रातमा कलमः समकालीन यथार्थको कलात्मक अभिव्यञ्जना

विचारहीन हुनु भनेको सिल्ली हुनु हो। विचार लिनेले आफ्नो जीवनपछि पनि यो समाज रहन्छ भन्ने कुरा बुझेको हुन्छ। जब मान्छेको सोचमा परिवर्तन आउँछ, कर्मपथमा सहजै तीव्रता आउँछ।

‘रातमा कलम’ कवि अमर गिरीको छैटौं कवितासङ्ग्रह हो। कवि गिरीका कवितामा कुनै एकांकीपन हुँदैन। उनी राजनीति लेख्छन् तर नारालाई प्रश्रय दिँदैनन्। उनी वर्गपक्षरताको विषय उठाउँछन् तर तर्कको ताल मिलाउँछन् अनि उनी माक्सवादलाई बलियो गरी समाउँछन्। साथमा पर्यावरणलाई छाड्दैनन्। कवि अमर समयको रेखाचित्र खिच्न सिपालु छन्।

माक्सवादलाई राम्ररी बुझेको हुनाले पर्यावरण र माक्सवादको अन्तरसम्बन्धलाई कविले राम्ररी तालमेल गर्दछन्। कविको आफ्नै मौलिक विशेषता भनेको कलापूर्ण विचार र विचारयुक्त सिर्जना नै हो। कविता लेख्नका निम्ति लेखिने र नारामा विचार हालेर कविता भयो भन्न खोज्नेका लागि अमर गिरी गतिलो उत्तर बनेका छन्। प्रगतिवादीहरू कवितामा नारा मात्र लेख्छन्, यिनीहरूको लेखनमा कलापक्ष कमजोर हुन्छ भन्ने कलावादीहरूको आरोपलाई अमर गिरीका कविताहरूले निकै गतिलोसँग जवाफ दिन्छन्।

माक्सवादी साहित्य भनेको विचारको सिधा प्रस्तुति मात्र हो र भूमिका बाँधेको साहित्यले जनपक्षीय मर्म बोल्न सक्दैन भन्नेहरूका लागि पनि उनले कलाको परिपाक प्रस्तुत गरिदिएका छन्। कवि कविता लेखोस् तथापि त्यसले निम्नवर्गको सचेतता र मुक्तिको मार्गमा योगदान पुर्‍याओस् भन्ने खास माक्सवादीहरूको विचार प्रस्तुतिमा अमर गिरीको राम्रो श्रम ‘रातमा कलम’ कवितासङ्ग्रहभित्रका कविताहरूमा देख्न सकिन्छ। 

अमर गिरी समालोचक ताराकान्त पाण्डेय, जगदीशचन्द्र भण्डारी, रमेशप्रसाद भट्टराई, गोपीन्द्र पौडेल लगायतका समकालीन हुन्। उनी कवि इच्छुकका साथी पनि हुन्। उनले देखेको नेपाली समाज, उनले भोगेको दैनन्दिनी र लेखेका साहित्यका बीचमा बलियो सामन्जस्यता देखिन्छ। उनको आलोचकीय लेखनले कवितालाई निकै माया गरेको छ। उनी कवितामा साँच्चै सजिलोसँग पोखिन सकेको देखिन्छ। ‘जीवनको थुम्कोबाट’ शीर्षकको कवितामा उनी आफू बिस्तारै जीवनको ओरालो यात्रामा लागेको अनुभव व्यक्त गर्दछन्। उनी उमेरले आफूलाई अझ सचेत बन्न सिकाएको भाव व्यक्त गर्न पनि पुग्छन्ः

कौसीमा छु
हेरिरहेछु ओरालो झरिरहेको सूर्य
र गमलामा बिस्तारै मुर्झाउँदै गरेको फूलहरू
सोचिरहेछु कति समानता  छ
ओरालो झरिरहेको जीवन
र यी दुईका बिचमा 

(पृ. २४, जीवनको थुम्कोबाट)

जीवन स्वंयमा एउटा गतिशील यात्रा हो। गतिशील यात्रालाई प्रगतिशील सोचका साथ हेर्ने अभ्यास गरियो भने धेरै दुःखी हुनु पनि त पर्दैन। आफूले सकेसम्म र सक्दासम्म दिनुपर्ने योगदानमा कन्जुस्याइँ नगरौं भन्ने आह्वान कविको रहेको छ। उनी भन्दछन्ः

जीवनको श्यामश्वेत पर्दामा
अझै पनि लेख्नुछ गीतहरू
जीवन रहेसम्म  यस धरामा
गाइरहनु छ मैले

(पृ. २६) 

कवितामा प्रस्तुत भएको शालीन भाव वा शब्दले कविको मनोदशा दर्शाउँछ। उनी एउटा तपस्वीजस्तै सत्य र न्याय, सङ्घर्ष र प्राप्ति, जीवनका आवेग र संयम आदि पक्षलाई अहिले जीवनकै थुम्कोबाट नियालिरहेका छन्। हामी उनलाई र उनको कवितालाई सोही लयमा पढिरहेका छौं। प्रत्येक दिन समाजलाई सचेत बनाउन लागि पर्ने कविको वाणीले मात्र पुष्टि गर्दैन, उनी स्वयं सांस्कृतिक आन्दोलनका एक धरोहर भएकाले पनि उनले व्यक्त गरेका विषयहरूमा समाज, प्रकृति, जीवन दर्शन, वर्गसङ्घर्षका अनेक रङहरू निकै सुन्दर र शालीन ढङ्गले जोडिएर प्रस्तुत हुन आएका छन्। ‘शब्दशाला’ शीर्षकको कवितामा कवि यसरी पोखिन्छन्ः

आक्रोश, आलोचना र घृणाका
शब्दहरू मात्र छैनन् मसँग
साँघुरो, कठोर र अनुदार मात्र छैन
मेरो शब्दशाला
हजारौं प्रिय शब्दहरू छन् मेरा शब्दशालामा
तिमीले भनेजस्तो
आलोचक र निन्दक मात्र होइन म।

(पृ. ८३, शब्दशाला)

मानिसले एउटै वस्तुलाई पनि पटकपटक र अनेक कोणबाट हेर्न जरुरी छ यदी पूर्वाग्रह राखेर पुरानै सोच र विचारमा हामीले पटक पटक मूल्याङ्कन गर्न खोज्छौं भने नतिजा एउटै आउँछ। मान्छे त्यस्तो होइन। वस्तुले मान्छेलाई बदल्छ। दृश्यले विचार र विचारले व्यवहारलाई सही मार्गतिर लैजान प्रेरित गर्दछ। मात्राबाट गुणमा परिवर्तन आउनु विज्ञानको विषय हो।

हामी जति तर्कबाट तथ्यतर्फ अगाडि बढ्दै जान्छौं त्यहाँ समाधान नहुने विषय कमै हुन्छन्। मान्छेका सीमा धेरै छन्। सीमाहरूलाई नै आधार मानेर हामीले विश्लेषण गर्ने गल्ती गर्‍यौं भने मान्छेभित्र सकार होइन नकार मात्र भेटिन्छ। कवि अमर गिरी एउटा सौन्दर्यशास्त्री र समालोचक समेत भएकाले पनि उनको काव्यवाणीमा परिपक्कताको पर्याप्त प्रमाण भेटिन्छ।

कविको द्वन्द्वात्मक भौतिकवादी दृष्टि र समाजलाई हेर्ने एउटा खास सोचले कविताहरू निकै प्रभावित भएका छन्। कतै बितेका दिनको यादले तानेजस्तो त कहिले गर्नुपर्ने धेरै कामको दबाबमा कवि चेपिएका पनि छन्। आफूले समाजकै लागि केही गरिरहेको प्रष्टोक्ति सहित उनी भन्दछन्ः

कुनै दिन रहने छैन म
जीवित रहनेछन् 
मेरा पाइलाका डोबहरू
भेटिनेछु म तिनै डोबहरूमा कतै
तिनै डोबहरूमा कतै
सुरक्षित रहनेछन् मेरा स्मृतिहरू।

(पृ. ८७, भेटिनेछु म)

