काठमाडौँका सपिङ मलः के कारण बन्दैछन् ‘गोस्ट मल’

विकसित शहर र शहरी जीवनका अभिन्न आवश्यकता झैँ मानिने काठमाडौँका ‘सपिङ मल’ पछिल्लो समय किन खालि–खालि हुँदै गए? बजार र अर्थतन्त्र गुल्जार रहेको देखाउने यी मलहरु कसरी ‘गोस्ट मल’ बन्दैछन्?

काठमाडौँ– नेपालको पहिलो सिनेमा हल जनसेवा २०१८ सालमा आगलागीबाट ध्वस्त भयो। उक्त हल तत्कालीन राजा त्रिभुवनको अग्रसरतामा २००६ सालमा नयाँ सडकमा खुलेको थियो। आगलागी भएर हल बन्द भएको आठ वर्षपछि यही ठाउँमा नेपालको पहिलो ‘सुपर मार्केट’ विशालबजार बनाइयो।

तत्कालीन राजा महेन्द्र विदेश भ्रमणमा जाँदा सुपर मार्केटहरू देखेका थिए। उनकै योजनामा जनसेवा हल भएको स्थानमा २०२६ सालमा विशालबजार खुल्यो। हल भएको स्थानले मात्र नपुग्ने भएपछि जुद्धशमशेरका छोरा ध्रुवशमशेरको दरबारसहितको जग्गा पनि अधिग्रहण गरेर सरकारले यो ‘सपिङ मल’ बनाएको थियो। 

यसअघि, असन, इन्द्रचोक र भोटाहिटीजस्ता किनमेल गर्ने काठमाडौँका पुराना ठाउँहरू खुला ‘सपिङ सेन्टर’ थिए। जन्मदेखि मृत्युसम्म चाहिने सबै वस्तु त्यहाँ पाइन्थ्यो। विशालबजारमा भने एउटै छानामुनि अनेक वस्तु किनमेलको सुविधा थपियो।

विशालबजार खुलेको साढे चार दशकपछि काठमाडौँमा यस्ता सपिङ मल बग्रेल्ती खुलिसकेका छन्। भाटभटेनीजस्ता सुपर मार्केट र बिग मार्ट तथा सेल्सबेरीजस्ता ‘डिपार्टमेन्टल स्टोर’हरू थपिने क्रम जारी छ। तर अधिकांश सपिङ मल ‘गोस्ट मल’ भएका छन्। बजारको भाषामा ४० प्रतिशतभन्दा बढी व्यावसायिक ठाउँ खाली भएको भवनलाई गोस्ट मल भनिन्छ।

यस्ता कतिपय मलमा भएका व्यवसाय पनि चलेका छैनन्।

नेपाल लाइफ इन्स्योरेन्सको स्वामित्वमा रहेको कमलपोखरीस्थित ६ तलाको सिटी सेन्टरमा २७० देखि १९ सय वर्गफिटसम्म क्षेत्रफल भएका पसल छन्। यहाँ १०५ वटा पसल राख्न सकिन्छ। तीमध्ये अहिले ६० प्रतिशतमा मात्र भाडा लागेको छ। 

सिटी सेन्टरका महाप्रबन्धक आदित्य कुमार आममानिसमा किनमेल गर्ने क्षमता कमजोर हुँदा व्यापार घटेको बताउँछन्। आयको अवसर र स्तर दुवै कम हुँदा किनमेलका लागि स्रोत नै अपुग रहेको उनको भनाइ छ।

बजारको आर्थिक गतिविधि बढाउनुको साटो अड्चन थप्ने नियम–कानून मात्र नभई सरकारी निकायहरूको कार्यशैली पनि बाधक भएको उनी बताउँछन्। “किन्ने मान्छे को हो? मध्यम वर्गका युवा विदेश गए, जान नपाएकाहरू कम आय भएको पेसा र व्यवसायमा लागेका छन्। उनीहरूको आम्दानीले किनमेलको अनुमति दिँदैन,” उनी भन्छन्, “खर्च गर्नसक्ने उच्च आर्थिक हैसियतका मानिसहरूको किनमेल विदेशमा हुन्छ।”

