प्रदर्शन
काठमाडौँ– काठमाडौँस्थित रुसी दूतावासअगाडि युक्रेनमाथिको आक्रमण तत्काल रोकी शान्ति वार्तामा आउन रुसलाई आह्वान गर्दै मानवअधिकार तथा शान्ति समाजले शान्तिपूर्ण प्रदर्शन गरेको छ। समाजले रुसी दूतावासमार्फत राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाउँदै तत्काल युद्ध रोकेर शान्ति कायम गर्न आग्रह गरेको छ। समाजको केन्द्रीय सभापति रामकृष्ण बरालको नेतृत्वमा भएको प्रदर्शनमा मानव अधिकारकर्मी कृष्ण पहाडी, समाजका पूर्वसभापति उत्तर पुडासैनी लगायतका अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो। रुसले छिमेकी राष्ट्र युक्रेनमाथि आक्रमण गरेको बिहीबार ५०५औँ दिन भएको छ। २०२२ फेब्रुअरी २४ मा नेटोसँग सम्बन्धनजिक बनाएको भन्दै रुसले युक्रेनमाथि सैन्य कारबाही शुरू गरेको थियो। तस्वीर–फोटो लाइब्रेरी
महानगरविरुद्ध प्रदर्शन
काठमाडौँ महानगरपालिकाले फुटपाथ तथा साना व्यापारीमाथि ज्यादती गरेको भन्दै प्रदर्शन भएको छ। स्वतन्त्र युवाहरूले महानगरको कार्यालय अगाडि ‘गरिबको चमेली, बोल्दिने कोही छैन’ गीत गाएर विरोध गरेका हुन्। ठेलागाढा तथा साना सडक व्यापारीको उचित व्यवस्थापनको मागसहित शान्तिपूर्ण विरोध गरेका थिए। उनीहरूले ‘गरिखान देऊ’, ‘शहर कस्को लागि?’लगायत ब्यानर बोकेर प्रदर्शन गरेका थिए।
रविन तामाङ
काठमाडौँ– गायक रविन तामाङको आइतबार अन्त्येष्टि गरिँदै छ। उनको पार्थीव शरीरलाई बिहान ८ देखि ११ बजेसम्म नक्सालस्थित संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा राखिएको थियो। सञ्चारमन्त्री रेखा शर्मा र पर्यटनमनत्री सुदन किँराती, कांग्रेस महामन्त्री गगन थापा तथा कलाकारहरूले पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए। उनको शव शोभाभगवती लगेर दाहसंस्कार गरिनेछ। तामाङ गत मंगलबार बुढानीलकण्ठस्थित निवासमा मृत फेला परेका थिए।
वन्यजन्तु
बर्दिया राष्ट्रिय निकुञ्ज वन्यजन्तु अवलोकन गर्ने पर्यटकले भरिभराउ हुने गरेको छ। त्यसमा पनि बाघ हेर्नेहरू बढी देखिन्छन्। सबैको मनमा आज चाहिँ बाघ देख्नु पर्छ है मात्र हुन्छ। बर्दियामा बाघ, एक सिंगे गैँडा, जंगली हात्ती, चित्तल, मृग, बाह्रसिंगे पनि हर्न पाइन्छ। नेपालमा सबैभन्दा बढी बाघको पाइने भएकाले यहाँ बाघ हेर्न आउनेहरू धेरै छन्। बर्दियाको नामसँग आजभोलि बाघ पनि जोडिन्छ। जंगलको राजा भनेर चिनिने बाघ देखेर जाने मन सबैको हुन्छ। तर, बाघ लजालु जनावर भएकाले हत्तपत्त नजरमा पर्दैन। हेर्नुस्, नेपाल फोटो लाइब्रेरीका स्कन्द गौतमले कैद गरेका तस्वीरहरू।
फूलैफूल
उपत्यकाका विभिन्न ठाउँका सडकपेटीमा फूलसहितका गमला राखिएका छन्। बिजुलीबजार, पुतलीसडक, बागबजारलगायत क्षेत्रमा फूलसहितका गमला राखिएको छ। काठमाडौँ महागरपालिकाले शहरमा हरियाली प्रवर्द्धनका लागि बिरुवा रोप्ने अभियानअन्तर्गत बागबजार र पुतलीसडकलगायतका क्षेत्रमा फूलका गमला राखेको हो।
ड्रिल
