काठमाडौँ–१ र २ : मतदातामा नयाँ अनुहार खोज्ने हुटहुटी

नयाँ अनुहार खोज्ने मतदाताको हुटहुटीका कारण युवा र पहिलोपटक मतदान गरेका मतदाताको भोट निर्णायक हुने देखिन्छ। केही मतदातासँग गरिएको कुराकानीले निर्वाचन परिणाम पनि अनपेक्षित आउने सम्भावना छ।

काठमाडौँ– कोटेश्वरको महादेवस्थानस्थित सरस्वती मावि केन्द्रमा मतदान गरेर निस्केका युवाको एउटा समूह नजिकैको चिया पसलमा गफिँदै थिए। १० मध्ये  दुई युवाले पहिलोपटक मतदान गरेका थिए। क्षेत्र नं. २ का मतदाता रहेका २० देखि २६ वर्ष उमेर समूहका ती युवाले यसपटक ‘नयाँ पार्टी’को चुनाव चिह्नमा मतदान गरेको बताए।

प्रत्यक्षमा मात्र नभएर समानुपातिकमा समेत नयाँ पार्टीलाई मत दिएको उनीहरूको भनाइ थियो। आफूहरूजस्तै धेरै युवाले नयाँ दल रोजेको भन्दै यसपटकको परिणाम आकलन गर्न मुस्किल पर्ने उनीहरूको भनाइ थियो। 

काठमाडौँ–२ का मतदान केन्द्र पुग्दा ३५ वर्षभन्दा कम उमेर समूहका अधिकांश मतदाताको मत कांग्रेस, एमाले र माओवादी केन्द्रभन्दा फरक पार्टीमा गएको पाइयो। यस्तो अवस्था प्रत्यक्ष र समानुपातिक दुवैतर्फ छ। यसकारण पनि यो क्षेत्रको नतिजामा युवाहरूको मत निर्णायक हुने देखिन्छ। 

काठमाडौँ–२ मा सत्ता गठबन्धन दलकी माओवादी उम्मेदवार ओनसरी घर्तीलाई कांग्रेस मतदाताको मत कम परेको पाइयो। ४० वर्षभन्दा माथि उमेर समूहका कांग्रेस समर्थकको भोट हलो र सूर्यमा बाँडिएको छ। 

३० वर्षभन्दा कम उमेर समूहले जसरी भोट नयाँ र स्वतन्त्र उम्मेदवारलाई खसालेको पाइयो, त्यसको तुलनामा ४० भन्दा माथिको उमेर समूहका मतदाता कमले मात्र मत परिवर्तन गरेको पाइएन। उनीहरूले पहिलेदेखि आस्थावान पार्टीलाई नै मत दिएको बताए।

उता काठमाडौँ–१ मा भने प्रतिस्पर्धा रोचक देखिन्छ। यस क्षेत्रबाट तीनपटकसम्म निर्वाचन जित्दै आएका कांग्रेसका प्रकाशमान सिंहलाई यसपटक जित निकाल्न गाह्रो छ। विगतमा प्रकाशमानलाई मत दिँदै आएका मतदाताहरूले यसपटक मत परिवर्तन गरेको पाइयो। मत परिवर्तन गर्ने धेरैले राप्रपाका रवीन्द्र मिश्रलाई सघाएको बताए। केहीले भने मत परिवर्तत गरेको बताए पनि कसलाई दिएको भन्न चाहेनन्। 

केही मतदाताले भने थोरै मतले प्रकाशमान नै विजयी हुने बताए। प्रकाशमानलाई जाने मत अन्य दलमा बाडिँदा यस क्षेत्रमा एमालेका किरण पौडेलले जित निकाल्न सक्ने केहीको अनुमान रह्यो। 

काठमाडौँ क्षेत्र नं. १ र २ मा समानुपातिकतर्फ राप्रपालाई मत दिनेको संख्या पनि उल्लेख्य भेटियो।