शहरलाई चाहिएभन्दा बढी संख्यामा सपिङ मल र कम्प्लेक्सहरू बन्नु पनि व्यवसाय घट्नुको कारण भएको उनको भनाइ छ। विशालबजारमा पसल सञ्चालन गर्नेहरू कोरोना महामारी रोक्न भएको ‘लकडाउन’ खुलेपछि पनि व्यवसाय पहिलाको अवस्थमा नफर्किएको बताउँछन्। 

सिटी सेन्टरका सुरक्षा प्रबन्धक शिवहरि बास्कोटा पनि कोरोना महामारीपछि व्यवसाय घटेको बताउँछन्। सपिङ मल हुनलाई केही मापदण्ड पूरा हुनुपर्ने तर अधिकांशले त्यस्तो मापदण्ड पूरा नगरेको उनको भनाइ छ। “हामी चाहिँ पूर्णतः मल हौँ, मलमा हुनुपर्ने कुरा कतिपय ठाउँमा नहुन पनि सक्छ,” उनी भन्छन्, “तपाईं यहाँ भित्र पस्ने बित्तिक्कै बीमा भइसक्यो, यहाँ १८ देखि २२ डिग्री तापक्रमबीच बस्नुहुन्छ, अक्सिजन लेबल जुनसुकै बेला १५ प्रतिशत कायम राखिन्छ। पानीको स्रोत हाम्रो आफ्नै छ र विद्युत आपुर्तिमा आत्मनिर्भर छौँ।”

व्यापारिक मलमा ब्रान्डेड वस्तुदेखि स्थानीय शील्प वा कला जोडिएका उत्पादनसम्म राख्ने पसल हुन्छन्। मनोरञ्जनका लागि सिनेमा, बालबालिका खेल्ने ठाउँ, रेस्टुरेन्ट, लाउन्ज तथा आधुनिक शैलीका कफी सपहरू हुन्छन्। आफ्नै पार्किङ एरिया हुन्छ। यसरी ठूलो लगानीमा खुलेका सपिङ मल गोस्ट मल हुँदा लगानीकर्ता चिन्तित छन्।

विशालबजार व्यापार संघका कार्यालय सचिव जयराम श्रेष्ठका अनुसार त्यहाँ रहेका ३९६ मध्ये २७५ कोठाहरूमा पसल सञ्चालन गरिएको छ। बाँकी कोठा कि गोदाम छन्, कि त खाली छन्। पुरानो पसल विस्थापित भएर नयाँ आउने क्रम पनि छैन। “जसले लिएको छ उसले बाध्यताले भए पनि चलाइरहेको छ,” उनी भन्छन्, “छोडेपछि गर्ने के भन्ने धेरैलाई समस्या छ। एक दिन व्यापार फर्किएला भन्ने आशामा व्यवसायी छन्।”

पसल चलाएर धानिनै मुस्किल
थरीथरीका सामान पाइने पसलहरू एउटै भवनभित्र सञ्चालन हुने अवधारणा नै सपिङ मल हो। तर काठमाडौँमा यसै अवधारणामा मल र सपिङ कम्प्लेक्सहरू सञ्चालन कठिन हुन थालेको यसका सञ्चालकहरू बताउँछन्।

बागदरबारमा रहेको सीटीसी मलमा कुल पसलयोग्य ठाउँमध्ये करिब आधा खाली छ। नौ तले संरचनाको भुुईंतलामा थोरै चहलपहल छ। १४० देखि ४०० वर्गफिटसम्म आकारमा यहाँ चौँथो तलासम्म व्यवसाय सञ्चालन प्रयोजनमा छुट्याइएका छन्। पहिलो, दोस्रो र तेस्रो तलामा धेरैजसो ठाउँ खाली छन्। चौँथो तलाभन्दा माथि कार्यालय प्रयोजनका लागि भाडामा लगाइएको छ। तर ती पनि कतिपय ठाउँ खाली छन्। कन्सल्टेन्सी, सर्भिस सेन्टर र वित्तीय संस्थाहरू तथा विभिन्न खालका कार्यालयहरूले भाडामा लिएका छन्। यी कार्यालयले मल सञ्चालनमा भरथेग गरेका छन्।