स्वाभाविक हो, मान्छे मरणशील प्राणी हो। मान्छेको सचेतता भौतिक रुपमा आफूलाई सधैं जोगाउन सक्ने योग्यताको पनि त छैन। एउटा साधारण प्रकृया वा आकस्मिक घटनाले मान्छेको भौतिक जीवन अस्ताउँछ। मान्छेले गरेका काम पहिल्लो पुस्ताका लागि कति कामयाब होला? मान्छेले उपभोग गर्न पाउने गरी निर्माण गरिएको वस्तुभन्दा पनि विचार बलिया र प्रभावशाली रचनाहरू हुन्। आफ्नै लयमा बग्ने क्रममा खियाएका, बगाएका र थुपारेका सामग्रीले नदीलाई कतै गति दिने हुन्छ कतै स्वरुपमा परिवर्तन गरिदिन्छ त कतै अवरोध पनि त गर्छ। हो, जस्तो होस् न   मान्छे पनि आफ्ना सुन्दर कर्मले चिनिने र त्यही आधारमा शब्दमा बाँच्ने उपक्रममा रहन्छ। 

राज्यसत्ताका खिलाफमा कविता
समाज वर्गीय छ। वर्गीय समाज भएका कारण राज्यसत्ता पनि वर्गीय पक्षधरतामा चल्छ। मेहनतकस धेरै जनताको रगत र पसिना चुसेर बाँच्ने र नाच्ने सरकार केवल नाम मात्रका संरक्षक वा अभिभावक हुन्छ। 

जनताको पीडा नचिन्ने र पसिनाको मूल्य नचुकाउनेहरूको प्रवृत्ति अत्यन्त निन्दनीय छ। अदालत, सेना, प्रहरी अनि प्रशासनलाई साथमा लिएर उल्टै जनप्रतिनिधि जनतामाथि पीडा थप्न तल्लीन दृश्य नजिकैको सिंहदरबारका ठेकेदारहरूको मात्र होइन, व्हाइटहाउससम्म पनि यस्तै उपक्रम दोहोरिरहेको देख्न सकिन्छ।

पछिल्लो समय जनताको नाम लिएर शासनमा बसेका मान्छेहरूले जनताको बलिदानीबाट प्राप्त गरेको गणतन्त्रलाई नै बदनाम बनाएका छन्। मान्छेको मूल्यलाई धेरै सस्तो बनाएर कुनै विधि वा पद्धति विना शासक बनेकाहरू जनताप्रति उत्तरदायी नभई बिचौलिया र तस्करहरूको प्रतिनिधि रहेको कुरा दिउँसोको घाम जत्तिकै छर्लङ्ग छ। यही विषयलाई गहकिलो पारामा प्रस्तुत गर्दै कवि भन्छन्ः

​​​​​​​सुन्ने कलामा पोख्त छन्
उनीहरू प्रवचन सुन्छन्, भजन सुन्छन्, पुराण सुन्छन्
सुन्छन् र झङ्कृत हुन्छन्
विलक्षण छ सुनाइ
सुनाइमा कुनै दोष छैन
बस्, उनीहरू आलोचना सुन्दैनन्।

(पृ. १०२, शासक)

एकातिर शासकहरू आफ्नो भजन गर्ने भक्तको खोजीमा छन् भने अर्कोतर्फ निम्न वर्गका मानिसहरूको मनोदशा निकै असहज छ। दैनिक गुजारा गर्न धौ धौ परेको अवस्थामा राज्य छ र यसले हेर्छ भनेर सोच्नु दुस्वप्न जस्तै बनेको छ जनतालाई। कति असहज छ आजको विश्व राजनीति र लोकतन्त्रमा जनताको जीवनस्तर? जनताको अभिभावक भन्नेहरू नै जनताको हत्यारा बनेका छन्। उनीहरू राज्यबाट गरिबी होइन गरिब मास्ने रणनीति स्वरुप ‘मुचुल्का’ कवितामा भनिएजस्तै दृश्यको वातावरण तय गरिरहेछन्ः

​​​​​​​आत्महत्याका निम्ति
कसरी विवश भए उनीहरू
कति गहिरो थियो दुःखको कथा
ऋणले कुप्रिएको ढाडको भाषा कस्तो थियो?
कस्तो थियो चिन्ताले छिया छिया परेको कलेजो?

(पृ. १०३, मुचुल्का)

देशमा सरकार छ। सरकार कसको हो? किन बन्ने र भत्कने गर्छ सरकार ? यो आम मानिसको विषय होइन। विषय त यो हो कि जनता सरकारबाट राहत पाउनुको सट्टा आहत महसुस गरिरहेका छन्। प्रत्येक वर्ष बढिरहेको बैदेशिक ऋण, विदेश जाने युवाहरूको लर्को र कमजोर बन्दै गएको हृदयभित्रको देशको नक्साले हामीलाई प्रतिदिन चिन्तित तुल्याएको छ। सर्वसाधारणका लागि त सरकार पनि एउटा साहु मात्र हो। साहुसँग छैन कुनै मानवीय संवेदनाः

​​​​​​​सरकार छ, देश छ, शङ्का लाग्छ
शङ्काको इतिहास पनि लामो छ देशको इतिहासजस्तै
आफैसँग प्रश्न गर्नु मसँग देश छ कि छैन?
सरकार छ कि छैन ?
नागरिक हुँ कि होइन म यस देशको?

