दुई रेष्टुरेन्टलाई ५० हजारको दरले जरिबाना

विभागले अन्य १४ वटा फर्मको अनुगमन गरी, निर्देशनात्मक कारबाही गरेको छ।

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग तथा फर्मलाई ५० हजार रुपैयाँको दरले जरिबाना गरेको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उत्पादकले प्रत्येक वस्तुको कारखाना मूल्य तथा बिक्रेताले बिक्री वितरण गर्ने प्रत्येक वस्तुको थोक वा खुद्रा मूल्यसूची राख्नुपर्ने व्यवस्था छ। उद्योग दर्ताको प्रमाणपत्र तथा व्यवसायको हकमा व्यवसाय दर्ता, इजाजतपत्र बिक्रीस्थलमा सर्वसाधारणले देख्ने गरी राख्नुपर्ने व्यवस्था छ।

सोही व्यवस्था पालना नगरेको भन्दै विभागले प्रिया स्वीट एन्ड चाट हाउस काठमाडौँ महानगरपालिका–३ महाराजगन्ज र आई क्याफे रेष्टुरेन्ट एन्ड बार टोखालाई ५० हजार रुपैयाँको दरले जरिबाना गरेको हो।

त्यसैगरी विभागले अन्य १४ वटा फर्मको अनुगमन गरी, निर्देशनात्मक कारबाही गरेको छ। विभागले पछिल्ला दिनमा बजार अनुमगनलाई तीव्र पारेको छ। बजारलाई स्वच्छ बनाउन, कालोबजारीको नियन्त्रण गर्न तथा अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउन क्रियाशील भएको जनाएको छ।