सिरियामा आइएसका सैन्य केन्द्रलक्षित बेलायत–फ्रान्सको हवाई आक्रमण

बेलायती रक्षा मन्त्रालयका अनुसार सिरियाको होम्स प्रान्तस्थित पालमिरा शहरको उत्तरतर्फ रहेको पहाडी क्षेत्रमा आइएस समूहको भूमिगत हतियार भण्डारलाई लक्षित गरी हवाई आक्रमण गरिएको छ।

बेलायती र फ्रान्सेली लडाकु विमानले मध्य सिरियामा इस्लामिक स्टेट (आइएस) समूहको भूमिगत हतियार भण्डार केन्द्रमा हवाई आक्रमण गरेका छन्। बेलायती रक्षा मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार उक्त भूमिगत केन्द्रमा ठूलो परिमाणमा विस्फोटक पदार्थ भण्डारण गरिएको आशंका गरिएको थियो।

शनिबार साँझ सिरियाको होम्स प्रान्तस्थित ऐतिहासिक शहर पालमिराको उत्तरतर्फ रहेको पहाडी संरचनाभित्रको लुक्ने ठाउँलाई लक्षित गरी कारबाही गरिएको मन्त्रालयले जनाएको छ। आइएसका सदस्यहरूले सो स्थानलाई सैन्य आधार इलाकाका रूपमा प्रयोग गर्दै आएको सूचनाका आधारमा हवाई हमला गरिएको जनाइएको छ।

बेलायत र फ्रान्स विगत एक दशकदेखि आइएसविरुद्धको अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा सक्रिय छन्। यस पटकको आक्रमणमा बेलायती वायु सेनाले 'भोयजर रिफ्युलिङ ट्यांकर'को सहयोगमा 'टाइफुन एफजिआर–४' लडाकु जेट प्रयोग गरेको थियो। बेलायती वायु सेनाले 'पेभवे–४' निर्देशित बम प्रहार गरी भूमिगत केन्द्रका सुरुङहरू ध्वस्त पारेको दाबी गरेको छ।

बेलायती रक्षामन्त्री जोन हेलीले यो कारबाहीले मध्यपूर्वमा आइएसको पुनरुत्थान रोक्न बेलायत आफ्ना सहयोगी राष्ट्रहरूसँग प्रतिबद्ध रहेको सन्देश दिएको बताए। सन् २०१९ मा औपचारिक रूपमा पराजित भए पनि सिरिया र इराकमा आइएसका करिब ५ देखि ७ हजार 'स्लिपर सेल' सदस्यहरू अझै सक्रिय रहेको संयुक्त राष्ट्रसंघका विज्ञहरूको अनुमान छ।

गत महिना पालमिरा नजिकै भएको आक्रमणमा अमेरिकी सैनिकहरू मारिएपछि ट्रम्प प्रशासनले सिरियामा आइएसविरुद्धको अभियानलाई तीव्र पारेको थियो। अहिलेको बेलायत–फ्रान्सको संयुक्त हवाई कारबाहीलाई पनि सोही सुरक्षा प्रयासको निरन्तरताको रूपमा हेरिएको छ।