(पृ.  ७२, जुनमाया) 

सामन्तवादी राज्यसत्ता र यसको चरित्रलाई उदाङ्गो बनाउन उनका कलम अहोरात्र खटिइरहेका छन्। आज राज्य नै विद्यमान समाजका विभेद, उत्पीडन र शोषणको प्रतिकार र परिवर्तन उन्मुख  समाजको विपक्षमा छ। आफ्ना गलत शासकीय प्रवृत्ति प्रस्तुत गर्न तल्लीन सरकारी संयत्र जनताका लागि छैन तथापि बिचौलिया र अवसरवादीहरू निम्ति अभिभावक बनिरहेको छ। 

हाम्रो देश नेपाल गणतन्त्रको संविधान पढाउँछ। आम मानिस प्रतिनिधिमार्फत् देशको स्तर उकासिएको हेर्न चाहन्छन्। परिस्थिति त्यस्तो देखिँदैन। श्रमप्रतिको सम्मान, सङ्घर्षमय जीवनप्रतिको सम्मान र सामाजिक रुपान्तरणप्रतिको निकटता र सक्रियता चाहने कविको विचार अग्रगामी रहेको देखिन्छ। कवि समाजका सम्पन्न वर्गका मान्छेलाई संरक्षण गर्ने र श्रम गरेर बाँचेका मान्छेहरूलाई हेप्ने सरकार सरकार होइन संहारकर्ता हो भन्ने आशय व्यक्त गर्दछन्।

महिला मुक्तिका निम्ति जूनमायाहरू निरन्तर प्रयासरत छन्। सङ्घर्ष विना प्राप्ति नहुने विषय कविले उठाइरहँदा २०५० को दशकमा नेपाली नारीहरूले राज्यसत्तालाई बन्दुकले चुनौति दिएको विषय पनि बिर्सन नहुने आशय अभिव्यक्त गरेका छन्। 

कवि महिला पात्रहरूलाई उभ्याएर नेपालको सामन्ती राज्यसत्तालाई चुनौती दिन सक्षम नारीहरूले परिवर्तनका निम्ति गरेको योगदान नभुल्न आग्रह गर्दछन्। कवि ‘कालीगण्डकी’ शीर्षकको कवितामा राष्ट्रको स्वाधीनताको विषयलाई जोडेर प्राकृतिक सम्पदाको रक्षा खातिर युवाहरू जाग्न जरुरी रहेको तर्फ जोड दिन्छन्ः

​​​​​​​देश  छ, शायद तिम्रा निम्ति छैन
देश चलाउनेहरू छन्
शायद तिम्रा निम्ति छैनन्
तिम्रो देशलाई काटिरहेछन् कोही बगरेले जसरी
र बेचिरहेछन् बजारमा
तर चुपचाप छ शासन
यो शासन हो कि व्यापारीहरूको दोकान 

(पृ. ३३, कालीगण्डकी)

आज देशको राष्ट्रियता निकै कमजोर बनेको छ। एउटा स्वाधीन राष्ट्र कायम हुनका निम्ति आत्मनिर्भर अर्थतन्त्र आवश्यक छ। नदीनालालाई बन्धकी राख्ने अनि राज्यको नेतृत्व गर्छु भनेर कुर्लने नेतृत्व नालायक बन्दै गइरहेको आजको परिस्थितिमा जनता सचेत भए मात्र सही सरकार निर्माण हुने विषय यहाँ उद्घाटित छ।

सत्ताले भत्ताको मात्र स्वाद फेरिरहँदा निम्न वर्गका नागरिकहरूलाई जीविका चलाउन धौ धौ परिरहेछ। नेपाल नदीनाला, हिमाल, पहाड र सुन्दर तराइको अनुपम कुलयोग हो। यदी आफ्नो प्राकृतिक सम्पदा नासिँदै र मासिँदै गएको बेला पनि हामीले आवाज नउठाए वा उठाउन नसके हामी कसरी नेपाली हुन सक्छौं ? भन्दै कवि नदीनाला बेचुवा नेतृत्वप्रति आक्रोश व्यक्त गर्दछन्।

