६० प्रतिशतले बढ्यो अलैँची निर्यात, चिया घट्यो

मेची भन्सारबाट चालु आवको पहिलो पाँच महिनामा १० अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ।

भद्रपुर– चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा अलैँचीको निर्यात ६०.१० प्रतिशतले बढेको छ। 

मेची भन्सार कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा ५ अर्ब ५३ करोड ३२ लाख रुपैयाँको २ हजार ६२२.१० मेट्रिक टन अलैँची निर्यात भएको हो। 

अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ४५ करोड ६३ लाख रुपैयाँ बराबरको  अलैँची निर्यात भएको थियो। पूर्वी नाकाबाट चियाको निर्यात भने घटेको छ। 

उक्त अवधिमा १ अर्ब ८५ करोड ६२ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको छ। अघिल्लो आवको सोही अवधिमा २ अर्ब ७० करोड ३९ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको थियो। 

 कार्यालयको तथ्यांकअनुसार निर्यात हुने मुख्य वस्तुमा भेनीयर सिट १२९.९० प्रतिशत, छुर्पी ३२ प्रतिशत, सुठो ४८.७० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६.१० र मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ। 

यसैगरी, प्लाउड ४६ प्रतिशत, अम्रिसो ३५.५० प्रतिशत र फलामे पाता निर्यातमा ९७.८० प्रतिशतले कमी आएको छ  । 

मेची भन्सारबाट चालु आवको पहिलो पाँच महिनामा १० अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ।