राष्ट्रियताको अर्थमा पुस २७ को बयान

विकसित परिस्थितिमा यतिका वर्षपछि पृथ्वीनारायण शाहले गरेको ‘बलात् भौगोलिक एकीकरण’लाई मानेर जानु बाध्यात्मक परिस्थितिको सहज निकास हुनेमा दुई मत राख्नु हुन्न।

बीपी कोइरालाले भनेका थिए, ‘‘राष्ट्र भनेको कुनै भूभागको ढुङ्गो, माटो, खोलानाला र साँध सीमामात्र होइन, त्यहाँ बस्ने जनताको सभ्यता, संस्कृति र मनोभाव हो।’’ यतिखेर राष्ट्र र राष्ट्रियताको खुब चर्चा हुने गर्छ, तर बीपीले भनेका यी भनाइको सार कसैले खिचेको पाइन्न। बीपीले भारत निर्वासनबाट नेपाल फर्किँदा लिएको ‘राष्ट्रिय मेलमिलाप नीति’ पनि दिवसको रूपमा वर्षौँदेखि मान्ने चलन छँदैछ। यो दिवसको प्रसंगमा पनि राष्ट्रियताको चुरो खुट्टिएको होइन।

पञ्चायतकालको सुरुवातयता पुुस २७ गतेको दिनलाई ‘श्री ५ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को रूपमा मनाउने अनिवार्य चलन थियो। पञ्चायत व्यवस्थाले लगाएको यो ‘व्हिप’ ०४७ पछिको बहुदलीय कालखण्डमा पनि एक प्रकारले कायम छ। दोस्रो जनआन्दोलनपछि यो दिवसको सान्दर्भिकताको अन्त्य औपचारिक रूपमै गरियो। यो दिनको सान्दर्भिकताबारे केहीको पौराणिक अनुराग छँदै थियो। तिनले बर्सेनि सिंहदरबार अगाडिको पटाङ्गिनीमा यो दिवस मनाउँदै आएका थिए।

तर, दोस्रो गणतान्त्रिक निर्वाचन परिणामको गणितले यसलाई पुनर्स्थापित गर्न सरकारी बिदा दिने हदमा पुर्‍याएको हो। गएका वर्षहरूमा सो दिवसलाई जबरजस्त पुनर्स्थापित गर्ने प्रयास गरियो। यस पटक यसका आयोजकले लाखौँ जनसमुदाय सडकमा उतार्ने अपिल गरेका छन्। जेनजी विद्रोहपछि हुन लागेको यो दिवसको पुनर्ताजगीको यहाँ चर्चा गर्नु मुनासिब लागेको छ। यो आलेखमा नेपाली राष्ट्रियताको सन्दर्भमा पुुस २७ को बयानसँग कहाँ तालमेल खान्छ, यसैको खुटखबर लिने प्रयास गरिनेछ।

पानी बहस
यहाँ पुुस २७ गते सँगको आग्रह–पूर्वाग्रहमा कुनै लेनदेन छैन। राष्ट्र र राष्ट्रियताको पूर्ण परिभाषा नहुन्जेल यस्ता दिनमा ‘श्राद्धमा बिरालो बाँध्ने परम्परा’कै निरन्तरता हुनु अस्वाभाविक लाग्दैन। केहीले यो दिनलाई पृथ्वीनारायण शाहको जन्मदिनसँग सम्बन्धित भएकोले अँध्यारो र अर्का थरीले राजा र राजतन्त्रसँग जोडिएको अर्थमा उज्ज्वल दिन मानेका हुन्। वास्तवमा पुस २७ गतेलाई राष्ट्रिय एकताको सर्वस्व ठान्नु र त्यसकै विरोधमा स्वर उछाली रहनुको कुनै तुक छैन, किनकि सत्यतथ्य अझै यकिन भइसकेको छैन। बरू, यसले नेपाली राष्ट्रियताको साँचो बहस माग गरेको छ भिन्न रूपमा।