आशावादी जीवनदृष्टि
प्रगतिशील चेतना भएका कविहरूमा जीवनलाई हेर्ने आशावादी दृष्टिकोण हुन्छ। आफ्नो अभिव्यक्तिमा एउटा ऊर्जा भरेर गलतका विरुद्ध आवाज उठाउनु नै कर्तव्य हो भन्ने ठान्नु प्रगतिशील स्रष्टाको परिचायक बन्न पुगेको हुन्छ। समाजका निम्न वर्गीय मान्छेहरूको पक्षधर कवि गिरीले आम मान्छेका सुख दुःखलाई कवितामा जोड्ने मात्र नभएर त्यसमा सही नतिजा दिन उत्प्रेरित समेत गरेका छन्। कवितालाई निम्न वर्गको चेतना बिस्तार गर्ने माध्यमका रुपमा लिएर कवि आफ्नो लामो कविता यात्रालाई जोड्न चाहन्छन् र भन्छन्ः

​​​​​​​म बहुला बन्दुकसँग लडेको थिएँ
र, त्यसलाई निल्ने आँट गरेको थिएँ
आगो खाने आँट नगर्नेले आगो ओकल्न पनि सक्दैन
बुझेको थिएँ आगो खाने हिम्मत नगरी
इतिहास बदल्न सकिन्न ।

(पृ. ६०, के निरर्थक छ मेरो डर?)

इतिहासमा हजारौं श्रमजीवी वर्गका मानिसले आफूलाई परिवर्तनका निम्ति शहादत गरेका छन्। वाक् स्वतन्त्रता र उन्नत जीवनका लागि दिएको जीवन जीवित लाखों परिवारले लाभ प्राप्त गर्न सक्ने ठाउँमा पुर्‍याउनै पर्दछ। परिवर्तन शब्दको होइन व्यवस्थामा हुनु पर्दछ। मान्छे आफ्नो जीवनका लागि मात्र कर्म गर्छ भने त्यसलाई केही भन्नु छैन। आफ्नो जीवन सामर्थ्यले समाजलाई उज्यालो दिने कर्म गरिए मात्र मान्छेको जीवन साँच्चै ने ऐतिहासिक बन्न सक्छ भन्ने भाव कवितामा परेको छ। 

नेपाली समाजका धेरै सपना बोकेर सत्ताको धुरीमा पुग्ने अनि आफ्नो मात्र आम्दानी र व्यवस्थापनका लागि काम गर्ने लामो परम्परा बिस्तारै तोडिँदै छ। साना साना मानिसहरूले पनि एकताबद्ध भएर महान कर्म गर्न सक्दछन्। २००७ साल, २०३६ साल, २०४६ साल र २०५२ साल बाट सुरु भएको आन्दोलन यही यात्राका क्रमशः गुणात्मकता तर्फको मार्ग हो। नेपालमा व्यवस्था परिवर्तन भएर गणतन्त्र आएपनि यो साधारण मानिसका लागि दैनिक जीवनमा रुपान्तरण हुन सकेको छैन।

ठूला सपनाहरू देखाएर
कसरी लुटिन्छन् साना सपनाहरू
ठूला सपनाहरूका निम्ति
कसरी बलि चढ्छन् साना सपनाहरू
त्यसको एउटा दृष्टान्त हुँ म।

(पृ. ६५, साधारण सपना)

प्रोढ कवि आफ्नो उपासनालाई जनतामा उत्साह भर्ने कर्मतर्फ प्रवृत गर्दछन्। प्रत्येक मान्छेभित्र एउटा गतिशील ऊर्जा हुन्छ। सोही ऊर्जालाई आगो भन्न पनि सकिन्छ। दमन र उत्पीडनले बनाएको घाउ ऊर्जाको उज्यालोले निको पार्नुपर्छ। ठूलो गुरु समय हो। यसले प्रत्येक शिथिल पात्रहरूलार्य पनि निकै ठूलो शक्ति प्रदान गर्दछ। आफ्नो जीवनमा सामथ्र्यको पाठ आफ्नी आमाले नै पढाएको स्मरण ‘आगो’ कवितामा उल्लेख गर्दछन्। कवि आफू विचारशील हुनु भनेको कवि हुनु हो, अभियन्ता हुनु हो। समयलाई राम्ररी चिनेर अगाडि बढ्न पनि त दुःखदायी घटना र मोडहरूले उत्प्रेरित गर्दछ। कवि काव्य वाणी नै पोख्छन्ः

