‘नेपालभन्दा बाहिर रहेका नेपाली पनि हाम्रै नागरिक हुन्, उनीहरूको पनि अधिकार छ, उहाँहरूलाई पनि जोड्नुपर्छ, छोड्नुहुन्न भन्ने इच्छाशक्ति र भावना राख्ने हो भने प्रवासी मताधिकार सम्भव छ।’
यूएईमा कुन क्षेत्रमा काम गर्नुहुन्छ?
अहिले रिटेल मार्केटिङ क्षेत्रमा छु। शुरूआतदेखि नै यसैमा कार्यरत थिएँ। साथसाथै, विशेषगरी रोजगारीको सिलसिलामा यूएई आउनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीसँग विभिन्न संघसंस्थामा जोडिएर सामाजिक काममा पनि लागिरहेको छु।
नेपालको निर्वाचनमा भोट नहालेको कति भयो?
लगभग १० वर्ष भयो। २०७२ सालको निर्वाचनमा बिदा मिलाएर नेपाल गएको थिएँ। त्यसपछि चाहिँ त्यो अवसर जुटेको छैन। यहाँ कम्पनीको नियम अनुसार बिदा मिलाउनु पर्छ। बिदा नमिलेको कारण त्यसपछिको निर्वाचनमा सहभागी हुन पाएको छैन।
२०७२ सालको निर्वाचनमा भोट हाल्नकै निम्ति नेपाल आउनु भएको थियो?
हो, त्यतिखेर चुनावकै बेलामा बिदा मिल्यो। तीन–चार महिना ढिलो गरेर विशेष समय मिलाएको थिएँ।
निर्वाचन नजिकिएसँगै प्रवासमा बस्ने नेपालीलाई पनि मताधिकारको सुविधा दिने विषयमा खुब चर्चा हुन्छ। तर, चुनाव सकिएसँगै यो विषय फेरि सेलाउँछ। यसलाई कसरी लिनुभएको छ?
यो एकदमै यथार्थ हो। विगत लामो समयदेखि यो विषय उठ्दै आएको छ। हामीले नेपाल सरकारलाई पटकपटक ध्यानाकर्षण गराएको हो। अनुरोध गरेको हो। निर्वाचनको संघारमा सान्त्वना दिने खालका विषयहरू मात्रै मिडियामा आउँछन्। यसलाई नीतिगत र कानूनी रूपमा तयारी गर्नुपर्ने हो। त्योतर्फ अगाडि नबढेको जस्तो लाग्छ। विगत केही समयदेखि पुनः प्रवासी मताधिकारको चर्चा चलिरहेको छ। विदेशमा रहने नेपालीले पनि विदेशबाटै भोट हाल्न पाउने व्यवस्थाबारे सञ्चार माध्यमबाट जानकारी पाइरहेका छौँ। तर, अहिले पनि विगतमा जस्तै यो कुराहरू आउने र निर्वाचन नजिकिएपछि सेलाएर जाने हो कि भन्ने महसुस हुन्छ।
कुनै क्षेत्रको प्रतिनिधि त्यही क्षेत्रको स्थानीय जनताले चुन्दा नै उपयुक्त हुन्छ। बाहिर बसेका नेपालीहरूले चुन्दा चाहिँ त्यहाँको स्थानीय सन्दर्भ र उम्मेदवारको वास्तविकता पनि थाहा हुँदैन। त्यसैले स्थानीयलाई मात्रै भोट दिने सुविधा दिनुपर्छ भन्ने तर्क छ नि, तपाईंलाई कस्तो लाग्छ?
