प्रजातन्त्रको बिगुल फुक्ने खुलामञ्च पञ्चायतदेखि खण्डीकरण हुँदै गयो, पछि स्थानीय सरकारहरूले नै खुला रहन दिएनन्। अहिलेका मेयर बालेनले ‘खुला रहने’ घोषणा गरे पनि उनकै गतिविधिबाट अभियन्ता सशंकित छन्।
काठमाडौँ– “खुलामञ्च अब सधैँका लागि खुल्ला हुँदैछ....।”
गत कात्तिक २७ गते काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले खुलामञ्चबारे साढे ३ मिनेटको भिडियो फेसबुकमा पोस्ट गर्दै यस्तो लेखेका थिए। मेयर निर्वाचित हुनुअघि सम्पदाप्रेमीका रूपमा आफूलाई चिनाएका, तर मेयर बनेसँगै खुलामञ्चमा अन्डरगाउन्ड रिचार्ज तथा फुटसलको योजना अघि सारेर खुलामञ्चलाई संकुचित पार्न खोजेको विवादमा तानिएका बालेनले यो भिडियोसहित पोस्ट गरेका तस्वीरमा गोधुली साँझ, हरियो घाँसे मैदान, सिरानमा कृत्रिम लाइटबाट निस्किएका पहेँला प्रकाश झलमल्ल देखिन्थे। जसले खुलामञ्चलाई चहकिलो र आकर्षक देखाउँथ्यो।
बालेन आउनुअघि नै खुलामञ्च अस्थायी बसपार्क र टहरा निर्माणले कुरूप थियो। उनी आएपछि पनि कहिले फुटसल ग्राउन्ड बनाउने त कहिले यसको उपयोगसम्बन्धी विभिन्न योजनाका नाममा खुलामञ्चलाई प्रयोगशाला बनाउन खोजियो। तर उनको यस्तो योजनामा सम्पदा अभियन्ता र स्थानीय बासिन्दा चुप लागेनन्। उनीहरूको निरन्तरको खबरदारीकै परिणाम हो– बालेनले खुलामञ्च अब खुल्लै हुन्छ भन्ने प्रस्टीकरणसहित भिडियो पोस्ट गर्नु।
उनको यस्तो पोस्टबाट तरंगित बनेर कतिपयले खुलामञ्च अब जनतामै फिर्ता आएको भनेर सेयर गरे। सामाजिक सञ्जालमा पनि त्यस्तै चर्चा भयो। तर बालेनले यसो भने पनि खुलामञ्चबारेका प्रश्न टुंगिएका छैनन्। कैयौँ प्रश्न अझै बाँकी छन्।

जस्तो, २०८० फागुन ७ गते अकुपाई टुँडिखेलका अभियन्ता खुलामञ्चमा खबरदारी कार्यक्रम गर्दै थिए। स्थानीय क्लबको संरक्षणमा दुइटा फुटसल ग्राउन्ड बनाउने भन्दै त्यसबेला काठमाडौँ महानगरले खेलकुद प्रयोजनका लागि खुलामञ्च उपयोग गर्ने योजना ल्याएको थियो। उनीहरू त्यसको प्रतिवादमा उत्रिएका थिए, खुलामञ्च पूर्णतः खुला राखिनुपर्ने मागसहित। सम्पदा अभियन्ता र स्थानीय बासिन्दा विरोधमा उत्रिने भेउ पाएपछि बालेनले त्यसको अघिल्लो दिन, फागुन ६ गते नै फेसबुक स्टेटसमार्फत ‘खुलामञ्च सदैव खुल्ला रहने’ स्पष्टीकरण दिएका थिए।
भोलिपल्ट खुलामञ्चमा भेला भएका अकुपाई टुँडिखेलका अभियन्ताले मेयरको आश्वासन मात्र आश्वासनमा सीमित रहन नहुने बताएका थिए। खुलामञ्च उपयोगका लागि महानगरले ल्याएको योजना कार्यान्वयन नहुने सुनिश्चितता हुनुपर्ने उनीहरूको माग थियो। त्यसको झण्डै दुई वर्षपछि घाँसे मैदानको चौर र छेउछाउमा हिँड्न मिल्ने ट्रयाकसहितको सिंगारिएको खुलामञ्च तयार भएको छ। यद्यपि, फुटसल मैदान बनाउनेबाहेक यसअघि बालेनकै पहलमा महानगरले अघि सारेको योजनाभित्र रहेका अन्य सबै काम खुलामञ्च सौन्दर्यीकरणका नाममा सम्पन्न गरिएको छ। यहीकारण पनि खुलामञ्चको प्रयोजनलाई लिएर प्रश्नहरू जीवितै छन्।

कस्तो छ खुलामञ्च?