​​​​​​​विचारको इतिहासमा
शायद सबैभन्दा दुःखदायी हुन्छ
विचारहीन हुनु
एउटा भयानक दुर्घटनाजस्तै।

(पृ. ४३, दुःखदायी) 

यहाँ एउटा छोटो तर सिङ्गो कविता दर्शनको मूल पाठजस्तै भएर उपस्थित छ। विचारहीन हुनु भनेको सिल्ली हुनु हो। विचार लिनेले आफ्नो जीवनपछि पनि यो समाज रहन्छ भन्ने कुरा बुझेको हुन्छ। जब मान्छेको सोचमा परिवर्तन आउँछ, कर्मपथमा सहजै तीब्रता आउने कुरालाई कवि जोड दिन्छन्। कविको विचारमा जीवन यात्राको कुनै खुड्किलोमा कुनै हिसाबले कमजोरी भएको भए पनि निरन्तर यात्रामा त्यसलाई सच्याएर अगाडि बढ्नुको विकल्प छैन। प्राकृतिक जीवनमा पनि एउटाको कमजोरीलाई अर्कोले क्षतिपुर्ति गर्ने गर्दछ। 

सचेत मान्छेले निरन्तर रुपमा गर्ने गतिविधिले मानव जातिको उन्नतिका लागि मात्र होइन पर्यावरणलाई पनि संरक्षित गर्नुपर्दछ। मान्छे र पर्यावरण अन्योन्याश्रित सम्बन्धका तत्वहरू हुन्। कवि कतै प्रकृतिलाई हाम्रो साथीका रुपमा चर्चा गर्दछन् त कतै उनी मान्छेलाई मान्छे भएर बाँच्न नदिने साम्राज्यवादी बहुराष्ट्रिय कम्पनीलाई राम्रैसँग प्रहार गर्न पुग्छन्। केवल नाफाका काम गर्नेहरूको दुनियामा एउटा श्रमिक बाँच्न निकै कठिन छ। 

नयाँ युग प्रारम्भको घोषणा
बेला पब्लिकेसन्सले प्रकाशनमा ल्याएको ‘रातमा कलम’ सङ्ग्रहमा ६७ ओटा कविताहरू सङ्गृहित छन्। कविताहरू सबै नै गद्य लयमा लेखिएका छन्। आफ्नो जीवन यात्राको सबै खाले अनुभवमा अनुभूतिको सञ्चार गराएर शब्दका रुपमा निसृत रचनाहरूले कवि अमर गिरीलाई एक परिष्कृत कविका रुपमा प्रस्तुत गरेको छ। 

कविता सङ्ग्रहको नाम ‘रातमा कलम’ छ। झट्ट हेर्दा अलि अनौठो लागे पनि कवि आफ्नो समयलाई कतिबेला के प्रयोजनका निम्ति लगानी गरिएको हो भन्ने पुष्टि गर्न यो कविताभित्रको सन्दर्भबाट प्रष्ट पार्दछन्। आफ्ना मनभित्रका भाव पोखेपछि आनन्द लाग्ने मात्र होइन आफ्नो कर्तव्य पूरा भएको महसुस गर्दछन्।

आवेगहरू पनि त सिर्जनाका लागि ऊर्जा हुन्। कहिले आफ्नो जीवनको निकै जटिल यात्रामा पनि रातलाई चेतना प्रसारणको समय मानेका छन्। कसैले कहीँबाट अलमल पार्न नसक्ने रातलाई निकै राम्ररी सदुपयोग गरेर अन्धकार रुपी रातलाई बिदा गरेर नयाँ युगको प्रारम्भ गरेको विचार व्यक्त गरेका छन्।

यस सङ्ग्रहभित्रका कविताहरूले कविलाई विचारका सिपाही र शिल्पी दुवै हिसाबले स्थापित गरेको छ। समकालीन कवितामा निरन्तर पठन, लेखन र अनुसन्धान गर्नेहरूका लागि पुस्तक सङ्ग्रहणीय र पठनीय छ।