यो जायज तर्क हो जस्तो मलाई लाग्दैन। आफ्नो दैनिक आवश्यकता परिपूर्ति गर्न र नेपालमा त्यो किसिमको अवसर सिर्जना नहुँदा हामी विदेश जान बाध्य छौँ। तर, विदेशमा भए पनि निरन्तर नेपालसँग जोडिएका छौँ। हाम्रो भौतिक शरीर मात्र विदेशमा छ, तर हाम्रो सम्पूर्ण चिन्तन, जिम्मेवारी, मन नेपालमै छ, हाम्रो उही गाउँमै छ। हामी रोजगारी या विभिन्न बाध्यात्मक कारणले मात्र विदेशमा छौँ। हाम्रो तन, मन उतै छ। गाउँमा के भइराखेको छ, कसो भइराखेको छ, कसले के गरिराखेको छ भन्नेबारेमा निरन्तर अपडेट छौँ। विदेशमा श्रम पसिना बेचेर पठाएको रेमिट्यान्स हाम्रो घर, गाउँठाउँ र देशको महत्त्वपूर्ण आयस्रोत भएको छ। हामी बर्सेनि नेपाल फर्केका हुन्छौँ।
कतिपय साथीहरू वर्षमा दुई पटक, तीन पटक र कतिपय साथीहरू दुई वर्षमा नेपाल फर्केका हुन्छन्। हामी यहाँ रहे पनि हाम्रो गाउँठाउँ, घर, देशको बारेमा एकदमै चिन्तित छौँ। त्यहाँको बारेमा निरन्तर जानकारी राख्छौँ। अहिले इन्टरनेटले संसारलाई एक बनाएको छ। परदेश बसे पनि नेपाली दाजुभाइ दिदीबहिनीसँग इन्टरनेटमा जोडिएका छौँ। विभिन्न काम र व्यस्तताका कारण नेपालमा बसेकाहरूले जानकारी नपाउनु होला, तर हामी उहाँहरूभन्दा अझै छिटो अपडेट हुन्छौँ। देशको वस्तुस्थिति र गाउँठाउँको अवस्थाबारे प्रवासमा रहेका सम्पूर्ण नेपाली एकदमै जानकार हुनुहुन्छ, जस्तो लाग्छ। त्यसकारण, यदि कसैले त्यस्तो मूल्यांकन गरेको छ भने त्यो गलत हो।
प्रवासमै रहेका तपाईं जस्तै नेपालीलाई भोट हाल्ने सुविधा दिने हो भने पनि नेपालमा त्यसले के फरक ल्याउँछ?
नेपाल सरकारले यसलाई प्राथमिकता दिनुपर्छ। आज संसार कहाँ–कहाँ पुगिसक्यो! हाम्रै स्थिति हेर्ने हो भने पनि २०–२५ वर्षअगाडिको र आजको अवस्थामा कति परिवर्तन भइसक्यो। अहिले आईटी र इन्टरनेटले संसारलाई जोडेर हर असम्भवलाई सम्भवमा परिणत गरिसक्यो। यदि नेपाल सरकारको इच्छाशक्ति र चाहना छ भने, विभिन्न बाध्यताले अहिले प्रवासमा रहेकाहरूलाई नेपालको सबै प्रक्रियामा जोड्नुपर्छ। इच्छाशक्ति भयो भने अवश्य पनि सम्भव हुन्छ। परदेशमा रहेका नेपालीले यो निर्वाचनमा आफ्नो मत जाहेर गर्ने अवस्था भयो भने उहाँहरूले पनि कस्तो जनप्रतिनिधिलाई अगाडि ल्याउनुपर्छ, कसरी देशको विकास गर्न सकिन्छ, कसरी जनताको उन्नति हुन्छ, के–के सम्भावना छन् भन्ने बुझेका छन्।
उहाँहरूसँग रहेको अनुभव, उहाँहरूसँग रहेको सीपलाई नेपाल सरकारले सही तरिकाले प्रयोग गर्न सक्ने वातावरण निर्माण गर्ने हो भने यसले नेपालमा ठूलो परिवर्तन ल्याउँछ। यसले नेपाललाई ठूलो सहयोग पनि हुन्छ। परदेशमा रहने सम्पूर्ण नेपालीले दैनिक आठदेखि १२ घण्टा काम गर्छन्, धेरै अनुभव छ। देशको उन्नति–प्रगति कसरी हुँदो रहेछ, विकास निर्माण कसरी हुँदो रहेछ भन्ने विषयमा उहाँहरूसँग अनुभव छ।
यूएईमा दूतावासमै गएर भोट हाल्न पाउने सुविधा भयो भने तपाईंलाई दूतावाससम्म पुग्न कतिको सुविधा हुन्छ अथवा तपाईं जस्तै नेपाली नागरिकलाई दूतावासमा पुगेर भोट हाल्न कतिको सहज होला?
