कोरोनाको बेला घर फर्किएका नेपालीलाई तलब लिन बोलायो साउदीको कम्पनीले

कोरोनाको बेला घर फर्किएका ८ जना नेपाली श्रमिकलाई त्यहाँको 'साउदी कन्स्ट्रक्सन डेभलपमेन्ट कम्पनी'ले तलब लिनको लागि सम्पर्क गर्न भनेको हो।

काठमाडौँ– कोरोनाको बेला घर फर्किएका ८ जना नेपाली श्रमिकलाई साउदी अरबको एक कम्पनीले तलब लिनको लागि सम्पर्क गर्न भनेको छ।

त्यहाँको 'साउदी कन्स्ट्रक्सन डेभलपमेन्ट कम्पनी'मा काम गर्दै आएका तर कोरोनाका बेला घर गएका ८ जना नेपालीलाई त्यो बेला काम गरेको तलब तथा सेवासुविधा लिन बोलाएको हो। त्यसका लागि  कम्पनीले रियादस्थित नेपाली दूतावासलाई पत्राचार गरेको थियो। कोरोना महामारीले गर्दा घर गएपछि कम्पनीमा फर्किन नसकेका र उनीहरूलाई सम्पर्क गर्न प्रयास गरेको तर नसकेको भन्दै उक्त कम्पनीले सहजीकरण गरी उनीहरूसँग सम्पर्क गराइदिन दूतावाससमक्ष आग्रह गरेको थियो। सोही आधारमा दूतावासले यथाशीघ्र कम्पनीमा सम्पर्क गर्न भनेको छ।

कम्पनीले तलब लिन बोलाएकामा सिरहाका सञ्जयकुमार यादव, बुध्न मुखिया मलह र सुरेश कुमार शाह, नवलपरासीका बाबुराम केवत, खोटाङका प्रकाश गिरी, उदयपुरका देबबहादुर श्रेष्ठ, सुनसरीका भेगबहादुर राना मगर, र तेह्रथुमका भिमप्रदास दाहाल रहेका छन्। कम्पनीको इमेल ठेगाना [email protected] मा पनि सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ। 

यसअघि साउदीकै टाट पल्टिएको अर्को कम्पनीले समेत ५५ जना नेपालीलाई काम गरेको बाँकी तलब लिन बोलाएको थियो ।