नेपालको भौगोलिक स्वरूप बन्दाको दन्त्यकथा हालेर मात्र नेपालको राष्ट्रिय एकताको जग बस्दैन। तत्कालीन बेलायती साम्राज्यद्वारा स्थापित भारतको इस्ट इन्डिया कम्पनी र अर्को भोट–चिनी साम्राज्यको ‘टेलिपेथिक’ सन्तुलनद्वारा यो भौगोलिक स्वरूप संस्थागत हुन पुगेको हो। इस्ट इन्डिया कम्पनी र भोट–चीनसँग युद्ध गरेर, जितेर यो भूगोलको रक्षा गरेको भए ‘सुगौली’, ‘केरुङ’, ‘बेत्रावती’, ‘थापाथली’ सन्धि गर्ने नौबत नै आउने थिएन। आधुनिक हतियारले लैस इस्ट इन्डिया कम्पनीसँग घुँएत्रो हानेर, भिरबाट ढुंगो लडाएर र भीरका मौरीलाई टोकाएर रोकेको कथा केवल तिलस्मी हो। यस्ता कथाले राष्ट्र र राष्ट्रियता जोगाएको अर्थ कति अर्थपूर्ण होला? यो पानी-बहसको विषयजस्तो भयो, जता कुलो लग्यो, त्यतै पानी बग्यो।

नेपाली राष्ट्रियताको चुरो
नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको राजनीति विज्ञानसम्मत परिभाषा नहुन्जेल यस्ता अमुक तारिकहरू जबरजस्त ‘राष्ट्रिय एकता दिवस’ भइरहन्छन्। इतिहासमा पुुस २७ तारिखमा कुन ऐतिहासिक काम भएको थियो? सुगौली सन्धि भएको थियो कि? नेपालको साँध सिमाना छिमेकी मुलुक बेलायत–भारत र भोट–चीनले लालमोहर लगाइ दिएको थियो कि? फिलाडेल्फिया सम्मेलन गरेर अमेरिका बने जसरी तत्कालीन बाइसी–चौबिसी, उपत्यका र उपत्यका पूर्वका चौदण्डीसहित ५२ गणराज्यहरूले नेपाल नामको देश निर्माण गरेका थिए कि? यसको सटिक उत्तर नआइन्जेल नेपाली राष्ट्रियताको चुरो भेटिँदैन र यस्ता दिवसको पनि अर्थ छैन। पुुस २७ गते राष्ट्रिय एकता दिवस हो भन्ने एकोहोरो रट लगाएर मात्र हुन्छ?  

दार्शनिकहरूले राष्ट्र निर्माणका अनेकन् परिभाषा गरेका छन्। ती सबैजसो परिभाषामा मतैक्य पाइन्छ। स्टालिनले राष्ट्रको परिभाषामा भनेका छन्, ‘‘ऐतिहासिक रूपले विकसित स्थिर मानव समुदाय हो राष्ट्र, जुन साझा संस्कृतिमा प्रतिबिम्बित हुने साझा भाषा, साझा भूभाग, साझा आर्थिक जीवन र साझा मनोवैज्ञानिक संरचनाको आधारमा निर्मित हुन्छ।’’

यो परिभाषाअन्तर्गत नेपाल एउटा राष्ट्रको रूपमा विकसित भइसकेको छ? प्रश्न यहीँनेर आएर गम्भीर हुन्छ। एउटा सिङ्गो राष्ट्र बन्नको लागि चाहिने सर्तहरू पूरा नहुन्जेल ती राष्ट्र र त्यस अन्तर्गतको राष्ट्रियता अन्तरिम हुन्छ। यो परिभाषाअन्तर्गत राष्ट्र उन्मुख अन्तरिम राष्ट्र र विविध राष्ट्रियताको साझा मोर्चा हो नेपाल।