म त २४ वर्षदेखि यूएईमै छु। नेपाल सरकारले त्यो वातावरण सिर्जना गर्यो भने यहाँ रहेका नेपालीले दूतावासमा पुगेर हरसम्भव मताधिकार प्रयोग गर्छन्। स्वतःस्फूर्त तरिकाबाट साथीहरू सहभागी हुनुहुन्छ। म आफू पनि सहभागी हुन्छु। यदि त्यो अवसर प्राप्त हुन्छ भने, यूएईमा रहेका नेपाली दाजुभाइ दिदीबहिनी सहभागी बन्नुहुन्छ।
कम्पनीहरूले कामदारलाई भोट हाल्न जान दिन्छन्?
सबै कम्पनीहरूले त नदेलान्। बिदाको दिन पर्यो भने सबैलाई सहज हुन्छ। नेपालीले यहाँ विभिन्न तह र तप्कामा काम गर्नुहुन्छ। सबै स्तरमा काम गर्ने साथीहरूलाई सहज नहोला। तर, धेरै नेपालीले आफ्नो दक्षता र इमानदारिता प्रस्तुत गरेका कारण विभिन्न क्षेत्रमा राम्रो पोजिसनमा हुनुहुन्छ। उहाँहरूले कम्पनीमै रिक्वेस्ट गरेर त्यो दिन विशेष बिदा मिलाएर सहभागी हुन सक्नुहुन्छ। १०० मा १०० प्रतिशत त नहोला। तर, राम्रो संख्यामा उपस्थिति हुन्छ।
प्रवासी मताधिकारको विषयमा यति धेरै चर्चा भए पनि किन कार्यान्वयन हुन नसकेको होला?
नेपालमा नीति निर्माण गर्दाखेरि नै यसलाई प्राथमिकता नदिएको जस्तो लाग्छ। असम्भव भन्ने कुरा केही छैन। म आफै विगत २४ वर्ष देखि वैदेशिक रोजगारमा हुँदा अहिलेसम्म चारवटा पासपोर्ट बनाइसकेँ। योभन्दा अगाडि हाम्रो हस्तलिखित पासपोर्ट थियो, त्यसपछि एमआरपी आयो। अहिले यहीँ दूतावासमा गएर बायोमेट्रिक र अनलाइनमा फोटो खिचेर ई–पासपोर्ट बन्छ। बायोमेट्रिक यहीँ हुन्छ।
सरकारले इच्छाशक्ति देखायो र प्राथमिकतामा राख्यो भने यो असम्भव छैन। यो सम्भव छ। धेरै देशहरूले प्रयोग गरिसकेका छन्। अनलाइन र इन्टरनेटको जमानामा यी काम एकदम सम्भव छ। नेपालभन्दा बाहिर रहेको नेपाली पनि हाम्रै नागरिक हुन्, उहाँहरूको पनि अधिकार छ, उहाँहरूलाई पनि जोड्नुपर्छ, उहाँहरूलाई छोड्नुहुन्न भन्ने इच्छाशक्ति र भावना राख्ने हो भने यो सम्भव छ।
भिडियो अन्तर्वार्ता:
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

Derai ramero lago satya kura garnu voyo bed sir le
Padam gaire
5 months, 2 weeks ago