राज्यविरुद्धको कसुरमा ३५ वर्षदेखि थुनामा रहेका शबहादुर गुरुङको कारागारभित्रै निधन भएको छ। विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुँदाहुँदै पनि उपचार नपाउँदा उनको निधन भएको जनाइएको छ।
काठमाडौँ– भुटानमा राज्यविरुद्धको कसुरमा ३५ वर्षदेखि थुनामा रहेका ६५ वर्षीय राजबन्दी शबहादुर गुरुङको चामगाङ केन्द्रीय कारागारभित्र निधन भएको खबर यो साता पूर्वी नेपालका भुटानी शरणार्थी शिविरमा भुसको आगोजस्तै फैलियो।
चामगाङ केन्द्रीय कारागारमा वर्षौंसम्म थुनिएर पछि नेपाल आइपुगेका केही शरणार्थी तथा पूर्वराजबन्दीहरूले उक्त खबरको पुष्टि गर्न खोजिरहेका बेला, भुटानका राजनीतिक बन्दीहरूको रिहाइका लागि गठित अभियानले गुरुङको मृत्यु डिसेम्बर १५ (मंसिर २९) मा भएको प्रमाण सार्वजनिक गरेको छ।
नेदरल्यान्ड्सको द हेगमा मुख्यालय रहेको अभियानका अनुसार, गुरुङको कारागारभित्रको आफ्नै कक्षमा निधन भएको हो। गम्भीर मानसिक र शारीरिक आघात, लामो एकान्त कारावास तथा स्वास्थ्य समस्याबाट पीडित हुँदाहुँदै पनि उपचार नपाउँदा उनको निधन भएको जनाइएको छ।
तर, निधनबारे भुटानी प्रहरी–प्रशासन तथा सरकारले कुनै औपचारिक स्पष्टीकरण, मेडिकल रिपोर्ट वा पोस्टमार्टम नगरी डिसेम्बर १७ (भुटानको राष्ट्रिय दिवस) का दिन उनका परिवारलाई शव बुझाइएको थियो।
चामगाङ तथा राबुना र साम्द्रुप जोङखर कारागारमा रहेका ३१ कैदीबन्दीमध्ये गुरुङ सन् १९९० देखि थुनामा थिए। रोयल भुटान आर्मीमा कार्यरत रहेकै बेला भुटानमा राजनीतिक गतिविधि सञ्चालनमा सहयोगी रहेको आरोपसहित राबुनामा आजीवन कारावासमा पठाइएको थियो। उनलाई अन्तर्राष्ट्रिय रेडक्रस आईसीआरसीले राजबन्दीका रूपमा सूचिकृत गरेको थियो।
“शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएको तथा भुटानी राज्य संयन्त्रविरुद्ध गतिविधि चलाएको आरोपमा पक्राउ गर्दै आजीवन कारावासको सजाय भोगिरहेका गुरुङको निधन भएको खबरले फेरि पनि भुटानले बाहिरी विश्वमा देखाएको लोकतन्त्र, सुशासन र मानव अधिकारप्रतिको दृढ प्रतिबद्धतालाई नंग्याउने काम गरेको छ,” अभियानका संयोजक राम कार्कीले द हेगबाट भने।
गुरुङको निधनलाई रहस्यमय भन्दै कार्कीले ‘मानव अधिकार, सुशासन र लोकतन्त्रको दुहाइ दिने भुटानले यो गम्भीर प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्ने’ आवाजसमेत उठाएका छन्। यो मामला अनुसन्धानका लागि ह्युमन राइट वाच तथा एम्नेस्टी इन्टरनेसनललाई औपचारिक आग्रह गरिएको जनाइएको छ।
