पार्टीहरू सुधारको बाटोमा जान्छन् कि उस्तै रहन्छन्? जेन–जी आन्दोलनपछि पहिलो परीक्षाका रूपमा शुरू भएको एमालेको एघारौँ महाधिवेशनमा नेतृत्वदायी पदमा दाबी गरिरहेको नयाँ पुस्ता यसको उत्तर बन्ने छ।
काठमाडौँ– भदौ २३–२४ को जेन–जी आन्दोलनले सत्ता उथलपुथल मात्र गरेन, मुलुकको राजनीति नै हल्लाइदियो। सामाजिक सञ्जालदेखि सडकसम्म युवाले व्यक्त गरेको असन्तोष र आक्रोश दशकौँसम्म नेतृत्व, शक्ति र निर्णय–संरचनामा बसिरहेको राजनीतिको एउटा स्थिर अनुहारप्रति थियो। खासगरी पुराना दलका शीर्ष नेतालाई यो पंक्तिले ‘अब बाटो छोड’ भन्ने सन्देश दिएको थियो।
यही आन्दोलनले सत्ता गुमाएको केही महिनामै नेकपा एमाले ११ औँ महाधिवेशनमा प्रवेश गरेको छ। यो महाधिवेशन जसमार्फत एमाले जेन–जी आन्दोलनले उठाएको नेतृत्व तहका अनुहार फेर्ने बाटोमा अघि बढ्ला त भन्ने प्रश्न अहिले प्रमुख बनेको छ।
महाधिवेशनका लागि जिल्लाबाट काठमाडौँ आएका प्रतिनिधिहरूमा युवा अनुहार उल्लेख्य छन् जो उपस्थिति मात्र नभएर मुद्दा स्थापित गर्न आतुर देखिन्छन्। यसपालि एमालेले महाधिवेशन प्रतिनिधिमा युवालाई अनिवार्य सहभागी गराउन ४० वर्षमुनिको युवा क्लस्टर नै छुट्याएको थियो।
महाधिवेशनमा आएका तिनै युवा प्रतिनिधि आफूलाई दर्शकमा सीमित नगरी निर्णय प्रक्रियामा हिस्सेदारी खोज्दै छन्। जस्तो, सुदूरपश्चिमबाट आएका नरेश रोकाय युवा प्रतिनिधिहरूले केन्द्रीय सदस्यदेखि पदाधिकारीमा नयाँ पुस्ताको सहभागिता खोजिरहेको बताउँछन्। महाधिवेशन प्रतिनिधिले अब केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने भएकाले पहिल्यै केन्द्रीय सदस्य भइसकेका युवाले आफूहरूसँग नभई त्यो भन्दा माथिल्लो पद (पदाधिकारी)मा प्रतिस्पर्धा गर्नुपर्ने उनीहरूको सुझाव छ।
महाधिवेशन प्रतिनिधिहरू भन्दैछन्— राजनीतिक दलको संगठनात्मक ढाँचा अब माथिल्ला पदहरूमा अनन्तकालसम्म टिकिरहन खोज्ने परम्पराले चल्दैन, चल्नुहुन्न। के प्रतिनिधिको चाहनाबमोजिम महाधिवेशनबाट नयाँ अनुहार नेतृत्व तहमा अगाडि आउलान्? अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् जसलाई पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहको समेत समर्थन छ। तर संगठनभित्र ओलीको पकड अझै बलियो रहेकाले उनको तेस्रो कार्यकालको निरन्तरता आवश्यक छ भन्ने धारणा पनि प्रतिनिधिमाझ बाक्लै छ। यहीकारण पनि यो महाधिवेशनले नेतृत्व तहमा कतिपय परम्परा भत्काउला त भन्ने प्रश्न उठिरहेको छ।
महाधिवेशन शनिबार शुरू भएको छ। तर यसअघि नै कैयौँ नेता, त्यसमा पनि पछिल्लो पुस्ताका अनुहारहरूले एमालेको हाइकमान्ड (सचिवालय र स्थायी समितिका रूपमा रहने) मानिने १५ सदस्यीय पदाधिकारीमा प्रतिस्पर्धा गर्ने तयारीसहित जोडबल लगाइरहेका छन्। त्यसमा धेरैको आँखा सचिव पदमा छ।
एमाले विधानअनुसार सचिवका ७ पद छन्। महाधिवेशन हलमा जाँदै गरेको एमालेमा अहिले यी पदमा लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा कुमारी अर्याल र टोपबहादुर रायमाझी छन्। यीमध्ये रायमाझी निलम्बनमा छन्।
जेन–जी आन्दोलनपछिको वातावरण र दबाबले उनीहरूलाई पुनः सचिवमा दोहोर्याउने सम्भावना कम छ। त्यहीकारण पछिल्लो पुस्ताका धेरै नयाँ अनुहारले यसपटक सचिवमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।

परम्परा रच्न कस्सिएको पुस्ता
सचिवमा दाबी गर्दै प्रतिस्पर्धाको मैदानमा ओर्लिनेमध्ये हुन् केन्द्रीय सदस्य रचना खड्का। नवौँ महाधिवेशनमा सबैभन्दा कम उमेरमा केन्द्रीय सदस्य निर्वाचित भएर चर्चा बटुलेकी खड्का दशौँ महाधिवेशनबाट पनि केन्द्रीय सदस्य नै निर्वाचित भएकी थिइन्। बागमती प्रदेश सरकारको अर्थमन्त्री र एमालेका २३ जनसंगठन हेर्ने विभागको उपप्रमुख भएर काम गरिसकेकी उनको दाबी स्पष्ट छ— वृद्ध भएपछि मात्र नेतृत्वमा जानुपर्छ भन्ने परम्परागत सोच अन्य क्षेत्रमा भत्किइसकेको छ, अब राजनीतिक दलभित्र पनि यो मान्यता परिवर्तन हुनु समयसापेक्ष अनिवार्यता हो।
