भारतको आसाममा रेलको ठक्करबाट ७ हात्तीको मृत्यु

वरिष्ठ प्रहरी अधिकारी राकेश रेड्डीका अनुसार रेलको ठक्करबाट सात वटा हात्तीको घटनास्थलमै मृत्यु भएको छ भने एउटा हात्ती घाइते भएको छ।

उत्तरपूर्वी भारतमा एउटा यात्रुवाहक रेल हात्तीको बथानसँग ठोक्किँदा सात वटा हात्तीको घटनास्थलमै मृत्यु भएको छ। यो दुर्घटना आसाम राज्यमा भएको हो।

भारतका करिब २२ हजार जंगली हात्तीमध्ये चार हजारभन्दा बढी आसाममा रहेका छन्। मिजोरामबाट नयाँ दिल्लीतर्फ गइरहेको उक्त रेलका पाँच वटा डिब्बा दुर्घटनापछि लिकबाट बाहिरिए पनि कुनै पनि यात्रु घाइते नभएको अधिकारीहरूले शनिबार बताएका छन्।

वरिष्ठ प्रहरी अधिकारी राकेश रेड्डीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले सात वटा हात्तीको घटनास्थलमै मृत्यु भएको र एउटा हात्ती घाइते भएको जनाएको छ। भारतीय रेल्वेका प्रवक्ता कपिन्जाल किशोर शर्माका अनुसार हात्तीका लागि सुरक्षित मानिएका 'करिडोर'हरूमा गति नियन्त्रण प्रणाली लागू गरिएको छ। तर यो दुर्घटना करिडोर क्षेत्रभन्दा बाहिर भएको हो।

“रेल चालकले हात्तीको बथान देख्ने बित्तिकै आपत्कालीन ब्रेक लगाएका थिए, तर हात्तीहरू रेलसँग ठोकिन पुग्दा यो दुखद दुर्घटना हुन गयो,” शर्माले भने।

पछिल्लो समय वन विनाश र वासस्थान नजिकै बढ्दो निर्माण गतिविधिले हात्तीहरू आहाराको खोजीमा टाढा–टाढा जान बाध्य बनेका छन्। जसका कारण मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको विज्ञहरू बताउँछन्। संसदीय तथ्यांकअनुसार सन् २०२३–२०२४ मा भारतमा हात्तीको आक्रमणबाट ६२९ जनाको मृत्यु भएको थियो।