कोरस क्रमशः को लस र मस

हिजोआज कविताको नाममा भइरहेको करामत के हो भने बजारमा भरमार कविता- किताब छन्। तर असरदार कविता उति धेरै छैनन्।

‘आजको सभा अब शुरू हुन्छ!' भनेर जनकले ‘आज रमिता छ' उपन्यासमा भनेका थिए। त्यो सभा दार्जिलिङमा अझै शुरू भएको छैन। यहाँ हल्लाले सभा नै शुरु गर्न दिँदैन। सभा शुरू नै हुन नपाई, जहिल्यै बर्खास्त हुन्छ। रै पनि श्वास हुन्जेल आस हुन्छ भन्छन्, एक दिन त सभा शुरु भइजाला! अहिलेलाई भने त्यही हल्लाहरूको परिवेशबाट नै कोरस कविता लिएर आएकी छिन्, कवि बिनिता छेत्री। बिनिताको कविता सङ्ग्रहको नाम छ- ‘कोरस क्रमशः।'

कोरस शब्दको इतिहास प्राचीन ग्रीक शब्द 'खोरोस'सित सम्बन्धित छ। कोरस समूह गायन हो। कोरस भन्नसाथ हल्ला हुँदैन। वास्तवमा कोरसले मूल स्वरलाई नै सुसज्जित र प्रतिष्ठापित गर्दछ, यदि कोरसको कोरमा त्यही मूल स्वरकै भाव बीज निहित छ भने। तर मूल भावको सम्बद्धताबाट रहित छ भने कोरस केवल कर्कशता सिवाय केही रहँदैन। मूल लयतानबाट अनुप्राणित भएन भने कोरस केवल कर्कशतासितको कचिंगल (विघ्न/बाधा) मात्र बन्छ। यस किताबमा एकातिर दार्जिलिङे समाजको करकराहट आहत अनुभूत हुन्छ भने, अर्कोतिर कविको वैयक्तिक विडम्बनाबाट निस्सृत प्रतिध्वनिको अतिवृद्धि पाइन्छ।

कथा विधामा रुचाइएकी दार्जिलिङ निवासी बिनिताका यस अघि तीन कृति प्रकाशित छन्। उनको दोस्रो कविता कृति हो यो । किताब अध्याय-आधारित नभए पनि विशेष दुई भागमा केन्द्रीकृत गरेर हेर्न सकिन्छ, जसमा पहिलो भागमा गोर्खाहरूको राजनीतिक विस्मय र दोस्रो भागमा कविको निजी जीवनको 'एकान्तिकता' समाहित छ।

पहिलो भागको विषयबाट किताबमा प्रवेश गरौँ।

सबैभन्दा खतरनाक कुरा भनेको विचार बिचरा हुनु हो। त्यही क्लिसे विचारको किलकिले झुन्डाएर बसिरहेको दार्जिलिङे वैचारिकीको प्रकटीकरण पनि हो-‘कोरस क्रमशः'। बिनिताका कविताहरूमा दार्जिलिङको राजनीतिक दीनता र दिशाहीनता, असफलता र चरित्रहीनता व्याख्यायित छन्। विविध भाषाभाषी र जातिको बृहत् भारत देशमा भारतीय गोर्खाहरूको केन्द्रस्थल हो दार्जिलिङ पहाड, जसलाई मर्मस्थल भने पनि हुन्छ। यहाँ भारतीय गोर्खाहरूका स्वत्व र पहिचानका लागि गोर्खाल्यान्ड आन्दोलनको आगो  हुर्रझ्याप्प-हुर्रझ्याप्प भइबस्छ।