सीटीसी मल।

सीटीसी मात्र होइन, पसलले मात्र धान्न नसकेका अन्य मल पनि छन्। “मल शुरू हुने बेला नै कतिपय पसलका कोठा विभिन्न व्यक्तिले खरिद गरेर राखिसकेकाले त्यस्ता ठाउँ खाली देखिएका छन्,” सीटीसीमा कार्यरत प्रवीण महर्जन भन्छन्, “यहाँ पसलभन्दा अहिले कार्यालय धेरै भए। मलहरूमा सबैतिर करिब यस्तै अवस्था छ।”

थापाथलीस्थित ब्लुस्टार मल पूर्णरूपमा ‘अफिस कम्प्लेक्स’ बनेको छ। कुनै बेला ब्रान्डेड वस्तुहरूको शो रुमहरूका लागि चिनिएको ब्लुस्टारमा अहिले एउटा पसल पनि छैनन्। कोरोनापछि दुई वर्ष पूरै बन्द भएर भित्रको संरचना नै बदलेर कार्यालय प्रयोजनका लागि भाडामा लगाइएको त्यहाँका कर्मचारी पुरुषोत्तम श्रेष्ठ बताउँछन्। “अहिले हाम्रो पूरै अफिस कम्प्लेक्स नै भएर चलिरहेको छ,” श्रेष्ठ भन्छन्। 

माओवादी द्वन्द्वका बेला बन्द भएको साबिकको ब्लु–स्टार होटलको ठाउँमा शान्ति प्रक्रियापछि ब्लुस्टार मल सञ्चालन गरिएको थियो। थापाथली जस्तो ‘प्राइम लोकेसन’मा रहेको मल शुरूमा चलेको पनि थियो। तर कोरोना महामारीपछिको आर्थिक मन्दीले बन्द भयो।

स्टार मल

त्यसैगरी, कार्यालयहरूलाई भाडामा दिएर सञ्चालन गरिरहेको स्टार मल किनमेलको थलो बन्न सकेको छैन। सात तला गरेर ८० हजार वर्गफिट भाडा लगाउन योग्य ठाउँ रहेको यस मलमा मुस्किलले आधा दर्जन पसल छन्। मल भनिए पनि अफिस कम्प्लेक्सको रूपमा स्टार मल संचालन भइरहेको प्रबन्धक सौरभ श्रेष्ठ बताउँछन्।

यहाँ अधिकांश ‘एजुकेसनल कन्सल्टेन्सी’ छन्। उस्तै प्रकृतिको कपडा वा अन्य सामान बजारका गल्लीहरूमा भएका पसलहरूमा सस्तोमा उपलब्ध हुने र मलमा भाडा, स्टाफ खर्च जस्ता कारणले महँगो पर्ने भएकाले ग्राहकहरू आकर्षित नभएको हुनसक्ने बजार व्यवस्थापनका जानकार पनि रहेका सौरभ बताउँछन्। “सपिङ मल चलेन, बिस्तारै कार्यालयमा कन्भर्ट हुँदै गयो। हामीले विज्ञापन गर्दा पसलको लागि कोही सोध्न नै आएन, अफिसको लागि खोज्दै आए,” उनी भन्छन्, “बिस्तारै अफिसहरू आएर ठाउँ लिँदै गए।”

वर्ल्ड ट्रेड सेन्टर।

त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा पनि करिब ६० प्रतिशत ठाउँ मात्र व्यावसायिक उपयोगमा छ। यसमध्ये धेरैजसो कार्यालय प्रयोजनमा लगाइएको छ। रेस्टुरेन्ट, सुटिङ-सर्टिङ, रेडिमेड ब्रान्डको एउटा शोरुम र केही फुटकर पसलहरू मात्र छन्। त्यसबाहेक तीन वटा जलविद्युत् कम्पनी र दुई वटा बैंकलगायतले कार्यालय खोलेका छन्। “पछिल्लो समयको आर्थिक मन्दीले पनि बजार प्रभावित गरेको हो, त्यसको असर अझै छ,” यसको व्यवस्थापन कार्यालयमा कार्यरत सन्तोष घिमिरे भन्छन्।

