एमाले निर्वाचन

दुवै समूहले सूचि वितरण गर्दा मतदानको समय लम्बिँदै, प्रत्येक १ घन्टामा १०० मात्रै मतदान

मतदाताहरू लाइनमा लाग्दा लाग्दा थाकिएको बताउँछन्। यही गतिमा मतदान हुँदा भोलि बिहान ८ बजेसम्म मात्रै मतदान सकिने आकलन गरिएको छ।

काठमाडौँ– नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत मतदान भइरहेको छ।

साढे ४ बजेसम्म ७२० मत मात्रै खसेको निर्वाचन प्राविधिक लक्ष्मण रिमालले जानकारी दिए। भोटिङ मेसिन मार्फत निर्वाचन गराइरहेका प्राविधिकले एकै व्यक्तिलाई ४५ देखि ५० मिनेट लागिरहेको बताए।

आज बिहान साढे ९ बजेदेखि मतदान शुरू भएको हो। अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलले एकसाथ मतदान गरेपछि प्रक्रिया शुरू भएको थियो। औषतमा एक घन्टाको अवधिमा एक सय मत मात्रै खसिरहेको छ।

मतदाताहरू लाइनमा लाग्दा लाग्दा थाकिएको बताउँछन्। यही गतिमा मतदान हुँदा भोलि बिहान ८ बजेसम्म मात्रै मतदान सकिने आकलन गरिएको छ।

८० वटा भोटिङ मेशिनबाट मतदान भइरहेको भए पनि दुवै समूहले उम्मेदवारको लिस्ट हेर्दै मतदान गर्दा समय धेरै लागेको प्राविधिक टोलीको भनाइ छ।

"दुवै समूहले उम्मेदवारको लिस्ट बाँडेका छन्। मतदाताले त्यो हेर्दै रुजु गर्दै मतदान गरिरहेकाले समय लागेको हो," प्राविधिक टिमका एक सदस्यले भने,"आफ्नो हिसाबले सिधै मत हाल्न पाएको भए यति धेरै समय लाग्ने थिएन।"

ती प्राविधिकका अनुसार आफूहरूको अनुमान एकजना व्यक्तिलाई २५ मिनेट लाग्ने रहे पनि उम्मेदवारको सूचि बाँडेर त्यही हेर्दै मतदान गर्न थालेपछि ढिलाइ हुन पुगेको हो।

नेकपा एमालेको ११औँ महाधिवेशनमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र दुई वटा आयोगका सदस्यसहित ३५१ निर्वाचित हुनेछन्। २ हजार २६३ मतदाताले नयाँ नेतृत्व चयन गर्नेछन्।