सीमा विवाद: कम्बोडियामा १९ जनाको मृत्यु, लाखौँ विस्थापित

थाइल्यान्डसँगको सीमा विवादका कारण बढ्दो सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कम्बोडियाका पाँच लाख १० हजारभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन्।

थाइल्यान्डसँगको सीमा विवाद १५औँ दिनमा प्रवेश गर्दा कम्बोडियामा एक शिशुसहित १९ जनाको मृत्यु भएको छ। गत ७ डिसेम्बरदेखि पुनः चर्किएको सीमा विवादका कारण हालसम्म ७९ जना नागरिक घाइते भएका छन्।

कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार सीमा क्षेत्रमा दुवै पक्षबीच भइरहेको झडपले ठूलो मानवीय क्षति निम्त्याएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै हालसम्म करिब पाँच लाख १० हजारभन्दा बढी मानिस सुरक्षित स्थानतर्फ विस्थापित भएका छन्।

कम्बोडियाको आन्तरिक मन्त्रालयले विस्थापितको व्यवस्थापन र राहत कार्यलाई तीव्रता दिएको जनाएको छ। विवाद सुल्झाउन कूटनीतिक प्रयास भए पनि सीमा क्षेत्रमा तनाव अझै कम हुन सकेको छैन। विवाद नसुल्झिँदा सीमा क्षेत्रका सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनेको छ।