धेरैजसो मलका कार्यालयका कर्मचारीको साझा जिज्ञाशा छ, ‘ठमेलमा बनेको छाया सेन्टर त चलेको होला नि?’ आँगन मात्र १२ हजार वर्गफिट भएको तीन लाख ५० हजार वर्गफिट क्षेत्रफलमा फैलिएको छाया सेन्टरमा २५० वटा पसलयोग्य ठाउँ छन्। यहाँकी सेल्स एन्ड मार्केटिङ एक्जेक्युटिभ छिरिङ थोन्जुम शेर्पाका अनुसार सिनेमा चेन ‘क्यूएफएक्स’सँगै करिब १२० इकाई व्यवसायका लागि खुला भइसकेका छन्। 

यहाँका पनि करिब आधाजसो इकाई भाडामा लाग्ने प्रतीक्षामा छन्। यसको ठूलो हिस्सा भने पाँचतारे होटल ‘द अलफ्ट’ले ओगटेको छ। छाया सेन्टरको आँगन कन्सर्ट र अन्य औपचारिक कार्यक्रमहरूका लागि भाडामा लाग्छ। अरू बेला यहाँ रहेका रेस्टुरेन्टहरूका कारण आवागमन भने हुन्छ।

अरू मलले पनि खाली ठाउँ भर्न होटल तथा आतिथ्य व्यवसायलाई भाडामा दिन थालेका छन्। दरबारमार्गस्थित वन दरबार मलमा धेरैजसो ठाउँ खाली भए पनि कति खाली छ भनेर यकिन जानकारी दिन नसक्ने कर्मचारी कृष्ण भट्टराई बताउँछन्। यस मलले एउटा तला हिमालयन जाभा कफी हाउसका सञ्चालकलाई होटल बनाउन दिएको उनले बताए।

गुण समूहबाट सञ्चालित सँगैको अर्को दरबार मलका पनि दुई वटा तला होटल प्रयोजनका लागि दिइएको छ। कोभिडको दोस्रो लहर सकिएलगतै यस मलको बुकिङ शुरू भएको थियो। करिब दुई वर्षसम्म आधाभन्दा बढी ठाउँ खाली नै भयो। भूमिगत पार्किङसहित आठ तलाको यो मलमा प्रत्येक तलामा १० हजार वर्गफिट भाडा लगाउन योग्य ठाउँ छ। माथिका दुई वटा तलामा सिनेमा हल छन्। अरू पाँच वटा तलाको संरचना सपिङ मलकै अवधारणामा छ। तर अहिले दुई वटा तला होटलका लागि दिइएको कर्मचारी सुशन महर्जन बताउँछन्। 

चाइनाटाउन व्यापारिक कम्प्लेक्स।

कुनै बेला भारतीय पर्यटकहरूका लागि आकर्षणको केन्द्र रहेको बागदरबारस्थित चाइनाटाउन व्यापारिक कम्प्लेक्सका पसलहरूमा पहिलेजस्तो व्यवसाय छैन। चाइनाटाउनमा २५५ पसल छन्। यीमध्ये एकतिहाइ पनि प्रयोगमा छैनन्। प्रायः गोदामको रूपमा प्रयोग भइहरहेको चाइनाटाउन कवल धनी संघकी कर्मचारी दुर्गा न्यौपाने बताउँछिन्।

भुईंचालोपछि आएको मन्दीको प्रभाव कोरोनापछि झन् ठूलो भएको न्यौपानेको भनाइ छ। “पोहोरभन्दा यसपालि वैशाखयता केही मात्रामा व्यवसायमा सुधार छ, मान्छेहरू आउन थालेका छन्,” उनी भन्छिन्, “केही वर्ष त भुईं तलामा ढलको पानी जमेर पनि व्यापार नराम्ररी प्रभावित भयो। अघिल्लोपटक काठमाडौँ महानगरपालिकामा नयाँ मेयर आएदेखि ढलको पानी जम्ने समस्या भने हटेको छ।” 

कर्मचारी संचय कोषको स्वामित्व रहेको रत्नपार्क र सुन्धाराको बीचमा पर्ने काठमाडौँ मलमा सबै ठाउँ पसलका लागि भाडामा लाग्न सकेका छैनन्। यो मल सञ्चालनको जिम्मामा गत वैशाख २८ गतेदेखि कोष आफैले लिएको छ। यसअघि ठेकेदारमार्फत सञ्चालन गर्थ्यो। 