मार्क्स–एंगेल्सले ‘‘कामदारहरूको कुनै देश हुँदैन, हामी तिनीहरूबाट त्यो कुरा लिन सक्दैनौँ, जुन कुरा उनीहरूले प्राप्त गरेकै छैनन्’’ भने। उनीहरूले सर्वहारा वर्गलाई राष्ट्रको रूपमा उभ्याउन अपिल गरे। यो वाक्यमा गहिरो अर्थ लुकेको छ। समुदायको मनोभावनामा पनि यो कुरा हुन्छ। माथि बीपीले भनेझैँ समुदायको संस्कृति, सभ्यता र मनोभावना नै राष्ट्र भनेझैँ हरेकमा त्यो कुरा प्रतिबिम्बित हुनुपर्छ।

लेनिनले राष्ट्र र राष्ट्रियता मार्क्सवादको प्रकाशपुञ्जमै व्याख्या गरे। उनले राष्ट्र र राष्ट्रियता अवधारणाको विकास उदाउँदो पुँजीवादी युगसँगै हुने ठहर गरेका छन्। यसरी, सामन्ती युगको सामन्तवादी राष्ट्र र राष्ट्रियताको जबरजस्त व्याख्या गरेर त्यसैमा अलमल्याउने कि उदाउँदो पुँजीवादी युग सुहाउँदो राष्ट्र र राष्ट्रियताको व्याख्या गर्ने विषयको विवाद हो यो।

राष्ट्र बन्ने अभियान
राष्ट्र बन्ने अभियानमा छ नेपाल। पृथ्वीनारायण शाहले ‘असिल हिन्दुस्थान’ बनाउने (एकल हिन्दू धर्मतन्त्रात्मक राष्ट्र निर्माण गर्ने) आधारमा यो भूगोलको ‘एकीकरण’ गरे। यो क्रमको निरन्तरता राणा–पञ्चायत हुँदै पछिल्लो बहुदलीय कालखण्डसम्म निरन्तर रह्यो। विसं २०१९ सालको संविधानले हिन्दू अधिराज्य संवैधानिक रूपमा कायम गरेको वैधानिक बुँदालाई ०४७ सालको प्रजातान्त्रिक संविधानले पनि लालमोहर लगायो। एक जाति (नेपाली जाति), एक भाषा, एक भेष, एक धर्म, एक देशको अवधारणाको जबरजस्त राष्ट्र र त्यसै अन्तर्गतको राष्ट्रियता निर्माण गर्ने कोसिस गरियो। चलनचल्तीको भाषामा जसलाई ‘मण्डले’ वा ‘महेन्द्रीय राष्ट्रवाद’ भन्ने गरिन्छ।

यसरी, नेपाललाई एक धार्मिक, एक जातीय र एक भाषिक राष्ट्र बनाउने राजनीतिक तथा प्रशासनिक अभ्यास विगतमा भइसकेको हो। तर यो अभ्यासले पूर्णता पाएन। पूर्णता पाएको भए पुुस २७ वा यस्तै कुनै तारिख नेपाल राष्ट्र निर्माणको ऐतिहासिक दिन ‘राष्ट्रिय एकता दिवस’ हुने थियो। यसमा अन्यथा मान्नुपर्ने थिएन। संसारमा यस्ता परिघटना भएका थुप्रै उदाहरण छन्। नेपालमा भने अढाई सय वर्षको अभ्यासले पनि एउटा सबल राष्ट्रको रूपरेखा आउन सकेन। कसैले माने पनि नमाने पनि यो तितो यथार्थ हो।

राष्ट्रहरू कहिले माथिबाट निर्माण हुन्छन्, कहिले तलबाट। बेलायती उपनिवेशबाट मुक्त भएपछि तलबाट निर्माण भएको राष्ट्र हो अमेरिका। तलबाट अमेरिकी राष्ट्रको जन्म भयो–फिलेडेल्फिया सम्मेलनमार्फत। विस्मार्कको नेतृत्वमा युद्धद्वारा माथिबाट बन्यो जर्मनी राष्ट्र। नेपाल पनि पृथ्वीनारायण शाहले कतै युद्ध र कतै सम्झौताद्वारा माथिबाट बनाए। तर उनले माथिबाट बनाएको माथि उल्लेखित विशेषताको राज्यमा आम आदिवासी, जनजाति, मधेसी, दलित, अल्पसंख्यक, सीमान्तकृत र श्रमजीवी वर्गले यतिका वर्षपछि पनि अपनत्व महसुस गरेनन्।

