नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ४ अर्ब ७१ करोडको कारोबार

बिहीबार नेप्से परिसूचक १२.८३ अंकले घटेर २६२०.९२ को विन्दुमा कायम भएको छ।

काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। अघिल्लो दिन बुधबार सामान्य सुधार देखिएको बजारमा बिहीबार भने दोहोरो अंकको गिरावट देखिएको हो।

बिहीबार नेप्से परिसूचक १२.८३ अंकले घटेर २६२०.९२ को विन्दुमा कायम भएको छ। परिसूचकसँगै ठूला कम्पनीहरूको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.४३ अंकले ओरालो लागेको छ। यस्तै, फ्लोट इन्डेक्स ०.८४ र सेन्सेटिभ फ्लोट इन्डेक्समा ०.८८ अंकको गिरावट आएको छ।

परिसूचकसँगै बिहीबार कारोबार रकममा पनि गिरावट देखिएको छ। बुधबार पाँच अर्ब १३ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३३६ कम्पनीको एक करोड एक लाख ५३ हजार कित्ता शेयर चार अर्ब ७१ करोड ३९ लाख पाँच हजार रुपैयाँमा किनबेच भएको छ। दिनभरिमा कुल ६४ हजार ४०७ पटक कारोबार भएको थियो।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये अन्य उपसमूहको परिसूचक मात्र सामान्य बढेको छ भने बाँकी १२ उपसमूहको सूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी १.०९ प्रतिशतले ओरालो लागेको छ।

बजार घटे पनि विन नेपाल लघुवित्तको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। यस संस्थाको शेयर मूल्य प्रतिकित्ता १३४ रुपैयाँ ६० पैसाले बढेर एक हजार ४८१ रुपैयाँ १० पैसा पुगेको छ। त्यस्तै, एसवाई प्यानल नेपालको शेयर मूल्य ९ प्रतिशत र हिम स्टार ऊर्जा कम्पनीको शेयर मूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

यता, ग्लोबल आइएमई समुन्नत योजना–२ का इकाइधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन्।

यस दिनको कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रह्यो, जसको २३ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। यस्तै शिवम् सिमेन्ट्सको करिब १४ करोड र बुटवल पावर कम्पनीको १२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।