अत्यधिक जीवाश्म इन्धन प्रयोग गर्ने, जमिनलाई प्लास्टिकमय बनाउने, बढीभन्दा बढी नदीको पानीमा रसायन र विषादी पठाउने, जमिनलाई कंक्रिटमय बनाउने कृत्यमा पुँजीपतिहरूकै कहालीलाग्दो 'नाफा'को भोक जिम्मेवार छ।
अमेरिकन आदिवासीहरू भन्ने गर्छन्, “हामीले हाम्रो पृथ्वी पुर्खाहरूबाट पाएका होइनौँ, हाम्रा सन्ततिबाट उधारो लिएका हौँ।”
पशुपतिको आर्यघाटमा एक आफन्तको मलाम गएको थिएँ। शव जलाउन दाउरा बाल्ने कि विद्युतीय उपकरण प्रयोग गर्ने भन्नेबारे बहस भइरहेको थियो। त्यस समय नेपालका विभिन्न जंगलमा व्यापक डढेलो थियो। सोलगायत अन्य कारण नेपाल विश्वकै सबैभन्दा प्रदूषित देशका रूपमा परेको थियो। ‘आईक्यूएयर डटकम’का अनुसार अहिले पनि नेपाल विश्वको १६औँ प्रदूषित देशका रूपमा छ।
उतिखेर घरबाहिर निस्कँदा प्रदूषणका कारण आँखा पोलेर हेर्नै नसकिने अवस्था थियो। सकेसम्म घरभित्रै बस्नु राम्रो हुन्छ भन्ने सल्लाह चिकित्सकले विविध सञ्चारमाध्यमबाट दिँदै सचेत गराइरहेका थिए। अतः शव जलाउने बहसमा म विद्युतीय शव दहनका पक्षमा थिएँ। तर मेरो तर्कको त्यहाँ सुनुवाइ भएन। आखिर दाउरै बालेर शव जलाउने निर्णय भयो। उसै त, काठमाडौँ धुवाँ र धुलोका कारण तुवाँलोले ढाकेर रोगी थियो, त्यसमाथि भारीका भारी दाउरा बालेर आफ्नै आफन्तको शव दहनको धुवाँ खानुपर्ने स्थितिले मलाई त्यहाँबाट कतिखेर उम्कौँजस्तो लाग्यो। तर आफन्तको शव दहनमा समाजबाट भाग्नु कसरी? शव पूरा जलेर खरानी नहुन्जेल मास्क लगाएर खुम्चिएरै बसेँ।
मैले सोचेँ, संस्कृति र परम्पराका कतिपय अभ्यासमा हामी अति रूढ छौँ। मानव स्वास्थ्यभन्दा पनि परम्परा र धर्मलाई माथि ठान्छौँ। अझ, सबैभन्दा अचम्म केमा लाग्छ भने, यस्ता परम्परागत अभ्यासका कुरा आउँदा पढेलेखेका ठानिएकाहरू पनि पुरातन पन्थकै पक्षमा लाग्छन्। विवेक र तर्क छाड्छन्। यसलाई समेत 'धर्मविरोधी'का रूपमा अर्थ्याइने खतरा पनि छँदै छ, तर एउटा कुरा के हो भने, शव जलाउँदासमेत प्रशस्त कार्बन उत्सर्जन हुन्छ र विद्युतीय मेसिनबाट शव दहन गर्न सकिने व्यवस्था हुँदाहुँदै दाउरा नै किन जलाउनु?
फेरि, बढ्दो प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या, छालाको रोग, दम, क्यान्सरजस्ता रोगहरू निम्तने खतरा पनि छँदै छ। ब्रह्माण्ड यस सानो ग्रहको एक ठाउँमा गरेको कामको असर अन्ततः सबैतिर फैलन नै हो। ढिलोचाँडो त्यसको मूल्य मानव र पृथ्वीले नै तिर्ने हो भने 'वसुधैव कुटुम्वकम्' (पृथ्वी निवासीहरू सबै हाम्रा नातेदार हुन्) भन्ने महान् भाव बोक्ने हामीहरू वातावरणमैत्री संस्कृतितर्फ जान किन सक्दैनौँ? त्यसमाथि, बिजुली पानीको ऊर्जा हो। पानीबाट निर्मित सफा ऊर्जाबाट शव दहनमा खराबी नै के छ?