सार्वजनिक भिडियो सामग्रीमा देखिएअनुसार करिब २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रफलमा फैलिएको खुलामञ्चको १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा दुबो रोपिएको छ। त्यहाँको चौरमा (मञ्च छेउछाउ) ४ मिटर चौडा पैदल ट्रयाक निर्माण गरिएको छ। ‘हेक्जागोनल ब्लक’ बिछ्याइएको ट्याकको बीचमा स–साना धुपीका बोट छन्। पैदलमार्गको बीचमा रहेका ती बोटबिरुवाका कारण बालबालिका, वृद्धवृद्धा र अपांगता भएका व्यक्तिलाई हिँडडुल सहज होला त भन्ने प्रश्न उब्जिन्छ।
मेयर शाहले उल्लेख गरेअनुसार शहरका विभिन्न ठाउँमा पैदलमार्ग स्तरोन्नति गर्ने क्रममा निकालिएका हेक्जागोनल ब्लकलाई नै त्यहाँ पुनर्प्रयोग गरिएको हो। पैदलमार्गमा राखिएका २१ वटा बिजुलीका पोल पनि न्यूरोडको पैदलमार्ग बिस्तारका क्रममा निकालिएपछि पुनर्प्रयोग गरिएका हुन्। डे–नाइट सेन्सरयुक्त यी पोल दिनको उज्यालोमा निभ्छन्, रात परेपछि बल्छन्।
मेयर शाहले खुलामञ्च खुल्लै रहने बताइरहँदा यसको बहुपयोगबारे उल्लेख गरेका थिए, “बिहान शारीरिक अभ्यास गर्न सकिनेछ। बालबालिकाका लागि स्वतन्त्र खेल्ने ठाउँ हुनेछ। पाका उमेरका व्यक्तिहरूका लागि टहल्ने, आराम गर्ने र शहरी जीवन नियाल्ने ठाउँ हुनेछ। मर्निङवाकका लागि उपयुक्त मार्ग हुनेछ। युवाहरूलाई खेल प्रशिक्षण गर्ने तथा रमाउने ठाउँ हुनेछ। चौरबाट पश्चिमतर्फको मुख्य द्वारबाट गिटीमाथि स्टोन डस्ट राखेर पार्किङ गर्ने ठाउँ बनाइएको छ। यो ठाउँमा भलिबल, ब्याटमिन्टन जस्ता खेल खेल्न सकिन्छ।”

खुलामञ्चमा गरिएको ग्रेडिङ र लेबलिङले चौरमा पानी नजम्ने, सतहमा पानी पुनर्भरण हुने, चौरका ६ स्थानमा ४ फिटका ब्यास र ४ फिट गहिराइका ‘वाटर रिचार्ज पिट’ बनाइएको मेयर शाहको जिकिर थियो।
उनको प्रस्टीकरणलाई मिहिनसँग हेर्ने–पढ्ने हो भने त्यहाँ ‘स्पोर्टस पार्क’ बन्न लागेको देखिन्छ। खुलामञ्चबारे सामाजिक सञ्जालमा भिडियोसहितको सामग्री पोस्ट गरेको एक हप्तापछि उनले ‘स्पोर्टस पार्क’को उस्तै र अर्को अवधारणा पनि सञ्जालमा पोस्ट गरेका थिए।
अतिक्रमित सार्वजनिक क्षेत्रलाई खुला स्थान निर्माण गरेर सार्वजनिक उपयोगमा ल्याउने उनको घोषणाअन्तर्गत वडा नम्बर १० स्थित धोबीखोला करिडोरमा व्यक्तिगत रूपमा उपभोग गरिएको पार्कलाई ‘भद्रा घले स्पोर्ट्स पार्क’ बनाउने योजना महानगरको छ।
सो पार्कमा खुला व्यायामशाला, फुटसल मैदान, ब्याटमिन्टन कोर्ट, शौचालयसहित सार्वजनिक उपयोग गर्ने भनिएको छ। खासमा यो योजना पहिले खुलामञ्चमा बनाउने भनिएको फुटसलसहितको मैदानसँग मिल्दोजुल्दो छ जुन मेयर शाहकै परिकल्पना थियो।
काठमाडौँ महानगरपालिकाले सबै वडामा खेलकुद पूर्वाधारका काम गर्ने भन्दै ६ करोड ९८ लाख ७० हजार रुपैयाँ विनियोजन पनि गरेको छ। सो रकममध्ये खुलामञ्चमा ९० लाख रुपैयाँ खर्च गरिएको छ। यसको अर्थ खुलामञ्चको सो स्थान पुनः खेलकुद प्रयोजनकै लागि कुनै क्लब वा कम्पनीलाई प्रयोग गर्न दिन सकिने आशंका यथावत् रहेको ‘अकुपाई टुँडिखेल’का अभियन्ता बताउँछन्।

