नेप्से परिसूचकमा दोहोरो अंकले वृद्धि, कारोबार रकम भने घट्यो

नेप्से परिसूचक १८.३७ अंकले बढेर २६१९.९९ को बिन्दुमा कायम भएको छ भने तीन अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार दोहोरो अंकको सुधार देखिएको छ।

नेप्से परिसूचक १८.३७ अंकले बढेर २६१९.९९ को बिन्दुमा कायम भएको हो। यद्यपि, नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

मंगलबार ३२५ कम्पनीका ७८ लाख ४ हजार ४५ कित्ता शेयर ५५ हजार ७८ पटक खरिदबिक्री हुँदा कुल तीन अर्ब २९ करोड ४२ लाख २७ हजार ११२ रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो दिन सोमबार तीन अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

यस दिनको कारोबारमा व्यापार समूहबाहेक अन्य सबै समूहको उपसूचकमा वृद्धि भएको छ। कारोबार अवधिमा स्वस्तिक लघुवित्त र नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यता, श्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।

कारोबार रकम र शेयर संख्याका आधारमा यस दिन सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको शेयर किनबेच भएको छ। उक्त कम्पनीको १९ करोड ८२ लाख ४५ हजार २५ रुपैयाँ बराबरको चार लाख ९४ हजार १८४ कित्ता शेयर कारोबार भएको हो।