हामी पहिले नै पृथ्वीहरूलाई पर्यावरणीय दृष्टिमा जर्ज बनाइसकेका छौँ। सवारीसाधन, खासगरी ठूला मुलुकहरूका विशाल पशु उद्योग र हाम्रो उपभोग संस्कारले पृथ्वी वातावरणीय रूपमा संकटमा फसिसकेको छ। चरनका लागि वनजंगल फडानी भएका छन्। डाँडाहरू नांगिँदै छन्। खेत बाझिने क्रम बढिरहेछ। धाराहरूमा पानी आउन छोडी सकेका छन्। पानीका मूलहरू सुक्दै छन्। नदीनाला सुकिरहेछन्। तालहरू पुरिँदै छन्। बर्खायाममा पनि गाउँघरतिर मूल फुट्न छाडिसेकेको छ। भूमण्डलीय तापक्रम वृद्धिले गर्दा हिमाल पग्लिरहेछ। हिमाली भागहरू नांगा डाँडामा परिवर्तन हुँदै छन्।
कति हिमताल फुटे भने कति फुट्ने क्रममा छन्। हिमाली बस्तीका लागि त्यो अस्तित्वकै खतरा हो। केही वर्षअघि विशाल हिम पहिरो गएका कारण लाङटाङमा ठूलो धनजनको क्षति भयो। कम वर्षा हुन थालेका कारण कतिपय देश/क्षेत्रमा खडेरी बढेको छ। यता, समुद्रको सतह बढ्दै जाँदा तटीय क्षेत्रका मानव बस्ती र अन्य जीवजन्तुसमेत संकटमा पर्ने खतरामा छन्।
अत्यधिक पेट्रोलियम पदार्थ, ग्यास र कोइला आदिको प्रयोग र वनजंगलको विनाशलाई नै भूमण्डलीय तापक्रम वृद्धिको प्रमुख कारक मानिन्छ। काठमाडौँका साँघुरा सडकमा बढ्दो निजी गाडीको चाप देख्दा कतिलाई देश समृद्धिको दिशातिर गइरहेको जस्तो लाग्ला, तर हाम्रोजस्तो गरिब देशले वर्षौं अर्बौंको खनिज इन्धन मात्रै किनेका छैनौँ, त्यसमार्फत प्रदूषण पनि भित्र्याएका छौँ। बर्सेनि आयात हुने गाडीको संख्या हेर्दा देशका सीमित वर्गले आफ्नो धन धुवाँमा बेपर्बाह उडाएका छन् पनि भन्न सकिन्छ। सान, सौकत र फुर्तीकै लागि पनि गाडी चढ्ने प्रतिस्पर्धा रोकिएको छैन। यस्ता सानातिना उपदेशले कोही रोकिनेवाला छैनन्।
प्रदूषण माटो, हावा र पानीमा छ। मानव सिकार र वनजंगल अतिक्रमणका कारण अगणित जनावरका प्रजाति लोप हुँदै छन्। समुद्र, नदी र तालका पानीमा अम्ल बढेको छ, जसले गर्दा त्यहाँका जीवहरू मरिरहेका छन्। ठूला–ठूला मेसिनबाट माछा मार्ने काम भइरहेकाले महासागरबाट माछा सकिने चिन्ता कतिपय वैज्ञानिकको छ।
तर यो सबैको मूल जरो वर्तमान पुँजीवाद हो। थोरै अविवेकी र अनैतिक वर्ग/समूहले सम्पूर्ण प्राकृतिक स्रोतमाथि कब्जा जमाएको छ। ती वर्गहरू धनी देशमा मात्र होइन, अति कंगाल देशमा पनि व्याप्त छन्। रुखहरू ढालिन्छ, वनजंगल ध्वस्त पारिन्छ, तिनै धनीका बिलासी महल सजाउन। अत्यधिक जीवाश्म इन्धन प्रयोग गर्ने, जमिनलाई प्लास्टिकमय बनाउने, बढीभन्दा बढी नदीको पानीमा रसायन र विषादी पठाउने, जमिनलाई कंक्रिटमय बनाउने कृत्यमा पनि यिनकै कहालीलाग्दो 'नाफा'को भोक जिम्मेवार छ। तर त्यसको मारमा पर्नेहरूचाहिँ किसान, गरिब र निमुखाहरू हुन्। र, अन्ततः राज्य पनि तिनै भ्रष्ट पुँजीपतिहरूको पकडमा छ।
आजका दिनमा पृथ्वीको जनसंख्या आठ अर्ब पुगिसकेको छ। जनसंख्या वृद्धिसँगै खाद्यवस्तुको माघ बढिरहेको छ भने जमिनको उर्वरतामा ह्रास। यही क्रमले जनसंख्या बढ्दै जाँदा भावी दिन झनै भयावह हुनसक्छ। र, खाद्यान्न संकटको मारमा मुख्यतः अविकसित देशका गरिब जनता पर्न सक्छन्। तर पनि मानव जातिले पृथ्वी र प्रकृतिमाथि गरेको अत्याचारबारे अझै पनि विश्व नागरिक जागरूक भएका छैनन्, यो झनै त्रासदपूर्ण कुरा हो।