सञ्चय कोषका तर्फबाट मलको प्रबन्धक रहेका केशव बुढाथोकीका अनुसार यहाँ करिब १०० वटा पसलहरू राख्ने ठाउँ छन्। आफूहरूले सञ्चालनको जिम्मा लिँदा छैटौँ र सातौँ तलामा खाली रहेका पसलहरू अहिले पनि खाली रहेको उनी बताउँछन्। चौँथो तलामा पनि केही पसलका ठाउँ खाली छन्। मानिसहरूको धेरै आवागमन हुने ठाउँमा रहेको यो मलमा करिब २० प्रतिशत पसलयोग्य ठाउँ खाली छन्। 

बजारक्षेत्र मात्र होइन, शहरबाट बाहिरिने र भित्रिने केन्द्र गोंगबुमा रहेको लोत्से मलको पनि ४० प्रतिशत भाग खाली छ। आधुनिक संरचना र सुविधाहरू रहेको यो मलको बजार कोारोनाअघि नै प्रभावित भएको यहाँका बजार प्रबर्द्धन अधिकृत नारायण कार्की बताउँछन्। सिनेमा, बैंक तथा वितीय संस्था, ट्राभल एजेन्सीहरूले यस मलको ६० प्रतिशत भाग भाडामा लिएका छन्। होटेल, मोबाइल पसल, कपडा पसललगायत यहाँ संचालित छन्। 

“सिनेमा व्यवसायमा पनि त्यस्तै छ, राम्रो चलेको सिनेमा आयो भने चल्छ। नभए १५–२० जनालाई पनि शो देखाइरहेका हुन्छन्। जबकि ३०० क्षमताका यहाँ दुई हल छन्,” कार्की भन्छन्, “बसपार्कमा भएकोले यहाँ हिँडेर आउने ग्राहक बढी हुन्छन्। त्यही भएर भुईंतलाका पसलहरू भने बिहानैदेखि खुलिरहेका हुन्छन्। माथिल्लो तल्लामा अझै धेरै ठाउँ खाली छ।”

तुलनात्मक चलेका केही मल
काठमाडौँमा सबभन्दा सन्तोषजनक व्यवसाय गरिरहेको सिभिल मल हो। सुन्धाराबाट त्रिपुरेश्वर जाने सडकको दाहिनेतर्फ रहेको यस मलका वरपर र पछाडि करिब ३०० होटलहरू छन्। मलमा व्यापार हुनुको कारण ती होटलका पाहुना पनि भएको यहाँका सेल्स अधिकृत निरन श्रेष्ठ बताउँछन्। उनका अनुसार यहाँ ९२ प्रतिशत ठाउँ अहिले पनि भाडामा छन्। सामान्य दिनमा चार हजार र शनिवार तथा बिदाको दिनमा ६ हजारभन्दा बढी मानिस आउने गरेका छन्।

गोँगबुको कान्तिपुर मलमा पनि प्रायः पसलयोग्य ठाउँ भाडामा लागेका छन्। गोंगबु बसपार्कको प्रवेश विन्दुमा बनेको र गोंगबु क्षेत्रकै पुरानो कान्तिपुर मल २०६४ मा बनेको हो। यसमा १६० वटा पसल छन्। जसमध्ये करिब १० प्रतिशत मात्र खाली रहेको लेखा हेर्ने कर्मचारी दीपेश प्रधान बताउँछन्। सबभन्दा माथि पूरै छतमा रेस्टुरेन्ट बनाउन मिल्ने ट्रस र जस्ता पाताले बनेको संरचना भए पनि भाडामा लागेको छैन। “कोरोनापछि कारोबार भने राम्रो छैन, अवस्था डमाडोल नै छ,” प्रधान भन्छन्, “यसपालि पनि पसल सञ्चालकहरू दशैँ कुरेर बसेका छन्।”

कान्तिपुरको नजिकै रहेको बिजी मलमा पनि पसलहरूको भाडा अनुपात राम्रो छ। यहाँका प्रबन्धक प्रेम शर्माका अनुसार ६० पसलमध्ये १० प्रतिशत मात्र खाली छन्। सामाखुसीमा बनेको नयाँ मल सिटी स्क्यावरमा केही तलाको निर्माण अहिले पनि जारी छ। ठाउँ तयार भइसकेकामध्ये थोरै पसलहरू मात्र खाली छन्।