काठमाडौँ महानगरपालिका विपद् व्यवस्था विभागले आइतबार ‘अग्नि निवारण तथा सडक दुर्घटना उद्धार’अन्तर्गत प्रतिकार्य अभ्यास गरेको छ। काठमाडौँको खुल्ला मञ्चमा विभागले ग्यास चुहावट भएर भान्सामा हुने आगलागी, प्रज्वलनशील पदार्थ राखिएको भण्डारणमा हुने आगलागी, आवासीय र व्यापारिक भवनमा हुने आगलागीका साथै सडक दुर्घटनामा हुने उद्धार र प्राथमिक उपचारको तरिकाबारे प्रदर्शन गरेको हो।
धान रोपाइँ
असार १५ का दिन धान रोपाइँलाई लिएर देशभर एकखाले उत्सवझैँ बन्ने गर्छ। यस दिनलाई ‘मानो रोपेर मुरी फलाउने दिन’ भनेर चिनिन्छ। पछिल्लो समय असार १५ लाई धान दिवसका रूपमा समेत मनाउन थालिएको छ। यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नारासहित शुक्रबार २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ। सोही अवसरमा नुवाकोटको बेलकोट्गढी-१२, वासुकी गाउँमा भिटोफ नेपाल र बेल्कोटगढी गाउँपालिकाको संयुक्त आयोजना र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ। तस्वीर : फोटो लाइब्रेरी
फूलैफूल
मनसुनको आगमनसँगै वन–जंगलमा चिस्यान बढेको छ। चिस्यान बढेसँगै अजङका बूढा रूखहरूमा एक किसिमको लेउ लागेको देख्न सकिन्छ। यही लेउमा सप्रिन्छ परजीवी फूल सुनाखरी। बूढा रूखको लेउ तथा पातपतिङ्गर जम्मा हुने हाँगाहरूको बीचमा सुनाखरीको बिरुवा हुर्केको हुन्छ। माकुराको जालोजस्तै आफ्ना जरा फिँजाएर फैलने सुनाखरीका फूल निकै आकर्षक देखिन्छन्। आगन्तुकको मन लोभ्याउने परजीवी फूल सुनाखरीले जंगल ढकमक्क पारेर सौन्दर्यता पनि थपेको हुन्छ। हेर्नुहोस् काठमाडौँ उपत्यकाका आसपास वन–जंगलमा पाइएका सुनाखरीका मनमोहक दृश्य। तस्वीर: किसन पाण्डे
रथयात्रा
अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ इस्कोन को आयोजनामा काठमाडौँको कमलादी, जमल, भद्रकाली, न्यूरोड हुँदै वसन्तपुरसम्म रथयात्रा निकालिएको छ। हरेक वर्षको असार शुक्ल द्वितीयाको दिन भारतलगायत विश्वका धेरै ठाउँमा जगन्नाथको रथयात्रा गर्ने प्रचलन छ। यस वर्ष आयोजित रथयात्रा नेपालको २७औँ हो। भारतको जगन्नाथ पुरीमा आज विशेष समारोहसहित यस्तै रथयात्रा हुने गर्छ। चार प्रमुख धाममध्ये उत्तरमा बद्रीनाथ, दक्षिणमा द्वारकानाथ, दक्षिणमा रामेश्वरम र पूर्वमा जगन्नाथ पुरी पर्छन्। यी चार धामलाई सत्य, द्वापर, त्रेता र कलियुगका रूपमा समेत हिन्दु धर्मावलम्बीहरूले मान्ने गरेका छन्।
नागरिकता
नागरिकताविहीन संघीय समिति र प्रहरीबीच झडप भएको छ। काठमाडौँको माइतीघरमा नागरिकताविहीन संघीय समितिका सदस्यहरूले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि झडप भएको हो। नागरिकता विधेयक पारित भएलगत्तै सर्वोच्च अदालतमा परेको रिटमार्फत नागरिकता वितरण रोकिएपछि नागरिकताविहीन संघीय समितिले माइतीघरमा धर्ना दिँदै आएको छ। उनीहरूले आफूहरूले नागरिकता पाउनुपर्ने माग गरेका छन्।
कला प्रदर्शनी
राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ अन्तर्गत नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना प्रदर्शनी मंगलबार सम्पन्न भएको छ। जेठ २५ गतेबाट शुरू भएको प्रदर्शनी मंगलबार रास्वपा सभापति रवि लामिछानेले अवलोकन गरेपछि सम्पन्न भएको हो। यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, अर्थमन्त्री प्रकाशशरण महत, संस्कृति पर्यटनमन्त्री सुदन किराँती, नेतृ हिसिला यमि लगायतका नेताहरूका साथै केही कलाकारले पनि प्रदर्शनीको अवलोकन गरेका थिए। प्रदर्शनीमा राजनीतिक व्यंग्यदेखि समसामयिक चित्रकला, हस्तकला, वास्तुकला राखिएको थियो। महिलाका मुद्दा, बालबालिकाको मानसिकता, जलवायु परिवर्तनले पृथ्वीमा परेको असर, बसाइँसराइ लगायतका विषयमा कला कुँदिएका थिए। ६१६ जना कलाकारको ६७९ वटा कलाकृतिहरू प्रदर्शनीमा राखिएका थिए। प्रदर्शनीमा अहिलेसम्म ललितकलाका विविध पुरस्कार जित्न सफल कला पनि राखिएको थियो। तस्वीर : कृष्पा श्रेष्ठ/उकालो
अव्यवस्थित सडकपेटी
काठमाडौँका अधिकांश सडकपेटी पैदलयात्रुका लागि सहज छैनन्। सडकपेडीमा यात्रुहरू जोखिम मोलेर हिँड्न बाध्य छन्। निर्माण सामाग्री थुपारिँदा, सहायक सडक जोडिएका स्थानमा, बिजुलीका पोललगायतले जोखिम हुने गरेको छ। कतिपय स्थानमा सडकबाटै हिँड्नुपर्ने अवस्था छ। अपांगता भएका व्यक्तिलाई झनै कठिन हुने गरेको छ। तस्वीर: किसन पाण्डे/उकालो\r\n\r\n
गौरव महिना
विश्वभरी ‘जुन’ महिनालाई गौरव महिना प्राइड मन्थका रूपमा मनाइने गरिन्छ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि यस महिना विशेष हुने गरेको छ। काठमाडौँमा शनिबार गौरवयात्राको आयोजना गरिएको छ। सबै समुहका युवायुवतीहरू शान्तिबाटिकामा भेला भई यात्रानारायण चौरमा पुगेका थिए। समाजले विभिन्न पहिचानयुक्त समूहलाई अवहेलना गरी लाञ्छित तुल्याउने चलन छ। लैंगिक पहिचान तथा यौनिक पहिचान लज्जाको विषय नभएको र त्यसमा गौरव गर्ने नारासहित यसको शुरूआत भएको हो। \n
हाम्रो संस्कृति
करिब २८ वर्षअघि हराएर भेटिएको मूर्ति राज्यमन्त्रीसहित सुरक्षाकर्मीको स्कर्टिङमा दोलखा पुगेको छ। दोलखा पुगेपश्चात् विभिन्न रीतिरिवाजसहित ऐतिहासिक दोलखा शहर घुमाइ चोरी गर्दा छुटेको मुकुट पहिराइ औपचारिक कार्यक्रम गरेर भीमसेन मन्दिरको भण्डारघरमा राखिएको गरिएको छ। यात्राका क्रममा जे देखियो: तस्वीरहरू: किसन पाण्डे
सरकारको सक्रियता
सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाइएको छ। सो अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभमुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो। उक्त अवसरमा सैनिक मञ्च टुँडिखेलमा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो।
नर्सहरूको आन्दोलन
चितवन क्यान्सर हस्पिटलमा भएको घटनाको विरुद्धमा विभिन्न अस्पतालका नर्सहरूले माइतीघरमा प्रदर्शन गरिरहेका छन्। वास्तविकता नबुझी सतही रूपमा प्रतिक्रिया व्यक्त गर्ने प्रवृत्तिले समाजमा नर्सिङ पेसाप्रति घृणा र द्वेष फैलाउने वातावरण सिर्जना भइरहेको भन्दै नर्सहरू आन्दोलनमा उत्रिएका हुन्।