यही आगोमा कोही सेकिन्छन् त कोही सकिन्छन्। राज्य र केन्द्रको सत्ता सिकार बनेको जातीय मुद्दा लगभग सखाप नै हुन लागेको छ। यही स्थितिको सन्ताप बिनिताका कविताहरूमा पनि खाप लागेका छन्। बङ्गाल र दिल्लीले दार्जिलिङलाई आफ्नो चुनावी अङ्कगणितको गुणा-भागामा मात्र राख्ने गरेको छ, जसले सत्तासीन भएपछि जहिल्यै दागा धर्ने गर्छ। तरै पनि लाचार आचारमै आफूलाई आत्मसात् गर्न विवश छ दार्जिलिङ। यसैले होला कवितामा प्रकटित हुन्छ पहाड पीडा-

तिनीहरू हजारौँ शहीदहरूका रगतले लतपत अनुहार
मेरै साडीको फेर तानेर पुस्छन्
म उफ्! सम्म गर्न सक्दिनँ।

कविताहरूमा दार्जिलिङको उदासीन (अशक्त) भावना र यथास्थितिवादी परिस्थिति उद्घाटित छ। दकस-दच्कोका अविच्छिन्न शृंखलामा कविको प्रतिक्रियात्मक आक्रामकता (रियाक्टिभ एग्रेसन) पाइँदैन। यद्यपि, समाजको वञ्चितिप्रति कविको आत्मिक प्रतिबद्धता अनुगुञ्जित छ। राजनीतिक संघर्षको यो समय-सकसलाई ‘कोरस क्रमशः'का कविताहरूले सम्बोधन गरेका छन्। वर्तमान दार्जिलिङे समाजको कोरमा हल्लाको हूल, मूलकी भएर बसेको छ। हुन त हल्लाको सत्ता दार्जिलिङलाई मात्र होइन, विश्वलाई नै यति बेला महत्वको विषय छ।

मानिसले पहिल्यैबाट मस्तिष्कमा बोकी ल्याएको संसार अब रहेन। यस्तो क्षणमा जनताको मौनता कहिले बोली भ्याउँछ, अत्तोपत्तो छैन। पहाडको हालबारे कार्यकर्ता र समर्थकहरूलाई त—न ज्ञान भो, न भो विवेक, केवल भक्ति मात्रै! किताबमा सङ्ग्रहित 'म असुरक्षित महसुस गर्छु', 'म दार्जिलिङ', 'आन्दोलन एउटा कथा' जस्ता कविताहरूमा यही विक्षिप्त परिवेश प्रस्टिन्छ। कविताहरूको यो ठेलीमा जातीय पहिचान र अस्तित्वको खोजीमेली छ। जातीय स्मृतिको सञ्चिति पाइन्छ। यस मानेमा कविको ‘नेमोनिक्स’ (स्मृति ज्ञान) बलियो रहेको छ।

कविताको आधार भूमिमा समाजका अन्तर्घात घुमिफिरी आइपुगेको छ, घुसेको छ। परायकरण (अदराइजेसन) को मार-प्रहारमा थिलथिलिएको छ दार्जिलिङे समाज। तरै पनि मुखचुप छ यो कुपमण्डुक व्यवहार। फेड्रिक नीत्सेको एउटा भनाइ छ, ‘‘कहिलेकाहीँ मानिसहरू सत्य यस कारण सुनाउँदैनन् कि उनीहरूलाई आफ्नो भ्रम चकनाचुर हुने भय हुन्छ।’’ यस्तै दिग्भ्रमित समय दार्जिलिङका लागि मोजमस्तीमय छ।

