अमेरिकामा 'नो किङ्ग्स' र्‍याली: ट्रम्पको शैलीविरुद्ध लाखौँ प्रदर्शनकारी सडकमा

अमेरिका सबै राज्यका विभिन्न शहरमा लाखौँ मानिस लोकतन्त्रको पक्षमा र ट्रम्पको नीतिविरुद्ध सडकमा उत्रिएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर नीति र अधिनायकवादी व्यवहारविरुद्ध शनिबार देशभर 'नो किङ्ग्स' नामक विशाल प्रदर्शन गरिएको छ। सबै ५० अमेरिकी राज्यका विभिन्न शहरमा लाखौँ मानिस लोकतन्त्रको पक्षमा र ट्रम्पको नीतिविरुद्ध सडकमा उत्रिएका हुन्। 

आयोजकका अनुसार न्युयोर्कदेखि लस एन्जलससम्म फैलिएको यो आन्दोलनमा ७० लाखभन्दा बढी नागरिक सहभागी थिए। फ्लोरिडास्थित ट्रम्पको निवासनजिक र अमेरिकी हार्टल्यान्डका साना शहरहरूमा समेत विरोध प्रदर्शन भएका थिए।

वासिंटनस्थित अमेरिकी क्यापिटल नजिक हजारौँ प्रदर्शनकारीले ‘लोकतन्त्र यस्तै देखिन्छ!’ भन्दै सरकारी कामकाज ठप्प (शटडाउन) पारिएकोमा पनि आक्रोश पोखेका थिए। उनीहरूका रंगिन पोस्टरहरूमा ‘लोकतन्त्रको रक्षा गरौँ’ भन्ने सन्देश देखिन्थ्यो भने केहीले आप्रवासी दमन गर्ने अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) निकाय खारेज गर्न माग गरेका थिए।

न्युयोर्ककी ६९ वर्षीया सेवानिवृत्त कोलिन हफम्यानले भावुक हुँदै भनिन्, “लोकतान्त्रिक देशको मृत्यु आफ्नै आँखाबाट हेर्नुपर्ने दिन आउनेछ भन्ने मैले कहिल्यै सोचेकी थिइनँ। हामी अहिले संकटमा छौँ—यो शासनको क्रूरता र अधिनायकवादले हामीलाई घुँडा टेकाउन खोजिरहेको छ।”

लस एन्जलसमा प्रदर्शनकारीले डाइपर पहिरेको ट्रम्पको विशाल बेलुन प्रदर्शन गरेका थिए। कतिपयले हालैका विश्वव्यापी विरोधहरूमा प्रचलित ‘खोपडीको लोगो’ अंकित झन्डासमेत फहराएका थिए। ह्युस्टनमा ‘अज्ञानताविरुद्ध लडौँ, आप्रवासीविरुद्ध होइनौँ’ भन्ने सन्देशले नागरिकको ध्यान खिचेको थियो।

प्रदर्शन अधिकांश ठाउँमा शान्तिपूर्ण रहे पनि लस एन्जलसको डाउनटाउनमा केही भीड नियन्त्रणका क्रममा प्रहरीले गैरघातक गोली टियर ग्यास प्रयोग गरेको लस एन्जलस टाइम्सले जनाएको छ। लस एन्जलस प्रहरीले ‘कानूनी आदेशपछि प्रदर्शनकारीलाई तितरबितर गरियो’ भने पनि गिरफ्तारीबारे विवरण सार्वजनिक गरेको थिएन।

न्यूयोर्कमा करिब एक लाखभन्दा बढी र वासिंटनमा आठ हजारदेखि १० हजारसम्म प्रदर्शनकारीको भीड अनुमान गरिए पनि आयोजकहरूको तथ्यांक भने स्वतन्त्र रूपमा पुष्टि भएको छैन।

ट्रम्पले भने आफ्नो 'ट्रुथ सोसल' प्लेटफर्ममार्फत प्रतिक्रिया दिँदै आफूलाई राजाको रूपमा चित्रण गर्ने एआई–निर्मित भिडियोहरूको शृङ्खला सार्वजनिक गरेका थिए। एउटामा उनलाई मुकुट लगाएर लडाकु जेट उडाउन र विरोधीलाई अपमानित गर्ने दृश्य देखाइएको थियो। उनका सहयोगीले पनि प्रदर्शनलाई 'घृणा अमेरिका र्‍याली' भन्दै व्यंग्य गरेका थिए। प्रतिनिधिसभाका अध्यक्ष माइक जोनसनले प्रदर्शनकारीहरूलाई ‘मार्क्सवादी, समाजवादी र हमास समर्थक वामपन्थीको’ मिश्रण भएको बताए।

तर प्रदर्शनकारीहरूले ती आरोपलाई हास्यास्पद भन्दै प्रतिक्रिया दिएका छन्। वासिंटनमा सहभागी ६३ वर्षीया पाओलोले भनिन्, “यदि यो घृणा हो भने, ती आलोचकहरू फेरि विद्यालय फर्किनु पर्छ।” अर्का प्रदर्शनकारी ३४ वर्षीय सफ्टवेयर इन्जिनियर टोनीले भने, "हामीमाथि दक्षिणपन्थीहरूले घृणा गर्छन्, तर हामी सत्यको पक्षमा अडिएका छौँ।"

अमेरिकन सिभिल लिबर्टिज युनियन (एसीएलयू)की डेरड्रे सिफेलिङका अनुसार प्रदर्शनकारीहरूको मुख्य सन्देश ‘हामी समानता र कानूनको देश हौँ’ भन्ने थियो। उनले भनिन्, “हामी सबैका लागि न्याय, प्रक्रिया र लोकतन्त्रमा विश्वास गर्छौं। हामी चुप लाग्ने छैनौँ।”

‘अविभाज्य परियोजना’का सह–संस्थापक लेह ग्रिनबर्गले ट्रम्प प्रशासनले डेमोक्रेटिक नेतृत्व भएका शहरहरू—लस एन्जलस, वासिङ्टन, शिकागो, पोर्टल्यान्ड र मेम्फिसमा राष्ट्रिय गार्ड पठाउने प्रयासको कडा आलोचना गरिन्। उनका शब्दमा, ‘यो धम्की, भ्रम र डरद्वारा नागरिकलाई मौन पार्ने अधिनायकवादी शासनको पुरानो रणनीति’ हो।

अमेरिकी क्यापिटलअगाडि बोल्दै प्रगतिशील सिनेटर बर्नी स्यान्डर्सले ट्रम्प शासनले लोकतन्त्रमा गम्भीर खतरा उत्पन्न गरिरहेको चेतावनी दिए। उनले भने, “हामीसँग यस्तो राष्ट्रपति छन् जसले सबै शक्ति आफ्नो र आफ्नो निकट वर्गको हातमा केन्द्रित गर्न खोजिरहेका छन्।”

१६ वर्षीय विद्यार्थी आइज्याक हार्डरले भने, “हाम्रो पुस्ताको भविष्य अन्धकारमय देखिन्छ। यो फासिस्ट बाटो हो र यसलाई रोक्नका लागि म आफ्नो हिस्साको योगदान गर्न चाहन्छु।”