सगरमाथा आरोहण
दुवै खुट्टा गुमाएका हरि बुढामगर सफलतापूर्वक सगरमाथाको आरोहण गरेर काठमाडौँ फर्किएका छन्। उनलाई त्रिभुवन विमानस्थलमा पर्यटनमन्त्री सुदन किराती लगायतले फूलमाला, खादा लगाइदिएर स्वागत गरेका थिए। अफगानिस्तानमा युद्धका क्रममा दुवै खुट्टा गुमाएका ४३ वर्षीय बुढामगरले शनिबार बिहान ३:१० मा सगरमाथा आरोहण गरेका थिए। गत वर्ष पनि सगरमाथा आधारशिविर पुगेका उनलाई शारीरिक अवस्थाका कारण आरोहण गर्न नदिइएपछि त्यसविरुद्ध अदालत गएका थिए। उक्त मुद्दा जितेपछि आरोहण अनुमति पाएका थिए। उनले दुवै खुट्टा नभएका पर्वतारोहीका रूपमा सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका छन्।
रातो मच्छिन्द्रनाथ
रातो मत्स्येन्द्रनाथ मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेलसम्म तानिएको छ। लगनखेलबाट सोमबार दिउँसो ३ बजेर ४९ मिनेटमा रथ जावलाखेलसम्म तानिएको हो। वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ। विद्या, धनसम्पत्ति, शान्ति समृद्धि लगायत सबै कुरा मागे पनि मेरो रूप रङ राम्रो होस् भनेर माग्न नहुने संस्कृतिविद्हरू बताउँछन्। रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो। मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदाबाट शुरू भएर असार शुक्ल चतुर्थी दुई महिनासम्म चल्छ। मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ। पुल्चोकमा रथारोहण गरी शुरू भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ। यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ। पौराणिक कथनअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको शुरूआत गराएका थिए। तस्वीरहरू : क्रिष्पा श्रेष्ठ
राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासदेखि संघीय संसद् भवन बानेश्वरमा सामान्य सवारीमा आउजाउ गरेका छन्। यसअघि तडकभडकसाथ आवागमन गरेको भन्दै आलोचना हुने गरेकोमा यो पटक राष्ट्रपति पौडेलले सामान्य रूपमा आउजाउ गरेका हुन्। यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद् भवन जाँदा र आउँदा शीतल निवासदेखि नै सडक खाली गराउने गरिएको थियो। यस्तो गर्दा, सर्वसाधारण घण्टौँसम्म जाममा पर्ने गरेको भन्दै आलोचना हुने गरेको थियो। राष्ट्रपति पौडेलले संसद् भवन पुगेर आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। बजेट ल्याउनुअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ।
सगरमाथा
वसन्त ऋतुको सगरमाथा आरोहण शनिबार शुरू भएको छ। आरोहण शुरू भएसँगै आइतबार बिहान पाकिस्तानी र अमेरिकी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। आधारशिविर आसपास १०० जनाभन्दा बढी आराेहणका लागि प्रतिक्षारत रहेको पर्यटन विभागले जनाएको छ। विभागका अनुसार यो सिजन सगरमाथा आरोहणका लागि ४६७ जनाले अनुमति लिएका छन्। तस्वीर: विवेक पाण्डे