एमालेको नेतृत्व तहमा उमेरको समस्या रहेको र उमेरको हाईरार्की भत्काउन पनि यो महाधिवेशनमा युवाको हस्तक्षेप अनिवार्य रहेको उल्लेख गर्दै उनले भनिन्, “नयाँ पुस्ताले प्रतिस्पर्धा गर्नु चुनौती दिनु होइन, बरु पार्टीलाई आवश्यक ताजा नेतृत्व निर्माणको स्वाभाविक प्रक्रिया हो। त्यसैले यसको स्वागत हुनुपर्छ, अवरोध होइन।”
पोलिटब्युरो सदस्य ठाकुर गैरे सचिवका अर्का आकांक्षी हुन् जो चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा जुटेका छन्। विद्यार्थी राजनीतिका परिचित अनुहार ठाकुर गत प्रतिनिधिसभा सदस्यमा पाल्पाबाट निर्वाचित भएका थिए । “अनेरास्ववियूको अध्यक्ष भएर आठौँ महाधिवेशनदेखि निरन्तर केन्द्रीय कमिटीमा बसेकाले अब पदाधिकारीमा उक्लिनु समयानुकूल निष्कर्ष हो,” उनले भने।
सचिवमा अर्का दाबेदार हुन् केन्द्रीय सदस्य पदम गिरी। गत निर्वाचनमा पर्वतबाट प्रतिनिधिसभा सदस्य निर्वाचित गिरी कानून तथा न्यायमन्त्री र संसदीय दलका प्रमुख सचेतक भइसकेका छन्।
केन्द्रीय सदस्य झपट रावलको दाबी पनि सचिवमा छ। उनले सधैँभरि एउटैले नेतृत्व गर्नुपर्छ भन्ने सोच भत्काउन र समयसापेक्ष रूपमा अघि बढ्न आफूले सचिव पदमा दाबी गरेको बताउँछन्। “हामीभन्दा माथिल्ला पदाधिकारीहरूले वृद्ध नेताको नाम देखाएर नेतृत्वको बाटोमा जाम बनाएका छन्, अब त्यो जाम फोड्नुपर्छ,” रावलको तर्क छ।
पूर्वशिक्षामन्त्री एवं केन्द्रीय सदस्य विद्या भट्टराई, केन्द्रीय सदस्य उषाकिरण तिम्सिना र सरिता न्यौपाने पनि सचिवका आकांक्षी हुन्। नेतृत्वबारे बेलाबेला खरो टिप्पणी गर्दै आएकी तिम्सिनाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ नहुने दाबी गरिन्। “प्रतिस्पर्धा गर्नेलाई कोही कसैले पनि आफ्नो शत्रु ठान्नु भएन। यो त लोकतन्त्रको सुन्दर अभ्यास हो। प्रतिस्पर्धाबाट हो लोकतन्त्र बलियो हुने,” उनले भनिन्।
मधेशबाट एमाले राजनीतिमा प्रतिनिधित्व गर्दै आएकी पोलिटब्युरो सदस्य जुलीकुमारी महतो र ज्वालाकुमारी साहको दाबी पनि सचिवमै छ। त्यस्तै, सुदूरपश्चिमबाट निरुदेवी पाल, बागमतीबाट महेश बर्तौला, लुम्बिनीबाट खिमलाल भट्टराईको दाबी पनि सचिवमा छ। पोलिटब्युरो सदस्य यज्ञराज सुनुवार, एकीकृत समाजवादीबाट एमाले फर्केकी रामकुमारी झाँक्री, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले पनि सचिवमा दाबी गरिरहेका छन्।
त्यस्तै, अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेल र नवीना लामा पनि सचिवमा उक्लिने तयारीमा जुटेका छन्। यसबाहेक कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र पूर्वसञ्चारमन्त्री पार्वत गुरुङसम्मले सचिवमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन्।
एमाले नेता बिन्दा पाण्डे त जेन–जी पार्टीको भुइँ तहमै नेतृत्व परिवर्तनको माग पुगेकाले अध्यक्ष ओलीले पनि अब नयाँ पुस्ताका लागि पद छोड्नुपर्ने टिप्पणी गर्छिन्। उनका अनुसार यसपालि पुराना र नयाँ पुस्ता दुवै असाधारण रूपमा सक्रिय र गम्भीर देखिन्छन्।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य एमालेको एघारौँ महाधिवेशन पार्टीको नियमित नेतृत्व चयन प्रक्रिया मात्र नभई युवा पुस्ताको पहिलो संस्थागत परीक्षा भएको बताउँछिन्। यसपटक नयाँ अनुहार र पुस्तालाई एमालेले नेतृत्वदायी भूमिकामा प्रवेश गराए पार्टीभित्र नेतृत्व पुनर्निर्माणका लागि नयाँ ढोका खुल्ने उल्लेख गर्दै उनले भनिन्, “तर पुरानै संरचना पुनर्स्थापित भयो भने जेन–जी आन्दोलनले उठाएको रोष र प्रश्न फेरि सडकमै प्रतिबिम्बित हुने छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