उनीहरूले आजका मितिसम्म पनि परम्परागत राष्ट्र र राष्ट्रियताको परिभाषाभित्र आफूलाई नपाएकोमा गुनासो गरेका छन्। जर्मनको एकीकरणलाई जर्मनीहरूले अपनत्व ग्रहण गरे। त्यसरी, नेपालको यो स्वरूप बनेकोमा एकमत रहेन। यद्यपि, विकसित परिस्थितिमा यतिका वर्षपछि पृथ्वीनारायण शाहले गरेको ‘बलात् भौगोलिक एकीकरण’लाई मानेर जानु बाध्यात्मक परिस्थितिको सहज निकास हुनेमा दुई मत राख्नु हुन्न। 

यसर्थ, नेपाल राष्ट्र निर्माणको अभ्यास तलबाट पनि थाल्नुपर्छ। माथिबाट बनाउन गरिएको प्रयासस्वरूप प्राप्त भूगोललाई तलमाथि गर्ने सम्भावना टरेर गएको छ। सिक्काको दुई पाटो भनेझैँ तलबाट राष्ट्र निर्माणको प्रक्रिया थालेर पूर्णता दिनु सर्वश्रेष्ठ उपाय हुनेछ। अहिलेसम्म भएका आन्दोलन र दोस्रो जनआन्दोलनले बढी प्रस्ट गरेको सान्दर्भिक जनादेश त्यही हो। बाह्र बुँदे समझदारी, विस्तृत शान्ति सम्झौतादेखि अन्तरिम संविधान र नेपालको संविधान २०७२ सम्मका लिखतहरूमा यही विषय परेको छ।

राज्यको पुनर्संरचनाको अपरिहार्य आवश्यकता र राज्य पुनर्संरचना गर्दा ठगिएका समुदायलाई क्षतिपूर्ति दिएर राष्ट्रमा उनीहरूको मनोभावना, संस्कृति र सभ्यतालाई सम्मान गर्ने निधो गरिएको थियो। तर राज्य पुनर्संरचना गर्दा त्यसो हुन सकेन। वास्तवमा नेपालको संविधान २०७२ मा राष्ट्रको परिभाषा जसरी गरिएको थियो, त्यसरी नै राज्यको निर्माण हुनुपर्थ्यो। यस्तो भइदिएको हुन्थ्यो भने साँचो अर्थमा नेपाल राष्ट्रको निर्माण पूरा हुन्थ्यो। परम्परागत ढंगबाट परिभाषित हुँदै आएको राष्ट्र र राष्ट्रियताको परिभाषा विपरीत राष्ट्र अब प्रगतिशील ढंगबाट हुने थियो। राष्ट्रिय एकता दिवस कसैले मान्ने र कसैले दुत्कार्ने नै हुने थिएन।

रहलपहल
संविधान अनुसार परिभाषित राष्ट्रअनुसार राज्य निर्माण गर्दा मात्र आन्तरिक औपनिवेशीककरणको अन्त्य हुन्छ। राष्ट्रमा पछाडि पारिएका वा परेकाहरूले पहिचानमार्फत बीपीले भनेझैँ राष्ट्रको सार, सभ्यता, संस्कृति र मनोभावको माग गरेका हुन्। यति नै बन्दोबस्त गर्दा राष्ट्र बन्ने र राष्ट्रियता सुदृढ हुने कुरामा हलो अड्काउनु मुनासिब लाग्दैन। आन्तरिक औपनिवेशीकरणको अन्त्यबिना समग्र राष्ट्रियताको विकास र समृद्धिको कल्पनासम्म गर्न सकिन्न। नेपाली जनताबीचको आधारभूत अन्तर्विरोधको अन्त्य नै राष्ट्र निर्माणको जग हो। यो जग नेपाली राष्ट्रियता सुदृढीकरणको कोशेढुंङ्गा साबित हुनेछ।

(उकालोको विचार खण्डमा प्रकाशित सामग्री व्यक्तिका निजी हुन्।)