किन प्रभावित भए मल?
उपभोक्ताले अनलाइनमार्फत किनमेल गर्न थाल्दा पनि मलहरूको व्यापार प्रभावित भएको छ। ‘मेडियम’ नामक संस्थाको पोर्टलमा रितिका बोहराले नेपालमा अनलाइन व्यापार बढेको र नेपाल आशलाग्दो ई–कमर्स बजारको रूपमा उभिएको उल्लेख गरेकी छन्। नेपालको ई–कमर्स क्षेत्रले सन् २०२४ मा ६७९.७ मिलियन कारोबार गर्ने प्रक्षेपण गरिएको उनले जनाएकी छन्। नेपाली उपभोक्ताहरूको अनलाइन किनमेलमा पहुँच बढ्नुलाई यो वृद्धिको कारण मानिएको छ।

स्मार्टफोनको व्यापक प्रयोग, इन्टरनेटमा पहुँच वृद्धि र उपभोक्ताहरूको प्राथमिकता परिवर्तनले अनलाइन किनमेल बढेको मानिएको छ। भौतिक रूपमा पसल नगएरै केही ‘क्लिक’मा आफूलाई चाहिने सामग्री छान्न र मूल्यको तुलना गरेर किन्न सकिने हुँदा ई–कमर्सको वृद्धि भइरहेको बोहराले उल्लेख गरेकी छन्। कोभिड–१९ महामारीले नेपालको ई–कमर्स वृद्धिमा टेवा पुर्‍याएको उनको भनाइ छ।

नेपाल खुद्रा बिक्रेता संघका अध्यक्ष पवित्र बज्राचार्य पनि अनलाइन माध्यमबाट हुने किनबेचले खुद्रा व्यापारलाई १० देखि १५ प्रतिशत घटाएको बताउँछन्। “समग्रमै बजारमा किनमेल घटेको छ। यसमा १० देखि १५ प्रतिशत अनलाइन किनबेचले प्रभावित गरेको हाम्रो अनुमान छ। बजारमा जुन ढंगबाट मूल्य बढेको छ, त्यो अनुरूपमा बिक्री बढेको छैन। त्यो अन्यत्र गएकै हो,” उनी भन्छन्। 

खुद्रा व्यापारमा भाटभाटेनी र बिग मार्टजस्ता ठूलो लगाानी गर्ने कम्पनी पसेपछि पनि उपभोक्ता बाँडिएर अन्यत्रको व्यापार घटेको उनको भनाइ छ। खाद्यान्नजस्तो आवश्यक बस्तुको समेत बिक्री नभएको अवस्थामा मलका पसलहरूमा बिक्री घट्नु स्वाभाविक भएको बज्राचार्य बताउँछन्। 

‘मोडर्न ट्रेड’का जानकार सीएन पौडेल अर्थतन्त्र उठेमा मात्र सबै खाले व्यवसाय फस्टाउने बताउँछन्। “माध्यम जुनसुकै भए पनि अर्थतन्त्र कता गइरहेको छ भन्ने हिसाबले नै बजार निर्देशित हुन्छ,” उनी भन्छन्, “अनलाइनले बजारको केही हिस्सा लिने प्रयास चाहिँ गरिरहेको छ तर धेरै नै उत्साहजनक गरेको छैन। कतिपय करोडौँ लगानीका अनलाइन व्यवसाय धरासायी भएका छन्।”

उनका अनुसार दैनिक उपभोग्य वस्तुका पसल भने अहिले अनलाइन व्यापारबाट कम प्रभावित छन्। यसबाहेक लगानी गर्ने वातावरण नै नभएको उनी बताउँछन्। अर्थतन्त्र हुनुपर्ने जति चलायमान नहुँदा र सहकारीहरूका विषयमा आइरहेका खबरहरूले पनि बजार प्रभावित भएको उनको भनाइ छ। 

“बैंकमा पैसा थुप्रिएर बस्या छ, लगानी गरौँ भनेर व्यवसायीले आँट गर्न सकिरहेका छ्रैनन्। भोलि कस्तो परिस्थिति आउँछ भनेर केही रकम सञ्चित राख्ने सोच पनि बढेको छ,” पौडेल भन्छन्, “दैनिक रूपमा नभई नहुने आधारभूत कुराहरूमा खर्च गरिरहेका छन् तर अन्य सामग्रीको किनबेच प्रभावित छ।”