राप्रपा र राप्रपा नेपालबीच एकीकरण

एकीकरणपश्चात् अध्यक्ष लिङ्देनपछि दोस्रो वरियता क्रममा थापालाई राखिएको छ।

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच आज एकीकरण भएको छ। यहाँ आज आयोजित एकतासभामा दुवै पार्टी एकीकृत भएको घोषणा गरिएको हो।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले उठाउँदै आएका सुशासन, हिन्दू राष्ट्रलगायत मुद्दा स्थापित गर्न राष्ट्रवादी शक्तिहरूबीच ध्रुवीकरण शुरू गरिएको बताउँदै आगामी दिनमा वैचारिक दृष्टिकोण निकट दलहरूसँग एकता गरिने बताए।

ठूला राजनीतिक दलले सत्ता केन्द्रित राजनीति गरेका कारण नेपाली समाजमा उत्पन्न चरम निराशालाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिँदै उनले आफ्नो पार्टीले जनतालाई आश्वस्त गर्दै मुलुकमा विद्यमान संकटको समाधान गर्नसक्ने विचार व्यक्त गरे।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले लिएका राजनीतिक मुद्दा संकटमा परेकाले आफू राप्रपामा फर्किएको बताउँदै देशमा निरन्तर रूपमा विकसित निषेधको राजनीति, चरम भ्रष्टाचार, बेरोजगारी, संवैधानिक अंगमाथिको हस्तक्षेपविरुद्ध आफू क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे।

पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीलगायत शीर्ष नेताहरूले दुई पार्टीबीचको एकताप्रति खुसी व्यक्त गर्दै असफल संविधान र संवैधानिक व्यवस्थाबाट मुलुकलाई जबर्जस्त अगाडि बढाउन नहुनेमा जोड दिए।

उनहरूले यथास्थितिमा निर्वाचनमा जाँदा मुलुक थप द्वन्द्वमा धकेलिने धारणा राख्दै राजनीतिक दल, जेनजी र परम्परागत शक्तिको प्रतिनिधिबीच छलफल गरी सहमति गर्नुपर्ने बताए।

एकीकरणपश्चात् अध्यक्ष लिङ्देनपछि दोस्रो वरियता क्रममा थापालाई राखिएको छ।