पुर्नबसोबास टुंगिएपछि पनि संयुक्त प्रमाणीकरण टोलीले ४२९ जनालाई शरणार्थी परिचय दिने तथा अद्यावधिक गर्ने निर्णय गरेको थियो। तर, त्यो अवस्थाका शरणार्थी पनि अझै परिचयपत्रविहीन छन्।
दमक– नक्कली शरणार्थीको मुद्दा शुरू भएलगत्तै २०८० वैशाखदेखि भुटानी शरणार्थीलाई दिन बन्द गरिएको ‘ट्राभल–डकुमेन्ट’, ‘एक्जिट–पर्मिट’ सहितको कागजी प्रक्रिया खुला गरिएको छ। साथै, शरणार्थीको जन्म–मृत्युदर्ता पनि खुला भएको छ।
बेलडाँगीस्थित बस्ती व्यवस्थापन समितिका सचिव सन्चहाङ सुब्बाले अवरुद्ध रहेका केही कागजी प्रक्रिया खुला भएको बताए। तर विवाह दर्तासहितका मामलामा भने कुनै निर्णय नआएको उनी बताउँछन्। “बालबच्चाको जन्मदर्ता पनि आमाबाबु दुवै हुनैपर्ने भन्दै सर्त राखिएको छ,” सुब्बाले भने, “बाबु वा आमा तेस्रो मुलुक गइसकेको स्थितिमा वा अरू कारणले हाजिर हुन नसकेको अवस्थामा दर्ता प्रक्रिया रोकिन सक्ने स्थिति छ। यात्रा अनुमतीपत्र दिने भनिए पनि विवाहदर्ता नखुलेको अवस्थामा यसअघि शिविरभित्र दर्ताछुट भएका श्रीमान्–श्रीमतीकै सम्बन्धबिच्छेद हुने अवस्था छ।”
शिविरमा रहेकामध्ये केही बालबालिका जसको बाबु भुटानी हुन्, तर बच्चा नाबालक छँदै आमाबाबुको सम्बन्धबिच्छेद भएको अवस्थामा वा कोही तेस्रो देश गइसकेको अवस्थामा त्यस्ता बालबच्चा पञ्जीकरण (दर्ता प्रक्रियामा)मा छुटेको उनी बताउँछन्। “बाबु भुटानी शरणार्थी र आमा भारतीय/नेपाली भएको तर उक्त देशको परिचय खुल्ने कागजात नभएको हुँदा त्यस्ता बालबच्चासमेत दर्ताहीन छन्,” सचिव सुब्बाले भने।
शरणार्थी परिचयपत्र पनि २०७९ सालमा ‘एक्सपायर्ड’ भएको कार्ड मात्रै नवीकरण गर्ने सहमति आएकाले त्यसअघि वा पछिको म्याद लिएर आएका परिचयपत्र के गर्ने भन्नेबारे पनि गृह मन्त्रालयबाट निर्देश जरुरी रहेको उनी बताउँछन्।
भुटानी शरणार्थी समस्या समाधानको स्थायी र दीर्घकालीन समाधान पहिल्याउन २०७६ सालमा गठित कार्यदलको प्रतिवेदन गृह मन्त्रालयमा बुझाउने प्रक्रियालगत्तै शुरू भएको नक्कली शरणार्थी निर्माता गिरोहले यो प्रतिवेदनमा कृत्रिम ८७५ वटा नाम थपेर विग्रह शुरू गरेको थियो। प्रतिवेदनमा आफूखुशी ‘दर्ता छुट’ र ‘तेस्रो देश पुर्नबसोबासमा जान चाहने’ भन्दै नक्कली शरणार्थीको नाम दर्ता गरिएको थियो।
नक्कली शरणार्थी निर्मातामाथि अनुसन्धान र पक्राउ क्रम शुरू भएलगत्तै २०८० वैशाखदेखि झापा (बेलडाँगी) र मोरङ (पथरी–शनिश्चरे)मा रहेका ६ हजार ५०० शरणार्थीको पनि जन्म–मृत्यु दर्तासहित ट्राभल डकुमेन्ट, एक्जिट पर्मिटका सम्पूर्ण कानूनी प्रक्रिया रोक्का गर्दै आएको थियो।
यो पनि: क्यानडा जाने भिसा–प्रक्रिया टुंगियो, गृहले ‘एक्जिट पर्मिट’ दिँदैन
नक्कलीका नाममा सक्कली शरणार्थीले पाइरहेको कठिनाइबारे जानकार भएरै पहिलो चरणमा यात्रा अनुमतीपत्र सहितको प्रावधान सहजीकरण गरिएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयमा शरणार्थी मामलासमेत हेर्ने स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाका प्रमुख आनन्द काफ्लेका अनुसार, पारिवारिक पुर्नमिलनमा जाने वा स्पोन्सरसिप भिसाको पहल गरेर लामो समयदेखि अड्किरहेका भुटानी शरणार्थीले यो सुविधा पाउन सक्नेछन्।
“झन्डै तीन वर्षयता अवरुद्ध भएको प्रक्रिया खुला गरेका हौँ,” मन्त्रालयका प्रवक्तासमेत रहेका काफ्ले भन्छन्, “अरू जटिल समस्या र प्रक्रियालाई कसरी थप सहजीकरण गर्न सकिएला भनेर जिल्लामा प्रशासन अधिकारीलाई निर्देशन दिएका छौँ।”
विवाहदर्ता खुला नगरेर संख्या र अनुपातमा खासै ठूलो असर नपर्ने सुझाव अनुसार विवाहदर्ता नखुलाइएको उनको भनाइ छ। शरणार्थी बस्ती व्यवस्थापन समितिको कार्यालयका अनुसार, पुर्नबसोबासमा गइसकेका आफन्तको स्पोन्सरसिपमा पारिवारिक पुर्नमिलनमा जान चाहने शरणार्थीको संख्या नै १ हजारभन्दा बढी भइसकेको छ।
यो पनि: शरणार्थी: नक्कलीका नाममा सक्कलीको कन्तबिजोग
नेपालबाट १ लाख १३ हजार ३०७ जना शरणार्थी अमेरिका, बेलायत, अस्ट्रेलियासहित आठ मुलुकमा पुर्नबसोबासमा गइसकेपछि २०७४ पुसयता राष्टसंघीय शरणार्थी आयोग, आप्रवासन संगठन, खाद्य संगठन, अन्तर्राष्टिय रेडक्रसलगायत कुनै पनि निकाय शरणार्थी शिविरको सेवा–समन्वयमा जुटेका छैनन्।
पुर्नबसोबास टुंगिएपछि पनि २०७५ सालमा नेपाल सरकार र शरणार्थी आयोगको संयुक्त प्रमाणीकरण टोली (जेभीटी)ले शिविरमा रहेकामध्ये ४२९ जनालाई शरणार्थी परिचय दिने तथा यो प्रमाण अद्यावधिक गर्ने भन्ने निर्णय गरेको थियो। तर, त्यो जेभीटी प्रमाणित अवस्थाका शरणार्थी पनि अझै परिचयपत्रविहीन छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