भुटानमा चिराङ मुल घर भएका शबहादुरका परिवार र आफन्त अमेरिकासहित विभिन्न मुलुकमा पुर्नबसोबासमा गइसकेका छन्। उनलाई लामो समय थुनामा राखिएको राबुना कारागारमा रेडक्रससहित कुनै पनि अधिकारवादी संस्था वा व्यक्तिको निगरानीमा बन्देज लगाइएको थियो। सन् १९९० यता थुनामा रहेका राजबन्दीहरू किन्ले पेन्जोर, किन्ले ग्याल्त्सेन, रामलाल रावत, विष्णु राई, मधुलाल बुढाथोकी, एमबी भुजेल, लोकबहादुर घले, कुमार राई र प्रेम राई अझै पनि वाङ्दी फोड्राङ जिल्लास्थित राबुना कारगारमै छन्। सैन्य सेवाअन्तर्गत रहेका वा जघन्य आरोपको अभियोग परेका कैदीबन्दीलाई भने रबुना सैन्य नियन्त्रित कारागारमा राख्ने गरिएको छ।
यस्तै, चामगाङ कारागारमा सन् १९९२ देखि गंगाराम ढकाल, भक्तबहादुर राई (१९९३), मणिकुमार प्रधान (१९९९), प्रकाश मोंगर (१९९९), रिन्जिन वांदी (१९९९), हर्कबहादुर गुरुङ (१९९९), डम्बरसिंह पुलामी (२००१), कुमार गौतम (२००८), हस्तबहादुर राई (२००८), सुकमान मोंगर (२००८), बिर्खबहादुर बस्नेत क्षेत्री (२००८) र भीमबहादुर राई (२०१०) राजबन्दीका रूपमा थुनामा छन्।
यसैगरी, सन् २००८ मा आजीवन कारावासको सजायसहित थुना पर्ने राजबन्दीहरूमा नन्दलाल बस्नेत, ओमनाथ अधिकारी, खगेन्द्र खनाल, आइतराज राई, सनमान गुरुङ, चतुरमान तामाङ, चन्द्रराज राई र गोविन्द निरौलासमेत छन्। राजबन्दीमध्ये सन् २००८ मा पक्राउ परेका भुटानभित्रै बसोबास हुने योगीप्रसाद सुब्बालाई भने गत वर्ष रिहा गरिएको थियो। यीबाहेक अधिकांश अरू राजबन्दीका आफन्त भने झापा, बेलडाँगी वा मोरङ, पथरी–शनिश्चरेको शरणार्थी शिविरमा बसिरहेकै छन्।
“राबुना कारागारमा छँदै शबहादुर गुरुङको स्वास्थ्य स्थितिमा समस्या आएपछि एक वर्षअघि (२०२५ जनवरी) मात्रै उनलाई चामगाङमा कारागार स्थानान्तरण गरिएको सूचना छ। अस्वस्थ भए पनि कुनै प्रकारको चिकित्सकीय निगरानी वा अस्पतालमा नलगिएको र एकान्तिक कोठामा थुनामा राखिएको जानकारी छ,” कार्की भन्छन्, “गत डिसेम्बर १५ को बिहान गुरुङलाई आफ्नै कोठाभित्र बेहोस अवस्थामा पाइएको र ढिलो गरेर थिम्पु अस्पताल लगिएपछि मात्रै उनको मृत्यु घोषणा गरिएको रहेछ।”

भुटानभित्र कुनै प्रकारका कैदीबन्दी तथा राजनीतिक बन्दी नरहेको स्वघोषणासहित अन्तर्राष्ट्रिय मञ्चमा सुशासन, मानव अधिकार र लोकतन्त्रको दुहाइ दिने भुटानले ‘ग्रस नेसनल ह्यापिनेस’ (ह्यापिनेस इन्डेक्स)को पक्षमा बहस पैरवी गर्दै आएको छ। तर, आईसीआरसीसहितले सूचिकृत र प्रमाणित गरिसकेका राजबन्दीलाई समेत ‘आपराधिक गतिविधि’मा संलग्न भन्दै अर्को निर्लज्ज व्यवहार देखाउँदै आएको प्रतिक्रिया भुटानी शरणार्थी प्रतिनिधि तथा मानव अधिकार अभियन्ता डा. डीएनएस ढकालको छ।
