भ्रष्टाचार मुद्दामा इमरान खान र उनकी पत्नीलाई १७ वर्ष जेल सजाय

एफआईएको विशेष अदालतले शनिबार पूर्वप्रधानमन्त्री एवं पीटीआईका संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ।

संघीय अनुसन्धान एजेन्सी (एफआईए)को विशेष अदालतले शनिबार पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ।

अदालतको आदेशको प्रतिलिपिबाट उद्धृत गर्दै डनले रिपोर्ट गरेअनुसार इमरान र बुशरा दुवैलाई जनही १ करोड ६४ लाख रुपैयाँ जरिबानासमेत गरिएको छ। कानूनअनुसार जरिबाना तिर्न असफल भएमा उनीहरूले थप कैद सजाय भुक्तान गर्नुपर्नेछ। रावलपिन्डीको अडियाला जेलमा भएको सुनुवाइपछि विशेष न्यायाधीश शाहरुख अर्जुमन्दले उक्त फैसला सुनाएका हुन्।

इमरान खानलाई पाकिस्तान दण्ड संहिताको धारा ३४ (साझा मनसाय) र ४०९ (आपराधिक विश्वासघात)अन्तर्गत १० वर्षको सश्रम कारावास तथा भ्रष्टाचार निवारण ऐनको धारा ५(२) अन्तर्गत सात वर्षको गरी कुल १७ वर्षको सजाय तोकिएको हो। उनकी पत्नी बुशरा बीबीलाई पनि सोही प्रावधानअनुसार १७ वर्षकै सजाय सुनाइएको छ।

इमरान र बुशरा बीबीले आफूमाथि लागेका सबै आरोपहरू अस्वीकार गर्दै यसलाई 'राजनीतिक प्रतिशोध'को संज्ञा दिएका छन्। उनले आफूलाई राजनीतिबाट अयोग्य ठहर्‍याउनका लागि मनगढन्ते मुद्दा चलाइएको दाबी गरे।

पाकिस्तानी सञ्चारमाध्यम 'डन'का अनुसार, खानले आफूले सरकारी नीति र उचित प्रक्रियाको पालना गरेको बताउँदै प्रधानमन्त्री कार्यालयको प्रोटोकल अनुसार नै सबै मूल्याङ्कन र भुक्तानी राष्ट्रिय कोषमा जम्मा गरिएको जिकिर गरेका छन्।