आर्थिक मन्दी
आर्थिक गतिविधि कम हुँदा त्यसको मारमा साना–ठूला सबै व्यवसायी परेका छन्। काठमाडौँमा सटर भाडामा लिएर र फुटपाथमा व्यापार गर्नेहरू अहिले जीविका चलाउनै मुस्किल परिरहेको बताउँछन्। काठमाडौँ उपत्यकामा पसल बेच्ने र बन्द गरेर हिँड्नेको संख्या दिनानुदिन बढ्दो छ। भव्य देखिने धेरै व्यापारिक मल सुनसान जस्तै छन्। सटरमा फोन नम्बरसहित ‘टु–लेट’, ‘भाडामा’ लेखेका बोर्डहरू प्रशस्तै देखिन्छन्।
शिक्षकको प्रदर्शन
शिक्षकहरूले पेसागत सुरक्षा र वृत्ति विकास लगायतका विभिन्न माग राखी र्यालीसहित विरोध प्रदर्शन गरेका छन्। माइतीघरमा जम्मा भई शिक्षकहरूले विभिन्न माग राख्दै प्रदर्शन गरेका हुन्। नेपाल शिक्षक संघ, राष्ट्रिय समितिको आयोजनामा बृहत् विरोध प्रदर्शन गरिएको हो। उनीहरूले ‘संघीय शिक्षा ऐन जारी गर्’, ‘विद्यालय कर्मचारीहरूका माग पूरा गर्’, ‘नेपाल शिक्षक महासंघसँग भएका सम्पूर्ण सम्झौता कार्यान्वयन गर्’, ‘६० वर्ष पुगेका विद्यालय कर्मचारीलाई सम्मानजनक बिदाइ गर्’, ‘विद्यालय कर्मचारीहरूको तलबमान कायम गर्’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले प्रदर्शनका क्रममा १६ मुख्य नाराहरू र बजेटबाट तत्काल सम्बोधन हुनुपर्ने ११ मागहरू प्रस्तुत गरेका छन्।
पर्व
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व शुक्रबार देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ। यसै अवसरमा राजधानीको गोकर्णमा किराँतीहरूले उँभौली मनाएका छन्।
श्रमिक दिवस
सोमबार १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ। हरेक वर्षको अंग्रेजी महिनाको मे १ मा श्रमिक दिवस मनाइने गरिन्छ। श्रमिक दिवस सन् १८९० देखि मनाउन शुरू गरिएको हो। सन् १८८९ मा फ्रान्सको पेरिसमा विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठक सम्पन्न भएको थियो। सोही बैठकले विश्वभर श्रमिक दिवस मनाउने निर्णय गरेको थिए। सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित मजदुर आन्दोलन भएको थियो। त्यसैको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ। नेपालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको नारा ‘सामाजिक सुरक्षा, मर्यादित श्रम; राष्ट्रको अभियान’ तय गरेको छ। देशमा विभिन्न कार्यक्रम गरेर श्रमिक दिवस मनाइरहँदा श्रमिकहरूलाई दिवसले छोएन। दिनभर काम गरेर छाक जुटाउन उनीहरू नियमितजस्तो आफ्नो काममा व्यस्त देखिए। तस्वीरहरू : किसन पाण्डे
खरबुजाकाे सिजन
गर्मीयाम शुरू भएसँगै बजारमा खरबुजाको बिक्री बढेको छ। काठमाडौँका फलफूल पसलहरूमा खरबुजा किन्नेको चहलपहल बढेको देख्न सकिन्छ। बजारमा अहिले खरबुजाकाे मूल्य प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको व्यावसायीले बताएका छन्।
रातो मच्छिन्द्रनाथ
वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई रथारोहण गरेर जात्रा शुरू भएको छ। मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त:बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्याएर बिराजमान गराएपछि विधिवत् रूपमा मछिन्द्रनाथको जात्रा शुरू भएको मानिन्छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने छ।
हिमाल आरोहण
सगरमाथा आरोहीहरू शनिबार सगरमाथा, ल्होत्से र नुत्से हिमालको आधारशिविरमा। सगरमाथा आरोहणका लागि आठ भारतीय र चार पोल्यान्डाका नागरिक सहितको टोली चैत २१ र २२ गते काठमाडौँबाट प्रस्थान गरेका थिए। उक्त टोली सगरमाथा आधारशिविरमा चैत २८ र २९ मा पुगेको हो। आरोहण दलका सदस्य विवेक पाण्डेका अनुसार मौसमले साथ दिए आरोहीहरूको जेठको पहिलो हप्ता सगरमाथा आरोहण गर्ने कार्यक्रम रहेको छ। “सगरमाथा आरोहणपछि १२ सदस्यमध्ये सात जनाले ल्होत्से हिमाल पनि आरोहण गर्दै छन्,” पाण्डेले उकालोलाई बताए। शनिबार विदेशी आरोहीहरूलाई ६०९० मिटरमा रहेको लाबुचे पिकमा तालिमका रूपमा आरोहण गराइएको थियो। शेर्पाहरूले आरोहीहरूलाई आइसवालमा तालिम गराउनुका साथै भर्याङको ब्रिजमा हिँड्न सिकाएको थियो। ल्होत्से र नुत्से आधारशिविरबाट उकालोलाई आरोही दलका सदस्य पाण्डेले पठाएका तस्वीरहरू:
मिटरब्याज पीडित
प्रहरीले अमानवीय व्यवहार गरेको भन्दै मिटरब्याज पीडितले धर्ना जारी राखेका छन्। राज्यबाटै आफूहरूको आन्दोलन भड्काउने, उत्तेजित पार्ने काम भएको उनीहरूको गुनासो छ। सोमबार शान्तिवाटिकाबाट सिंहदरबारतर्फ गइरहेको शान्तिपूर्ण जुलुसमा प्रहरीले ज्येष्ठ नागरिक, अशक्त तथा बिरामीमाथि कुटपिट गरेको, महिलामाथि पुरुष प्रहरीले आक्रमण तथा दुर्व्यवहार गरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिले जनाएको छ।
रातो मच्छिन्द्रनाथ
पाटनका गम्भीर र अमिर नेकुले रातो मच्छिन्द्रनाथको मूर्तिमा रङ लगाउन सोमबारबाट शुरू गरेका छन्। रङ लगाउन तीनदेखि चार दिन लाग्ने गम्भीर बताउँछन्। पाटनको नेकु परिवारले मात्र मच्छिन्द्रनाथको रङरोगन गर्छ। यो वर्षको रथ यात्रा वैशाख ११ मा हुँदैछ।
बिस्केट जात्रा
बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयले शनिबार बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन्। बिहानैदेखि मध्यपुरथिमिको टोलटोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो। यस जात्राको अवसरमा बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो। बिहीबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो। बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा शुरू भएको थियो।
सूर्यास्त
२०७९ सालको अन्तिम दिनमा अस्ताउँदै गरेको सूर्यको लुम्बिनी प्रदेशको पाल्पाबाट लिइएका सुन्दर तस्वीहरू:
बिस्का जात्रा
भक्तपुरको प्रसिद्ध बिस्का बिस्केट जात्रा शुरू भएको छ। भक्तपुर नगरको केन्द्रमा रहेको पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा शुरू भएको हो। यस दिनलाई स्थानीय भाषामा द्य क्वहाँबिज्याइगु देवता तल सवारी हुने भनिन्छ। नववर्षको आगमनसँगै शुरू हुने ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामसाथ भक्तपुरमा मनाइन्छ भने थिमिमा तीन दिन मनाइन्छ। जात्राको पहिलो दिन दिउँसो भैरवनाथ र भद्रकालीको रथ तानेर बिस्का जात्रा शुरू भएको छ। विक्रम संवत्अनुसार सौर्यमासको आधारमा चल्ने बिस्का जात्रा बिःसीत नागनागिन मर्यो भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाउँदै आइएको छ।
सिंहदरबार
काठमाडौँ महानगरपालिकाले फोहोर संकलन नगर्दा सिंहदरबार परिसरको फोहोर उठ्न सकेको छैन। दैनिक रूपमा संकलन हुँदै आइरहेको फोहोर आइतबारदेखि उठ्न नसकेको हो। दुई दिनदेखि फोहोर नउठ्दा सिंहदरबार परिसर दुर्गन्धित हुन थालेको छ। संघीय सरकारको प्रशासनिक केन्द्रका रूपमा रहेको सिंहदरबारले स्थानीय सरकारसँग समन्वय गर्न नचाहेको भन्दै काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले सिंहदरबार परिसरको फोहोर नउठाउन निर्देशन दिएका हुन्। प्रमुख शाहले विगत नौ महिनाको अवधिमा पटक–पटक पहल गर्दा पनि केन्द्र सरकारले समन्वय नगरेको सामाजिक सञ्जालबाट स्पष्टीकरण दिएका छन्। आफूले सुधारका लागि बारम्बार प्रयास गरे पनि सरकारी निकायबाट त्यसको बेवास्ता र लापरबाही भएको मेयर शाहको भनाइ छ। उनले सामाजिक सञ्जालमार्फत सिंहदरबार परिसरको फोहोर नउठाउनुको १४ कारण सार्वजनिक गरेका छन्। गृह, परराष्ट्र, शिक्षा, स्वास्थ्य, पर्यटनसहित १४ मन्त्रालयसँग समन्वयका लागि पहल गरेको तर उनीहरूले आफ्नो आफ्नो पहललाई बेवास्ता गरेको आरोप लगाएका छन्। सिंहदरबारभित्रको फोहोर निजी कम्पनी परिवर्तन सेवा प्रालिले उठाउँदै आएको छ। उक्त कम्पनीले फोहोर उठाएर महानगरपालिकाले व्यवस्था गरेको ल्यान्डफिलमा लगेर विसर्जन गर्दै आएको थियो। महानगर प्रमुख शाहको निर्देशनपछि कम्पनीले संकलन गरेको फोहोर सिंहदरबार परिसर भित्रै पुतली बगैँचामा राखिएको जनाएको छ। तस्वीरहरू : किसन पाण्डे/उकालो