विश्वका अनेक ठाउँमा बिग्रँदो वातावरणसम्बन्धी सभा र सम्मेलन भइरहन्छ। खस्कँदो वातावरणबारे ठेलीका ठेली पुस्तक, अनगिन्ती लेख लेखिएका छन्। यदाकदा सामाजिक सञ्जालमा भाषण र अन्तर्वार्ता पनि बाँडिन्छन्, तर मान्छेका सानाभन्दा साना क्रियाकलाप पनि पृथ्वीको स्वास्थ्य बिगार्नमा जिम्मेवार रहेकोबारे बिरलै बहस हुन्छ।
जस्तो कि: शहर बजारमा हिँड्दा ठूला–ठूला व्यापारिक भवनले जमिनबाट ठूलो परिमाणमा जमिनमुनिबाट पानी तानिरहेका छन्। भवन, शौचालय सफा गर्न पानी तान्नु जरुरी पनि छ, तर निरन्तर तानिरहनु ठीक छैन। प्रयोग भएकै पानी रिसाइकल गर्ने प्रविधि पनि आइसकेको छ। र, पानी तानेबापत ती भवनले स्थानीय बासिन्दा/स्थानीय सरकारलाई कतै क्षतिपूर्ति तिर्ने अभ्यास छैन।
जबकि, जथाभाबी पानी तान्दा वरपरका इनार सुक्दै गइरहेका छन्, पुराना ढुंगेधारा त सबैजसो सुकी सकेका छन्। जमिनमुनिको पानीको सतह धेरै तल पुगी सकेको छ। यसले जमिन भासिने खतरा पनि धेरै हुन्छ। यसको मारमा पर्ने पनि मूल रूपमा निम्न मध्यम वर्गीयहरू नै हुन्, जसले बल्लतल्ल बैंकबाट ऋण काढेर घर बनाएका हुन्छन्।
खासगरी शहरवरका नदी किनारमा बस्ने निम्न वर्गका र अझ विशेषगरी सुकुमबासी बस्तीका मान्छेले नाली बग्ने नदीमै नुहाएको र लुगा धोएकोसमेत देखिन्छ। ससाना बच्चाहरू फोहोर पानीमा रमाएर पौडिरहेका देखिन्छन्। चर्को घाममा पौडने रहर सबै बच्चामा हुन्छ। धनीमानीझैँ विपन्न परिवारका बाआमा आफ्ना बच्चालाई ‘स्विमिङ पुल’ पठाउन सक्दैनन्। नाली बग्ने पानीमा मान्छेले 'सरसफाइ' गरेको र बच्चाले पौडेको देख्दा सचेत मान्छेको हृदय पीडाले छटपटाउनुपर्ने होइन? पशु पनि यस्तै नालीको पानी पिउन विवश छन्। सकेसम्म गैरमानव प्राणीहरूले स्वास्थ्य पानी नै रोज्न जान्दछन्, तर तिर्खाले व्याकुल भएपछि विवश भई फोहोर पानीसमेत पिउँछन् र रोगव्याधी झेल्छन्।
सडक छेउमा पिठ्युँमा बच्चासमेत बोकेर गिट्टी कुटेर जीविका पाल्ने महिला, मध्यान्हको घाममा ठेलामा मकै पोलेर परिवार पाल्नेहरू, नांलामा सामान बेच्नेहरू, बस स्ट्यान्डमा सार्वजनिक सवारीसाधन रोकिनेबित्तिकै पानी, दालमोठ बेच्ने, बिहानदेखि बेलुकीसम्म गाडी चलाउने सवारीचालक र सहयोगी, आकासे पुलमुनिका पसलमा सामान बेच्नेहरू प्रदूषणबाट सबैभन्दा बढी प्रभावित हुन्छन्। शहरमा बस्ने त यसै शहरी वातावरण प्रदूषणका सिकार भए, गाउँमै बस्ने पनि मूल रूपमा धनी मुलुकका कारण सिर्जित जलवायु विपत्ति झेल्दै छन्, अझै बढी झेल्नुपर्नेछ।
यस्तो अवस्थामा वातावरण रक्षा र जलवायु परिवर्तनका असर रोक्नका लागि सबैभन्दा तल्लो वर्ग/समुदायकै मान्छे बोल्नुपर्छ। किनभने धनीमानीका लागि त हावा शुद्ध पार्ने प्रविधिहरू छन्। घर र सवारीमा पनि त्यस्ता साधन प्रयोग गरेर उनीहरू प्रदूषणको मारबाट धेरै हदसम्म बाँच्न सक्छन्। तर मारमा तल्लो र विपन्न वर्ग नै पर्ने भएकाले आजै अहिल्यै यसबारे बोल्नु र काम गर्नुपर्छ। हामी नबोले कसले बोल्ने? हामीले नगरे कसले गर्ने?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
