कथा
युद्धको अघिल्लो दिन, यसै पनि आफ्नो सम्बल बढाउनु पर्ने बेलामा आफूले सुन्नै मन नगरेको विषयचाहिँ नकोट्याइयोस् भनेर उनी केही भन्न खोजेझैँ देखिए, तर परशुरामले उनको त्यो प्रयत्न बुझेको नबुझ्यै गरिदिए।
मंसिरको रात निकै छिप्पिइसकेको थियो र चिसोले आफ्नो कठोरता देखाउन थालेको थियो। शुक्ल पक्षको दशमी तिथि, रातको दोस्रो प्रहर। आकाशमा चन्द्रमा झन्डै दुईतिहाइ आकारमा झल्मलाइरहेको थियो। शुक्लपक्षको एउटा अद्भुत विशेषता– चन्द्रमाको उज्यालो भाग जति-जति फैलिँदै जान्थ्यो, त्यसभित्रका काला टाटा पनि उत्तिकै प्रस्ट र छर्लंग देखिन थालेका थिए। मानौँ, चन्द्रमा सूर्यसँग पैँचो मागेको उज्यालोले आफ्ना दाग छोप्ने असफल प्रयास गरिरहेको थियो। विडम्बना, उसको सतहमा उज्यालोको साम्राज्य जति विस्तार हुन्थ्यो, उसका खोटहरू उति नै उदांगो भइरहेका थिए।
कुरुक्षेत्रको पश्चिमी किनारामा, कौरवहरूको शिविरको उत्तरतर्फ, घना जंगलको छेउको एउटा सानो मैदानको लगभग मध्यभागमा रहेको एउटा बूढो समीको रूखमुनि एक जना वृद्धको आकृति भुईंमा कुक्रुक्क परेर घोप्टिएको देखिन्थ्यो।
अनपेक्षित रूपमा, त्यो आकृति देवव्रत भीष्मको थियो। भीष्म न त निद्रामा थिए, न त पूर्ण जागरणमा; उनी त आफ्नै चेतनाको कुरुक्षेत्रमा एउटा यस्तो युद्ध लडिरहेका थिए, जहाँ विपक्षी कोही थिएन, उनको आफ्नै विगत थियो। उनी सुतेका थिएनन्, बालुवामा घुँडा टेकेर र निधार भुईंमा टेकाएर कुनै अदृश्य शक्तिको अगाडि आफ्नो सम्पूर्ण अस्तित्व बिसाइरहेका जस्ता देखिन्थे। दिव्यास्त्रहरूका अधिपति भीष्म आज आफ्नै स्मृतिको भारले थिचिएका थिए र कर्तव्याकर्तव्यको चक्रव्यूहमा परेर निसास्सिएका थिए।
उनको छेउमा सानो धुनी बलिरहेको थियो। उनको बसाइँका कारण अनुहार छोपिएको भए पनि आगोको कम्पित उज्यालोमा उनको रूपरङ ठम्याउन सकिने नै थियो। नजिकै बगिरहेको सरस्वती नदीको सुसाहटबाहेक त्यहाँ मसानघाटको जस्तै सन्नाटा थियो, केही निशाचरहरूको आवाजले त्यसलाई अझ सघन पारिरहेको थियो। त्यसको पचास कदम जति पर उनको सुपरिचित सेतो घोडा चरिरहेको थियो।
भोलि एकादशी। भोलि सूर्य उदाएलगत्तै शंखनादमार्फत युद्धघोष हुनेछ र उनको आफ्नै नेतृत्वको एघार अक्षौहिणी कौरव सेना पाण्डवको सात अक्षौहिणी सेनासित भिड्न थाल्नेछ। अहिले उनी बसेकै ठाउँबाट पनि पर रहेका सैनिक शिविरहरूको उज्यालो अलअलि देखिइरहेको थियो। यस युद्धमा जसले जिते पनि त्यो अपूरणीय महाविनाश हुनेछ भन्ने भीष्मलाई निकै अघि नै थाहा भइसकेको थियो। त्यो ऐतिहासिक युद्ध अब रोक्न नसकिने ठाउँमा पुगिसकेको छ भन्ने पनि उनलाई थाहा थियो। र पनि, केही सोध्न, केही भन्न वा मनको कुनै भारी बिसाउनलाई होला, उनले आफ्ना गुरु परशुरामलाई आह्वान गरेका थिए र परशुरामले नै दिएको समय र भनेका ठाउँमा उपस्थित भएका थिए।
