पद्मश्री साहित्य पुरस्कार : उत्कृष्ट ५ कृतिको सूची सार्वजनिक

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पुस्तकको संक्षिप्त सूची सार्वजनिक गरेको छ।

काठमाडौँ– पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पुस्तकको संक्षिप्त सूची सार्वजनिक भएको छ। खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले पुरस्कारका लागि मंगलबार उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक गरेको हो।

संक्षिप्त सूचीमा परेका कृतिहरूमा कृष्ण गौतमको उपन्यास ‘अद्वैत’, सानु शर्माको कथासंग्रह ‘अर्को देशमा’, रोशन शेरचनको निबन्धसंग्रह ‘गल्ली संसार’, कुमार नगरकोटीको संस्मरण ‘जोगियाना’ र गोविन्दप्रसाद कुसुमको उपन्यास ’भृकुटी’ रहेका छन्। 

पहिलो चरणमा प्रतिष्ठानमा प्राप्त पुस्तकमध्येबाट पुरस्कार चयन समितिको सिफारिसअनुसार असार १५ गते १५ पुस्तकको उत्कृष्ट विस्तारित सूची सार्वजनिक भएको थियो। दोस्रो चरणमा विस्तारित सूचीमा परेका कृतिमध्येबाट निर्णायक मण्डलको सिफारिसबमोजिम संक्षिप्त सूची सार्वजनिक गरिएका प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताए।  

समितिले यो सूचीबाट पद्मश्री साहित्य पुरस्कारका लागि सर्वोत्कृष्ट कृत चयन गर्नेछ। प्रतिष्ठानले विसं. २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ।