कथा वाचनशैलीबारे चर्चा र आलोचना जे-जस्तो भए पनि ‘अवतार’ प्राविधिक पाटोमा अब्बल छ। १६ वर्षअघि फिल्ममा सीजीआई र थ्रिडी प्रविधि अभ्यस्त गराएका निर्देशकले एआई युगमा यसको प्रयोग भने अस्वीकार गरेका छन्।
साइन्स फिक्सन फिल्म ‘अवतार’को तेस्रो श्रृंखला ‘अवतार: फायर एन्ड एस’ गत डिसेम्बर १९ (पुस ४ गते) देखि विश्वव्यापी प्रदर्शनमा आएको छ। नेपालमा मात्रै यसको ७० लाख रुपैयाँ बराबरको अग्रिम बुकिङ भएको थियो। प्रदर्शनको दोस्रो साता चलिरहँदा फिल्मले विश्वभरबाट ४५० मिलियन डलर संकलन गरिसकेको छ। यससँगै अवतार इतिहासमै सर्वाधिक कमाइ गर्ने ‘ट्रिलजी’ (तीन श्रृंखला) फिल्म बन्न सफल भएको छ। यसअघि ‘स्टार वार्स’ले राखेको कीर्तिमानलाई समेत यसले उछिनेको हो।
त्यसो त, फिल्मको कथावस्तु निकै सरल छ। ‘पान्डोरा’ नामक पृथ्वीजस्तै एउटा ग्रह छ, जहाँ ‘नाभी’ समुदायका आदिवासी बस्छन्। पान्डोरामा पनि पृथ्वीमा जस्तै प्रचुर प्राकृतिक स्रोत छन्। पृथ्वीमा प्राकृतिक स्रोतको विनाश हुन थालेपछि मानव जातिको आँखा पान्डोरामा परेको हुन्छ। यहाँ ‘अनअप्टेनियम’ नामक अमूल्य खनिजको खानी छ। यसलाई पृथ्वीका केही पुँजीवादी हडप्न चाहन्छन्। सोही खनिजमार्फत उनीहरू पान्डोरामा आफ्नो उपनिवेश कायम गर्न खोज्छन्। यसमा अमेरिकी सेनाको समेत साथ–सहयोग रहन्छ।
यद्यपि, नाभीहरू प्रकृतिबाट त्यति मात्र लिन्छन् जति उनीहरूलाई आवश्यक हुन्छ; उनीहरू प्रकृतिको दोहन वा शोषण गर्दैनन्। उनीहरू प्रकृतिको हरेक अवयवलाई देवतासरह पुज्छन्। अर्कातर्फ, पुँजीवादीका लागि भने सो खनिज प्राप्ति नै मुख्य महत्त्वाकांक्षी बन्न पुग्छ।
समस्या के हो भने, सो खनिजको मूल स्रोतमाथि नै नाभीको बस्ती छ। उनीहरूको विनाशबिना खानीसम्म पुग्न सम्भव छैन। अर्कातर्फ, पृथ्वीमा व्याप्त ऊर्जा संकट टार्न मानवजातिलाई सो खनिज अत्यावश्यकता भइसकेको छ। पान्डोराको वातावरण मानव स्वास्थ्यका लागि हानिकारक भएकाले खानी उत्खननको योजना सफल पार्न अवतार प्रविधिको सहारा लिइन्छ। सोही योजना अनुरूप पूर्वम्यारिन सैनिक जेक सलीलाई नाभीकै स्वरूप (अवतार)मा पान्डोरा पठाइन्छ। त्यहाँको बसाइका क्रममा जेकले प्रकृतिप्रति नाभी जातिको अगाध आस्था र लगावलाई नजिकबाट महसुस गर्छन्। अन्ततः, उनी आफ्नै प्रजातिविरुद्ध उभिएर नाभी जातिको पक्षबाट लड्न थाल्छन्।

०००
पान्डोराको एक भागमा उपनिवेश खडा गरेको मानवजाति र आदिवासी नाभीबीचको द्वन्द्वको कथा तीन श्रृंखलासम्म आइपुग्दा विभिन्न आयाममा विकसित भएको छ। यसको कथावस्तु दोहोरिएको भन्दै आलोचना पनि भइरहेको छ। यद्यपि, साइन्स फिक्सन फिल्मको प्रकृति नै यस्तै हुने भन्दै यसको बचाउ गर्नेहरूको पनि कमी छैन। एउटा स्तरीय साइन्स फिक्सन फिल्मले वास्तविक दुनियाँका समस्याहरूलाई कुनै काल्पनिक वा परग्रहको परिवेशमा प्रस्तुत गर्ने गर्छ। यस्तोमा समाजमा व्याप्त समस्याहरूलाई मानव, एलियन वा खलपात्रका चरित्रमार्फत उजागर गरिन्छ। यस्ता फिल्ममा नायक र खलनायकको भूमिका र प्रवृत्ति अदलबदल हुन सक्ने जस्ता रचनात्मक स्वतन्त्रता रहन्छ। निर्देशक क्यामरुनले यसपटक पनि वातावरणमाथि भइरहेको चरम दोहन र अत्याचारलाई नै फिल्मको केन्द्रविन्दुमा राखेका छन्।
सरल भाषामा भन्नुपर्दा, यस फिल्मले पर्यावरण र प्राकृतिक स्रोतको संरक्षणलाई मूल विषय बनाएको छ। यसका साथै, प्रकृतिप्रतिको चेतनामार्फत परिवार र समाजको महत्त्वलाई पनि दर्साइएको छ। फिल्मको सैद्धान्तिक पक्षले भने अमेरिकाजस्ता पुँजीवादी राष्ट्रले अन्य राष्ट्रमाथि गर्न सक्ने शोषण र सैन्यशक्तिको आडमा फैलाइने उपनिवेशवादलाई तिखो प्रहार गरेको छ। साथै, यसले मिथक, आस्था र प्रकृति पूजाको महत्त्वतर्फ पनि संकेत गरेको छ।
थ्रिडीदेखि एआइको चर्चा
सन् २००९ मा पहिलोपटक अवतार सिनेमाको ठूलो पर्दामा प्रदर्शन हुँदा नेपालमा पनि थ्रिडी प्रविधिको व्यापक चर्चा र प्रयोग भयो। दर्शक नांगो आँखाले पर्दामा टुडी फिल्म मात्र हेरिरहेको समयमा थ्रिडीले एउटा बेग्लै र जादुमयी अनुभव प्रदान गर्यो। वास्तवमा, नेपालमा थ्रिडी प्रविधिलाई भित्र्याउने र अभ्यस्त गराउने श्रेय अवतारलाई नै जान्छ। सन् २००९ देखि २०२५ सम्म आइपुग्दा निर्देशक क्यामरुनले पनि पहिलो श्रृंखलाको छायांकनका क्रममा अपनाइएका प्रविधि र आफ्ना अनुभवबारे पुन: चर्चा गरेका छन्।

क्यामरुनले वर्तमान एआईको युगमा पनि मानवीय अभिनयलाई नै प्राथमिकता दिएका छन्। निर्देशक क्यामरुनले एआईको प्रयोग अस्वीकार गर्नुको मुख्य कारण अवतारका पात्रहरू कृत्रिम नभई वास्तविक कलाकारको अभिनयमा आधारित हुनु हो। उनी पात्रहरूलाई ‘एआई जेनेरेटेड’ नभई कलाकारको मिहिनेतको परिणाम मान्छन् र त्यसको श्रेय उनीहरूलाई नै दिन चाहन्छन्। क्यामरुनले पर्फमेन्स क्याप्चर, फ्युजन थ्रिडी क्यामेरा, पानीभित्रको जटिल छायांकन र अत्याधुनिक सीजीआई तथा भीएफएक्सको संयोजनबाट अवतारका तीनै श्रृंखला निर्माण गरेका हुन्। उनको यो अभिनव प्रयोगले विश्व फिल्म निर्माणको शैलीमै क्रान्तिकारी परिवर्तन ल्याएको विज्ञहरूको बुझाइ छ।
निर्देशक क्यामरुन भविष्यमा फिल्म निर्माणमा एआईको नैतिकतापूर्ण प्रयोग हुन सक्ने कुरामा सहमत भए तापनि, मुख्य जोड भने वास्तविक मानव पात्र र उनीहरूको भावनामै हुनुपर्ने बताउँछन्। उनका अनुसार फिल्मलाई यथार्थपरक बनाउने कडी नै मानवीय संवेदना हो। ‘मेडियम’ नामक अनलाइन पोर्टलका अनुसार, क्यामरुनले आफ्नो सिर्जनात्मक विरासत र गौरवका साथ प्रस्तुत गर्न सक्ने काममा एआईको प्रयोगलाई न्यून राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अवतार: पोस्टमोडर्न मिथमेकिङ
नाभीहरू ‘एवा’लाई आफ्नो मुख्य शक्ति वा प्रकृति माताका रूपमा पुज्छन्। फिल्ममा एवालाई एउटा विशाल वृक्षको रूपमा देखाइएको छ, जससँग हरेक नाभीको चेतना प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। प्रकृतिप्रतिको यो अगाध आस्थाले ‘प्यागेनिज्म’ अर्थात् प्रकृति पूजाको दर्शनलाई प्रतिनिधित्व गर्छ। वास्तवमा अवतार विश्वका विभिन्न प्राचीन सभ्यता र मिथकको संगम हो। यसमा सुमेरियन, ग्रिक, बेबिलोनियन, मेसोपोटामिया र रोमनदेखि भारतीय मिथकको समेत गहिरो प्रभाव महसुस गर्न सकिन्छ।

सिद्धान्तकार रोनाल्ड सिमिकिन्स मिथकलाई सामान्यतः आम मानिसबीच साझा रहेको ‘सांस्कृतिक वास्तविकताको भाष्य’ मान्छन्। यस्ता मिथकले कुनै निश्चित संस्कृतिका मानिसको धार्मिक तथा राजनीतिक पक्षलाई संकेतीकरण गर्ने उनको तर्क छ। प्रकृतिमाथि जमाउन खोजिएको आधिपत्य र दासत्वको चित्रणमार्फत अवतारले विश्वव्यापी सांस्कृतिक, धार्मिक, राजनीतिक र वैज्ञानिक क्षेत्रका स्थापित मान्यतालाई पुनर्विचार गर्न बाध्य बनाएको सिमिकिन्सको ठम्याइ छ।
२१औँ शताब्दीमा एउटा काल्पनिक संसारको सिर्जना गरी त्यसैमार्फत वास्तविक संसारका घटना-परिघटनामाथि सांकेतिक वाद-प्रतिवाद गर्नु नै अवतारको उत्तर-आधुनिक मिथक निर्माणको एउटा बलियो उदाहरण हो। यद्यपि, ‘म्यासेबल इन्डिया’सँगको कुराकानीमा क्यामरुनले आफू प्रेरित भएका मिथकका कथा वा पात्रभन्दा पनि तिनमा अन्तर्निहित सिद्धान्त र चेतनाको विषयलाई फिल्ममा उतार्नु आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन्।
सन् २००७ मा ‘टाइम’ म्यागजिनलाई दिएको एक अन्तर्वार्तामा क्यामरुनले फिल्मको शीर्षकबारे रोचक खुलासा गरेका छन्। उनी भन्छन्, “हामी अंग्रेजी भाषीहरू यसलाई एभटार उच्चारण गर्छौँ, तर यसको शुद्ध रूप अवतार हो।”
हिन्दू दर्शनमा कुनै दिव्य शक्तिले आफ्नो स्वरूप त्याग गरी पुरानै चेतना र स्मृतिसहित नयाँ भौतिक शरीर धारण गर्ने प्रक्रियालाई अवतार भनिन्छ। फिल्ममा जेक सली लगायतका पात्र जसरी आफ्नो मानव शरीर छाडेर नाभीको स्वरूपमा समाहित हुन्छन्, त्यसैलाई क्यामरुनले अवतारको संज्ञा दिएका हुन्।
–एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
