नेप्से परिसूचक दोहोरो अंकले घट्यो, साढे ४ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५.१० को बिन्दुमा कायम भएको हो।

काठमाडौँ– साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आइतबार नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५.१० को बिन्दुमा कायम भएको हो।

यस दिनको कारोबारमा २०७ वटा कम्पनीको शेयर मूल्य घट्दा ४३ वटाको बढेको छ भने ७ वटा कम्पनीको मूल्य स्थिर रहेको छ। 

नेप्सेका अनुसार ३४५ कम्पनीको १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर ७० हजार ५७६ पटक खरिदबिक्री हुँदा ४ अर्ब ५२ करोड ८७ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बिहीबार ४ अर्ब ५ करोड ३७ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

यस दिन म्युचुअल फन्ड समूहको उपसूचक ०.१९ प्रतिशतले बढे पनि अन्य सबै उपसूचकहरू ओरालो लागेका छन्। सबैभन्दा बढी गिरावट होटल तथा पर्यटन समूहमा १.६३ प्रतिशत र जीवन बीमा समूहमा १.५२ प्रतिशत देखिएको छ।

आजको कारोबारमा एसवाई प्यानलको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सिन्धु विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। 

कारोबार रकमका आधारमा स्वस्तिक लघुवित्त अग्रस्थानमा रह्यो। यो कम्पनीको एक करोड ३०५ लाख २८ हजार ७२८ रुपैयाँ बराबरको शेयर किनबेच भयो। शेयर संख्याका आधारमा शिवश्री हाइड्रो पावरको सबैभन्दा बढी ४ लाख ८३ हजार ५९३ कित्ता शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ।