिहारमा घर सजाउनदेखि काग, कुकुर, गाई र दाजुभाइको पूजा गर्न, सयपत्री-मखमली फूल अत्यावश्यक पर्ने हुन्छ। काठमाडौँको इचंगुका स्थानीयले सयपत्री ज्ञान थुँगा लगायतका फूलको व्यावसायिक खेती गरेका छन्। यति बेला किसानहरू फूल टिप्न निकै व्यस्त देखिन्छन्।\r\n
चितुवा
भक्तपुरको मध्यपुरठिमी– ३ कौशलटारमा फेला परेको चितुवा नियन्त्रणमा लिइएको छ। प्रवीण पेट्रोल पम्प पछाडि दुई वटा घरको चेपमा लुकेको चितुवालाई डार्ट प्रयोग गरेर नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय लगिएको छ।
पार्टी
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दशैँ, तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्।\r\n\r\nपार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अपराह्न पौने ३ बजेतिर चियापान समारोहमा सहभागी भए थिए।\r\n\r\nचियापान कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत सामवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको पनि सहभागिता थियो।\r\n\r\nत्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल कम्युनिस्ट पार्टी नेकपा का महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा मालेका महासचिव सिपी मैनाली, पूर्वसभामुख दमननाथ ढुंगाना, विभिन्न राजनीतिक दलका नेताहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूसहितको बाक्लो उपस्थिति रहेको थियो।\r\n\r\nएमालेले दशैँलगत्तै हरेक वर्ष चियापान कार्यक्रम गर्दै आएको छ। बुधबार आयोजना गर्ने भनिएको कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण एक दिनपछि सारिएको हो। चियापान कार्यक्रममा एमालेका नेता–कार्यकर्ताको बाक्लो उपस्थिति थियो।\r\n\r\nयसअघि कोजाग्रत पूर्णिका दिन नेपाल कांग्रेसले आयोजना गरेको चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रममा पनि शीर्ष नेताहरूको जमघट भएको थियो।
पर्व
तिहार लाग्न करिब दुई हप्ता अघिदेखि नै संघीय राजधानीवासीले घरलाई झिलिमिली बत्तीले सिँगारेका छन्। सधैँ पैसाको कुरा र कारोबार गर्ने व्यावसायिक घराना, बैंक र बीमा कम्पनी लक्ष्मीलाई आकर्षित गर्न बिजुलीको उज्यालोले झिलिमिली बनेका छन्। धनमाथि धन कमाइयोस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ। तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रूपमा लिइन्छ। आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी भैलो खेल्दै मनाइने चाड हो तिहार। दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ। फूलको मालाले सिँगारिन्छ। लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ। परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ। जसले यतिबेला काठमाडौँ उपत्यकाका बजारहरू रङिन छन्। यो क्रम छठ पर्वसम्म नै हुन्छ। तस्वीर : न्युज एजेन्सी नेपाल
धान
धान पाकेर पहेँलै बनेको पाल्पाको माडीमा यतिबेला धान काट्ने चटारो छ। दशैँ सकेर कोजाग्रत पूर्णिमासम्म नकुरी किसानहरू अहिले धान स्याहार्न खेत–खेतमा व्यस्त बनेका छन्। माडी, रामपुर, कचल, पूर्वखोला, झडेवा, निस्दी, कालीगण्डकी बेँसी, अर्गलीलगायत फाँटमा धान पाकेर फाँट पहेँलै भइसकेको छ। असारमा रोपेको धान थन्क्याएपछि हिउँदै बाली लगाउने तयारी गरिन्छ। धान काटेर खाली भएको खेतमा गहुँ, जौ, तोरी, केराउ, मुसुरोलगायतका बाली लगाउने गरिन्छ।
विरोध
इजरायलले प्यालेस्टाइनमाथि गरिरहेको सैन्य कारबाहीको विरोधमा काठमाडौँ प्रदर्शन गरेको छ। बृहत् नागरिक आन्दोलनको ब्यानरमा नेपालका लागि इजरायली दूतावास अगाडि प्रदर्शन गरेको हो।प्रदर्शनमा सहभागीले प्यालेस्टाइन ‘एक्लै छैन’, ‘प्यालेस्टाइनमाथिको हस्तक्षेप बन्द गर’, ‘प्यालेस्टाइनलाई स्वतन्त्र हुन देऊ’लगायतका नारा लेखिएका ‘प्ले कार्ड’ बोकेका थिए।
नोट
दशैँतिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सोमबारबाट नयाँ नोट सटही शुरू गरेको छ। यसपालि राष्ट्र बैंकले वाणिज्य बैंकहरूका सीमित शाखाहरूबाट मात्रै नयाँ नोट बाँड्ने व्यवस्था मिलाएको छ। अघिल्ला वर्षहरूमा विकास बैंक र फाइनान्स कम्पनीका साथै बैंकका हरेक शाखाहरूबाट वितरण हुने गर्थ्यो। नयाँ नोट सटही शुरू गरेपछि बैंकहरूमा सर्वसाधारणहरूको घुइँचो लागेको छ।
विरोध
आरती साहको न्यायका लागि बृहत् नागरिक आन्दोलनले विरोध प्रदर्शन गरेको छ। आरतीको न्यायका लागि माइतीपक्ष १२१ दिनदेखि माइतीघर मण्डलमा धर्नारत थिए, तर आरती साहको आमाबुवा र भाइलाई शनिबार प्रहरीले बल प्रयोग गरी हटाएको थियो। प्रहरीले ब्यानरसमेत च्यातेर धरपकड गर्दै धर्नास्थलबाटै उनीहरूलाई हिरासतमा लिइएको विरोधमा बृहत् नागरिक आन्दोलनले आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेको हो। बृहत् नागरिक आन्दोलनका अभियन्ताहरूले ‘आरती साहलाई न्याय दे’, ‘सरकार दण्डहीनता अन्त्य गर’, ‘म पनि यही देशको नागरिक हो सरकार’, ‘न्याय नपाए कहाँ जाने?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए। विरोध प्रदर्शनमा बृहत् नागरिक आन्दोलनका अभियन्ता सञ्जीव उप्रेती, नवीन तिवारी, आरतीकी बहिनी मनिषा साहलगायत उपस्थित थिए।
काठमाडौँको स्वरूप
काठमाडौँ उपत्यका भन्ने बित्तिकै धुलो, धुवाँ, खाल्डाखुल्डी र हिलो मनमा आइहाल्छ। ट्राफिक जाम, पैदलयात्रुमैत्री फुटपाथ नहुनुलगायत दुःख नबेहोर्ने राजधानीबासी कमै होलान्। न बिहान स्वच्छ हावा खाँदै हिँड्ने स्थान छ त न साँझ बिहान टहल्ने र बालबालिकासँग रमाउने खुला स्थान।तर, यहीबीच उपत्यकाको बिस्तारै फेरिँदैछ। नदीनालाको सरसफाइ, बन्दै गरेका सडकपेटी र पार्कले आकर्षक देखिन थालेको छ, काठमाडौँ। शब्द/तस्वीर: फोटो लाइब्रेरी
पीडापछिको खुशी
युद्धग्रस्त मुलुक इजरायलबाट २५४ जना नेपाली शुक्रबार बिहान नेपाल आइपुगेका छन्। उनीहरूलाई सरकारले उद्धार गरी स्वदेश फर्काएको हो। इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको थियो। नेपाल फर्किन चाहने अन्य नागरिकलाई पनि चाँडै ल्याउने सरकारले जनाएको छ।