उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन दिउँसो २:३० बजे हुनेछ। त्यसपछिको आधा घण्टा उम्मेदवारका विरुद्ध उजुरी दिने समय तोकिएको छ।
काठमाडाैँ– नेकपा एमालेको ११औँ महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरू भएको छ। पार्टीको निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन कार्यतालिका अन्तर्गत उम्मेदवारको दरखास्त वितरण र दर्ताको प्रक्रिया अगाडि बढाइएको छ। महाधिवेशन स्थल भृकुटीमण्डपमा उम्मेदवारको दरखास्त फारम लिने र दर्ता गर्ने प्रक्रिया अघि बढेको छ।
यता महाधिवेशनमा दुई समूह बनाएर प्रतिस्पर्धा गर्न लागेको संस्थापन केपी ओली समूह र इतर ईश्वर पोखरेल समूह उम्मेदवारको नामावली टुंगो लगाउन आन्तरिक छलफलमै व्यस्त बनेको छ।
इतर समूहबाट उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका नेता परशुराम नेघी गुरुङले आफ्नो समूहबाट लगभग पदाधिकारीको हकमा उम्मेदवारी टुंगो लागेको र बाँकीको हकमा छलफल जारी रहेको बताए। उनका अनुसार अध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा बिन्दा पान्डे, गोकर्ण विष्ट र अरुण नेपालको टुंगो लागेको छ भने महासचिवमा सुरेन्द्र पाण्डेले उम्मेदवारी दिने भएका छन्। यस्तै, उप महासचिवमा योगेश भट्टराईको टुंगो लागेको छ।
त्यस्तै, सचिवमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरेको नाम टुंगो लागेको छ। अन्यको हकमा छलफल भइरहेको नेता गुरुङले जानकारी दिए। पोखरेल समूहबाट कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटा पनि उम्मेदवार बन्ने सम्भावना रहेको एक नेताले जानकारी दिए। यद्यपि यी नामको टुंगो नै लागेको छैन।
उता पदाधिकारी व्यवस्थापन गर्न सकस भएको संस्थापन पक्षले पनि उम्मेदवारी टुंगो लगाउन छलफल गरिरहेको छ। ओली निवास गुन्डुमा पदाधिकारीको नाम टुंगो लगाउन अहिले छलफल चलिरहेको सहभागी एक नेताले जानकारी दिए। संस्थापन समूहमा महासचिव कसलाई दिने भन्ने विषय पेचिलो बनेको छ। शंकर पोखरेल दोहोरिन चाहिरहेका छन् भने प्रदीप ज्ञवालीले पनि दाबी छाडेका छैनन्। अन्यको हकमा मोटामोटी सहमति जुटि सकेको ती नेताले जानकारी दिए।
ओलीले उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा र गुरु बराललाई निरन्तरता दिन चाहेका छन् अन्य दुई उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ र अर्का एक जना हुने सम्भावना छ। पोखरेल राजी भए उनलाई उपाध्यक्ष दिएर ज्ञवालीलाई महासचिव दिने र उप महासचिवमा विष्णु रिमाल, पद्मा अर्याल र लेखराज भट्ट बन्ने सम्भावना रहेको नेताहरूले बताएका छन्। बाँकी आकांक्षीलाई सचिवमा व्यवस्थापन गर्ने ओलीको तयारी छ।
आयोगले बिहान ९ देखि १२ बजेसम्म उम्मेदवारीको फारम वितरण गर्दैछ। "मतदाता नामावलीको दाबी विरोधमा छानबिन हुँदै गर्छ। उम्मेदवारीको फारम पनि वितरण गर्दै गर्छौं" आयोगका प्रमुख डा विजय सुब्बाले भने "उम्मेदवारी दर्ता बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्ममा सकिनेछ।"
उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन दिउँसो २:३० बजे हुनेछ। त्यसपछिको आधा घण्टा उम्मेदवारका विरुद्ध उजुरी दिने समय तोकिएको छ। उम्मेदवार विरुद्धको छानबिन १० मिनेटमै सक्ने आयोगले जनाएको छ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन साँझ ६ बजे गरिने आयोगले जारी गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ। शनिबारदेखि शुरू भएको महाधिवेशनमा २ हजार २६३ जना प्रतिनिधि छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