तिनैमध्येका सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ खुलामञ्च खुला नै रहनुपर्छ भनेर हिजोदेखि नै संघर्ष गरिएको, अब पनि त्यही हुनुपर्ने बताउँछन्। यसमा निश्चित प्रयोजन नभई परम्परागत रुपमा हुँदै आएको बहुउपयोगितालाई निरन्तरता दिइनुपर्ने उनको भनाइ छ।
श्रेष्ठका अनुसार रैथाने घाँस र माटोलाई फोहोरको रूपमा हेरेर खुला स्थान सौन्दर्यीकरणको नाममा पार्कको अवधारणा प्रस्तावित हुन थालेको छ जसले यस्ता स्थान निश्चित वर्ग, समुदाय वा उमेरको लागि मात्र बनेको भान गराउन सक्छन्।
“हुन त त्यहाँको रैथाने घाँस मासेर लाखौँको टेन्डर प्रक्रियाबाट दुबो रोपिएको छ, पेटी बनाइएको छ। पेटीको बीचमा विरुवा रोपिएको छ, देख्दाखेरी सुन्दर त देखियो,” श्रेष्ठले भने, “हेर्दा पार्क जस्तो बनाएको छ। त्यो देख्दा फुटबल, ब्याटमिन्टन जस्ता खेल खेल्ने, योग गर्ने, मर्निङवाक गर्ने स्थानका रूपमा मात्र देखिनु भएन। जो कोही मानिसले आफ्नो इच्छाअनुसार बेफिक्री पस्न, बस्न, टहल्न सक्ने खुलामञ्च हुनुपर्छ।”
खुलामञ्च सांस्कृतिक र अन्य उत्सव मनाउने मात्र होइन, कुनैबेला विरोध प्रदर्शन गर्ने ठाउँ पनि थियो। यो बन्द हुँदा माइतीघर मण्डल–नयाँबानेश्वर क्षेत्र अहिले आन्दोलन र प्रदर्शनको केन्द्र हुन पुगेको छ। “पञ्चायतदेखि लोकतन्त्रसम्म आउँदा खुलामञ्च विरोधसभा, शोकसभा अनि प्रजातन्त्रको बिगुल फुकेको स्थान थियो, समर्थन वा विरोध त्यहीँ हुन्थ्यो,” श्रेष्ठ भन्छन्, “पछिल्ला दशकमा विरोध र विद्रोह गर्ने स्थान नहुँदा देशको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका विभिन्न अंगमा समयक्रममा आक्रमण र क्षति पुग्न गएको छ। पछिल्लो (जेन–जी) आन्दोलनमा मानवीय क्षति नै भयो, धेरै किशोरकिशोरीले ज्यान गुमाए।”
राजनीतिक इतिहास बोकेको खुलामञ्चमा त्योसँगै घाम ताप्ने, बदाम खाने, खेलकुद, मनोरञ्जन वा सिर्जनशील साहित्यकारले कथा–कविता वाचन गर्न सक्ने परिवेश पनि पुनर्स्थापना हुनुपर्ने उनको भनाइ छ। स्थानीय समुदायको अग्रसरतामा स्थानीय सरकार व्यवस्थापन र संरक्षणमा चुस्त हुनुपर्ने, कसैले फोहोर गरेकै कारण निश्चित प्रयोजनका लागि मात्र तोक्न नमिल्ने उनले बताए।

लेखक तथा पत्रकार दामोदार न्यौपाने पनि खुलामञ्चको सरसफाइका लागि महानगरबाटै कर्मचारी खटाउन सकिने अथवा नागरिकमै फोहोर व्यवस्थापनको संस्कृति विकास गर्न सचेतनामा काम गर्न सकिने बताउँछन्। “संरक्षणको नाममा ताल्चा, बार लगाउनेगरी यसलाई निश्चित प्रयोजनमा सीमित गरिनुहुन्न,” न्यौपाने भन्छन्, “रैथाने घाँससम्म जोगाउन सकिएन भने त्यसमा ठूलो आपत्ति नहोला। तर खुलामञ्च हरेक व्यक्तिले आफ्नो महसुस गर्न सक्ने हुनुपर्छ। यसको यो विशेषता मारेर सीमित व्यक्तिको बनाउनु हुन्न। खुलामञ्च खुला सोचसहितको हुनुपर्छ।”
खुलामञ्च अहिले काठमाडौँ महानगरपालिका वडा नम्बर २३ मा पर्छ। यो वडाका अध्यक्ष मचाराज महर्जन खुलामञ्चबारे छलफल हुनै बाँकी रहेको बताउँछन्। खुलामञ्चको पहुँच र प्रयोजन कस्तो हुने भन्नेबारे मेयर शाहसँग कुराकानी हुनै बाँकी रहेको उल्लेख गर्दै उनले भने, “खुलामञ्चको आफ्नै इतिहास र महत्त्व छ। यसलाई मध्यनजर गरेर मात्र निर्णय लिनुपर्छ।”
सैनिकमञ्च र लैनचौरकै हविगत हुने चिन्ता
खुलामञ्चसँगै जोडिएको छ सैनिकमञ्च। खुलामञ्च र सैनिकमञ्चको कित्ता एउटै हो– कित्ता नम्बर ८६३। समग्रमा यो टुँडिखेलका रूपमा पनि चिनिन्छ। तर यी दुईको अस्तित्व भने फरक छ। एउटामा विभिन्न राष्ट्रिय पर्वहरूमा औपचारिक कार्यक्रम हुन्छन्। त्यस्तै, सेनाले सैनिक दिवसलगायतका परेड र तिनको तयारी गर्छ। यो ठाउँ सेनाको निगरानीमा हुन्छ। खुलामञ्च भने आममानिसले आफ्ना आवाज बुलन्द गर्न जन्माएको ठाउँ हो।

खुलामञ्च होस् या सैनिकमञ्च, सिंगो टुँडिखेल सार्वजनिक जग्गा हो अर्थात् सार्वजनिक उपभोग हुँदै आएको। यहाँका स्थानीयसमेत रहेका पूर्वमन्त्री भीमसेनदास प्रधान २०१७–२०१८ सालतिर राजा महेन्द्रले सैनिकमञ्च बनाएको बताउँछन्। “महेन्द्रले ‘कु’ गरेपछि यहाँ सैनिकमञ्च स्थापना भएको हो। त्यहाँ त्यतिबेला राजाको कार्यक्रम, सम्बोधन मात्र हुन्थ्यो। अहिले त्यसलाई सेनाले उपभोग गरिरहेको छ,” उनले भने।
टुँडिखेललाई नेपाल भाषामा तिंख्यः (ठूलो मैदान) भनिन्थ्यो। “२०१८ सालमा दशरथ रंगशाला बनेसँगै टुँडिखेलको खण्डीकरण नै शुरू भयो। सैनिकमञ्चपछि, रत्नपार्क, रानीपोखरी हुँदै टुँडिखेल टुक्रियो,” प्रधान सम्झन्छन्।
रानीपोखरीदेखिको दशरथ रंगशालासम्म एकै स्वरूपमा रहेको तिंख्यः २०१८–२०१९ सालमा महेन्द्रकै इच्छामा चारैतिर सिमेन्टको पोल राखिएपछि पहिलोपटक खुम्चिन शुरू गरेको थियो। प्रधानका अनुसार संरचनामा मानिसहरू ती पोल फुटाएरै पनि टुँडिखेल छिर्नेगरेका थिए। पछि, राजा वीरेन्द्रको पालामा सिमेन्टका पोल हटाएर फलामे पोल राखिएको थियो।
खुलामञ्चको मञ्च पनि महेन्द्रले नै बनाउन लगाएको उल्लेख गर्दै प्रधानले थपे, “पञ्चायतकाल ‘वाचफुल’ समय भए पनि कुनै किसिमको कार्यक्रम गर्न मिलोस् भनेर सो मञ्च महेन्द्रले नै बनाउन लगाएका थिए। पछि, बहुदल आएपछि त्यसको प्रयोग धेरै भयो।”
उनका अनुसार पीएल सिंह काठमाडौँको मेयर हुँदा खुलामञ्चमा स–साना खुद्रा पसल थिए। पछि ती पसल भृकुटीमण्डपमा सरे। सिंहपछि केशव स्थापित, विद्यासुन्दर शाक्य हुँदै बालेन शाहसम्म आइपुग्दा जनप्रतिनिधि फेरिएपिच्छे खुलामञ्चमा पटक–पटक व्यावसायिक प्रयोजनको जोडबल हुनु बिडम्बना भएको प्रधान बताउँछन्।
तिंख्यः कै भाग मानिने लैनचौर पनि कुनैबेला खुला थियो। अहिले त्यहाँ विशुद्ध खेलकुद प्रयोजनका लागि खुला क्षेत्र मासिएको छ। लैनचौरको प्राकृतिकपन नै मासिएर अहिले अहिले खेलकुद मैदान र पार्क बनेको छ। लैनचौरको यस्तो नियतिबाट खुलामञ्चलाई जोगाउनुपर्ने उल्लेख गर्दै प्रधान भन्छन्, “महानगर प्रमुखले खुलामञ्च खुल्लै हुने भन्नुभएको छ, अब कथनी र करनी फरक नदेखियोस्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