अब आऔँ कविताको दोस्रो भागतिर। 

कृतिमा समाजसितको अन्तर्घुलन थोरै र वैयक्तिक यथार्थ नै धेरै गुम्फित छन्। ‘कोरस क्रमशः' क्रमैले पल्टाउने क्रममा सुरुकै ‘रुख र जीवन' कविताले पाठकलाई गम्भीर बनाइदिन्छ, आध्यात्मिक अवस्थानमा पुर्‍याइदिन्छ। यस कविता सङ्ग्रहको केन्द्रीय भावस्वभाव एकान्त हो। एकालाप हो, अनि हो ती सबैको एकीभवनमा आच्छादित मनको समर्पित समालाप पनि। कविको अन्तस्करण वियोगग्रस्त छ। कविको प्रेमास्पद हृदयको फुरफुराइमा बिछोडिएको प्रेमीको प्रतीक्षा छ, जुन प्रेमी परदेशी (हुनसक्छ कतै टाढा) बनेको छ। उनै प्रेमीको पर्खाइमा दिन गनाइ, सपना बुनाइ र बर्सौँ बिताइ छ। जसमा गहिरो विश्वास-रहस्यको रसबस पाइन्छ।

कविताहरूमा प्राय: हिमाल, हावा, चरा, घाम, फूल समीपकका रूपमा रहेका छन्, जसले जैवनिक सुख अनुभूत गराउँदछ। प्रकृति र मानवबीचको सह-सम्बन्धमा मात्रै सुख सम्भव छ। बिनिताका कविताहरू हुइँकिँदैनन्, बस् हिँडिरहन्छन्, जसले यात्रा पथमा देखिएका, भेटिएका जीव-जिनिसलाई सूक्ष्म संवेदनशीलतासाथ अवलोकन गर्छन्। बिनिताको यस कवितामा स्मृति र प्रकृतिसँगको अन्तरसम्बन्ध संवेदनीय छ। जुन सबैभन्दा बलियो पक्षको रूपमा उद्घाटित भएको छ। जन्म हुनसाथ मानिसलाई जीवन प्राप्त हुँदैन। जीवन त एक निरन्तर साहस-स्पर्धा हो। जुन मृत्युपर्यन्त क्रमशः रहिरहन्छ। गइरहन्छ। यही जीवन्तताको आग्रह उनको कवितामा पनि पाइन्छ।

कवि भन्छिन्-

एक साँझ
जिन्दगीले कानमा खुसुक्क भन्यो
"तिमी जिउँदो छौ अब बाच्न सिक्नु।"

कवितामा बिनिताले सम्झनामा राखेकी र विचारमा साँचेकी सम्बन्ध-साइनोलाई खोजेकी छन्, जसप्रति असीम-अतृप्ति छ, भाव-व्यग्रता छ। यहाँनेर छर्लङ्गिन्छ उनको ‘प्लेटोनिक लभ’-को चहक, जसको पृष्ठभूमिमा प्रेमाघात पनि महसुस हुन्छ।

कसैले भनेका छन्, ‘‘कविता होइन चिन्ता लेख।’’ बिनिताले पनि त्यसै गरेकी छिन्। उनले कवितामा चिन्ता अत्यधिक लेखेकी छिन्। बिनिता जीवनप्रति बढी नै गम्भीर देखिन्छिन्। तर जीवनमा त्यति गम्भीरता पनि आवश्यक छैन। जीवन त वास्तवमा बुझिसाद्धे छैन। र, बुझेकै जीवन मात्रै पनि साध्य होइन। यस प्रसङ्गमा कवि माधवप्रसाद घिमिरेको पङ्क्ति स्मरणमा रमण हुन्छ- 

यो जिन्दगी जति बुझे पनि बुझ्न बाँकी,
नौलो कुरा जति सुझे पनि सुझ्न बाँकी ।

कवितामा नारी-चेतना प्रख्यापित छ। मातृ भावप्रतिको गुण-गरीमा कवितामा स्पर्शनीय छन्। जसको पुष्टि उनका ‘आमाको अनुहार', ‘आमाको सम्झनामा' ‘एउटी आमा हुँ म' जस्ता कविताले गर्छन्। आमाको संघर्ष र दृढताको कवितामा मिहिन वर्णन छ। अधिकांश कविता इतिवृत्तात्मक छन्। उनमा भएको कथाकारको गुण यस कविता कृतिमा पनि सन्निहित छ।