“लोकतन्त्र र मानव अधिकारको चर्को दुहाइ दिने भुटान आफैले अन्वेषण गरेको ग्रस नेसनल ह्यापिनेसको ब्रान्डलाई अन्तर्राष्ट्रिय मञ्चमा देखाउने दाँतसरह मात्रै बनाएको छ,” ढकाल भन्छन्, “आज भुटानका जेलभित्र रहेका राजबन्दीको हविगत र मानव अधिकारको न्यूनतम सेवा सर्तसमेत नस्विकार्दै ज्यान गुमाउन बाध्य बनाइएका शबहादुर गुरुङजस्ता बन्दीको नामले पनि भुटान अझै अपारदर्शी र आपराधिक बन्दै गएको देखिन्छ।”
गेलेफु–भिडियो बनाउँदा २४ वर्ष जेल
विगतमा नेपालीभाषी भुटानी (ल्होत्साम्पा) बसोबासको केन्द्रमा रहेको दक्षिणी भुटानको गेलेफुमा निर्माणाधीन प्रशासकीय संरचना ‘गेलेफु माइन्डफुलनेस सिटी (जीएमसी)’को आज भुटानमा भन्दा बढी बाहिर चर्चा छ। १ लाखभन्दा बढी ल्होत्साम्पालाई देशनिकाला गरेर उनीहरूको जमिन हडप्दै त्यही माटोमा उभिँदै गरेको जीएमसीमा एक नेपालीभाषी भ्लगर तथा भुटानी माथिल्लो सदनका पूर्व उम्मेदवार थिए— रघुपति सुवेदी (रंगुपाटी सुवेरी)।
दक्षिणी भुटानमा सामाजिक अभियन्ता तथा सार्वजनिक सरोकारका मुद्दालाई भिडियो, टिकटक, ब्लग बनाएर उठाइरहने सुवेदीलाई गत मार्चको शुरूआतमा २४ बर्से जेल सजाय तोकिएको सूचना ढिलो गरी बाहिर आएको छ। जेल सजाय दिइनाको एउटै कारण हो, सुवेदीले बनाएको गेलेफु माइन्डफुलनेस सिटी बारेको एउटा अर्थपूर्ण भिडियो।
सुवेदीले ‘गेलेफुको योजना सफल होला–नहोला, तर गेलेफुमा मेयर चैँ म नै बन्नुपर्ला जस्तो छ’ भन्दै भिडियो बनाएर फेसबुकमा पोस्ट गरेका थिए। उक्त पोस्टका कारण सुवेदीमा पनि राज्यद्रोहको छनक पाइएको भन्दै भुटान सरकारले न्यायिक पारदर्शिताबिना नै २४ वर्ष जेल सजाय सुनाएको हो। सामाजिक सञ्जालमा आएको भिडियो सन्देशकै आधारमा गम्भीर आपराधिक कर्मको सजायझैँ दिलाइएको जेल सजायबारे अधिकारकर्मीले खुलेर विरोध गर्न थालेका छन्।
“भुटानमा रघुपतिलाई थुनाको सजाय भएको समाचार पनि ढिलो गरी जानकारीमा आयो,” शरणार्थी अधिकारकर्मी तथा ‘पर्दापछाडिको भुटान’ पुस्तकका लेखक बलराम पौडेल भन्छन्, “भुटानी शासकले आफ्नो अत्याचार ढाकछोप गर्ने नाममा विगतभन्दा ठूलो र अत्यासलाग्दो गतिविधि गर्न थालेको देखिन्छ।”
सुवेदीको गैरन्यायिक थुनाबारे आवाज उठेपछि कतिपयले भने सामाजिक सञ्जालमा ‘उनी भुटान–भारतको सीमा वारपार गतिविधिमा रहेको र केही व्यापारिक असफलता तथा ऋणपानमा फसेकाले विचलित अवस्थामा रहेको’ एकतर्फी व्याख्या पनि गरिरहेका छन्। उनलाई कहाँ, कुन कारागारमा राखिएको छ भन्ने पनि खुलाइएको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