घर
ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरिपरिका घर भासिएपछि स्थानीय मारमा परेका छन्। शुक्रबार राति सो अपार्टमेन्ट वरिपरिका घर भासिएपछि स्थानीयवासीको भागदौडसमेत मच्चिएको थियो। नक्सा पास नै नगरी र आफूहरूसँग अनुमतिसमेत नलिई अपार्टमेन्ट बनाउन शुरू गरेपछि आफूहरूको घरसमेत भासिन पुगेको स्थानीयको आरोप छ। उनीहरूले आफूहरूको बास बस्ने ठाउँ नभएको भन्दै तत्काल आवश्यक व्यवस्था गर्न पनि माग गरेका छन्।
हाँडीगाउँ
काठमाडौँको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ। गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि जात्रा सम्पन्न हुने गर्छ। यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर देवीको गहना खोज्ने गरिन्छ। टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन्। यसबाट रिसाएकी भाटभटेनीले राति नै फर्किएको भन्ने कथन छ । जुनबेला हराएको गहना नै प्रत्येक वर्ष यसरीनै खोज्ने गरिएको भनाइ छ।
मिटरब्याज
मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौँमा आएर विरुद्ध प्रदर्शन गरेको छ। सोमबार माइतीघर मण्डलबाट भद्रकालीसम्म विरोध र्याली गरेर उनीहरूले सिंहदरबारअगाडि कार्यक्रम गरेका हुन्। मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर मोर्चा लेखिएको ब्यानरमा आबद्ध भएर मिटरब्याज पीडितले \'किसानको भूमि फिर्ता गर\', \'फर्जी तमसुकका आधारमा भूमि लिलामी बन्द गर\', \'मिटरब्याजीलाई कारबाही गर\', \'झुटा आश्वासन बन्द गर\', \'उत्पीडित किसान एक हौँ\' लगायतका नारा लगाएका थिए।
पाथीभरामा हिमपात
ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ। शनिबार सामान्य वर्षासँगै मन्दिरदेखि माथिल्लो फेदीसम्म भएको हिमपाताका कारण यो क्षेत्र सेताम्मे भएको छ। तस्वीरहरू : रक्की थेवे
रथयात्रा
सेतो मच्छिन्द्रनाथको रथयात्राका लागि जमलमा रथ बनाउने कार्य शुरू भएको छ। वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्राका लागि रथ बनाउन शुरू गरिएको हो। करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ। अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीनपटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ।
पर्व
इस्लाम धर्मावलम्बीको पर्व रमजान शुरू भएको छ। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन्। रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेन्डरअनुसार शुक्रबार बिहान ४:१० बजेदेखि बेलुका ६:२० बजेसम्म निराहार रोजा बस्नुपर्छ। कस्मिरी मस्जिद काठमाडौँमा नवाज पढ्दै गर्दाको तस्वीरहरू
घोडेजात्रा
नेपाली सेनाले औपचारिक कार्यक्रम गरेर घोडेजात्रा मनाएको छ। नेपाली सेनाले काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रम गरेर घोडेजात्रा मनाएको हो। घोडेजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल सरकारका मन्त्रीहरू, कर्मचारी प्रशासनका पदाधिकारीहरू, विभिन्न सुरक्षा निकायका प्रमुखहरू लगायत राज्यका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो। समारोहमा नेपाली सेनाले विभिन्न खेल तथा कला, कौशल प्रस्तुत गरेको थियो। साथै समारोहमा नृत्यसमेत प्रस्तुत गरिएको थियो।