अन्ततः 
बिनिताको कविता पनि व्यक्तिगत भावुकता र कुण्ठाको कोठा कविता बनेको छ, एक प्रकारको झारा टराई जस्तो। वर्षौँदेखि रटाइ गरेर लेखाइ गरेजस्तो प्रयोग हुँदै आएको विम्ब र प्रतीकलाई नै उनले पनि कवितामा ट्याकटुक्क टाँसेकी छिन्, सजाएकी छिन्। त्यसो हुँदा यी कवितामा पुराना कविहरूका बान्की नै बाँधिएकै छ। उनले पनि यही त्यही काम गरेकी छिन्, जुन काम गर्न त यहाँ अरू कविहरूलाई पनि भ्याइनभ्याइ थियो र छ।

त्यही कामलाई नै बिनिताले पनि किन उही तामझामसित दोहोर्‍याइरहेकी हुन् भन्ने लाग्छ। अघिकाहरूको तुलनामा ‘हेर्ने तरिका’ फरक हुनै पर्छ। रूपवादको अवधारणा अनुसार भन्ने हो भने काव्यमा भिदेनी (नयाँ दृष्टि) चाहिन्छ। लेखकले पाठकको लागि लेख्ने हो। तर पाठकले चाहेकै लेख्नतिर लेखक लाग्ने होइन। त्यसरी नलाग्ने बाटोमा बिनिताले लाग्ने आँट गरे हुन्थ्यो भन्ने, उनकै केही खासखास कविताहरूले पाठकलाई आस गराउँछ। त्यही आसको साहसमा यति भन्ने आँट गरेको मात्रै हो।

बिनितालाई किताबमा लेखेका सबै कविता अटाउनुपर्ने हतारो पनि देखिन्छ। प्रायः एउटै कविताका शृङ्खलाहरूको समुच्चयले सङ्ग्रह भरिएको छ। ‘परदेशीलाई पत्र' शीर्षक कविता १ देखि ५ वटासम्म छन्। ‘जूनसित' शीर्षकको १ देखि ४ शृङ्खलालगायत एकाधिक कविता छन्। येनकेन प्रकारेण तानतुन मात्र छ, जसलाई शृङ्खला कविता सङ्ग्रह पनि भनिहाल्न  मिल्दैन।

केही छोटा कविताहरू पूर्णतः कविताको संरचनामा संलीन भएका पाइँदैनन्। उनलाई १-२-३ गरेर चार वटासम्म गीत पनि राख्नु छ। जुनचाहिँ कवितामा गीत कोचिएजस्तो लाग्छ। जसका कारण पनि कविताका क्रमबद्धतामा असम्बद्धता रहेको छ। धेरै कविता लेख्ने (लेखेको जति सबै राख्ने) ध्याउन्नमा लागेर कविता बिगार्नु भन्दा, थोरै कविता समावेश गरेर कविता सपार्नतिर बिनिता लागिदिएको भए कति जाती, कति माथि हुन्थ्यो भन्ने लाग्छ। जसका कारण कवितामा शब्द-विलास मात्र होइन अर्थान्वितको मिठास अझ थपिने थियो कि!

यति बेला हिन्दीका नरेश सक्सेनाको एउटा भनाइ याद आउँछ। उनी भन्छन्, ‘‘महान् कवि एउटा कविताको कवि हुन्छ। साधारण कवि धेरै वटा कविताहरूको कवि हुन्छ र जो कवि होइन, उ धेरै वटा सङ्ग्रहको कवि हुन्छ।’’ यस किताबको ‘आफ्ना कुरा’मा कविले भाषाबारे मार्गदर्शन पाएको बताएकी छिन्। तर भाषामा मात्रै ध्यानाकृष्ट हुँदा कविता (कवि) को भाषा चाहिँ बिर्सिएको हो? काव्य भाषाको कलाकौशल किताबमा कमजोर छ। जसले गर्दा पाठकलाई पठन सपाट लाग्न सक्छ।