अचानक वन कुकुरको जस्तो ख्याक्क आवाज आयो र हरायो। अनि एक्कैछिनपछि, चौरमा छरिएका पात पतिंगरहरू माथि टेक्दै हिँडिरहेका गह्रौँ पाइलाको आवाज आयो। त्यस सँगसँगै वनका स्वाभाविक ध्वनि मौन भए। हावाको गति रोकिएझैँ भयो। तर भीष्मले टाउको उठाएनन्। कुहिरो फाटेजस्तो भयो र धुनीको अर्को छेउमा, रगत कटकटिएको हो कि खिया परेको भनेर नचिनिने बन्चरो काँधमा बोकेका, जटाजुटधारी भगवान् परशुराम उभिए।
भीष्मले भुइँमा टाँसिएको निधार अझै उठाएनन्। उनको स्वर लेग्रो तानिएर, झण्डै–झण्डै रोदन जस्तै सुनियो, “प्रणाम गुरुदेव! यो अभागी देवव्रतको अन्तिम प्रणाम स्वीकार गर्नुहोस्।”
परशुरामले कुनै आशीर्वाद दिएनन्। उनी नजिकैको एउटा चप्लेटी ढुंगामा बसे, जुन उनकै लागि भनेजसरी त्यहाँ राखिएको थियो। उनले घोप्टिएका भीष्मतिर हेरे। परशुरामका आँखामा न करुणाको आर्द्रता थियो, न त वितृष्णा वा आक्रोशको ताप। त्यहाँ त केवल इतिहासको तटस्थ र निर्मम अवलोकनबाट जन्मिएको एउटा गहिरो रिक्तता थियो। मानौँ, उनी भीष्मलाई होइन, एउटा ढल्न लागेको विशाल वृक्षलाई हेरिरहेका थिए।
“उठ देवव्रत!” परशुरामको स्वर रातको चिसो हावाभन्दा गह्रौँ थियो। “तर भीष्म, आज तिम्रो यो प्रणाममा गुरुभक्तिको सुवास छैन, बरु छ पराजयको हरक। युद्ध त भोलि मात्र शुरू हुँदैछ होइन र? तर तिमी आजै हारिसकेको सेनापति जस्तो देखिन्छौ, किन?”
भीष्म बिस्तारै उठे। उनको शरीर थरथर कामिरहेको थियो। उनले धुनीमा एक मुठ्ठी दाउराका चोइटा थपे। आगो दन्कियो। त्यही उज्यालोमा गुरु र शिष्यका आँखा जुधे।
“गुरुदेव,” भीष्म गह्रौँ र विदीर्ण स्वरमा बोले “मैले सकिनँ।”
परशुराम केही बोलेनन्, अर्थात्, भीष्मलाई नै बोल्न लगाए।
अलिकति घोसे मुन्टो लगाएर भीष्म बोले, “मैले हस्तिनापुरलाई जोगाउन आफ्नो व्यक्तिगत सुख त्यागेँ। विवाह गरिनँ, राजगद्दी त्यागेँ। केवल सिंहासन सुरक्षित रहोस् भनेर आफ्नो सम्पूर्ण जीवन होमेँ। तर आज, मेरो जीवनको सन्ध्याकालमा, म जहाँ उभिएको छु, त्यहाँबाट अगाडि हेर्दा केवल विनाश मात्र देख्दैछु। के मेरो त्यागको फल यही विनाश हो गुरुदेव?”
परशुरामले ओठ नखोली चिसो र कठोर, तर हाँसो जस्तो-जस्तो आवाज निकाले। त्यो हाँसोमा व्यंग्य मात्र थिएन, अलिकति उपायहीनता पनि थियो।
“त्याग? भ्रममा नपर देवव्रत! त्यो त्याग थिएन। त्यो त तिम्रो अहंकारको सबैभन्दा परिष्कृत र भयानक रूप थियो। तिमीलाई लाग्यो, आफू नभए हस्तिनापुरको सूर्य अस्ताउनेछ। तिमीले आफूलाई राज्यको अभिभावक ठान्यौ, तर सत्य त यो हो कि तिमीले हस्तिनापुरलाई कहिल्यै आफ्नै खुट्टामा उभिन सिकाएनौ, बरु त्यसलाई तिम्रो आफ्नै वैशाखीमा आश्रित राख्यौ। तिमीले राज्यलाई बलियो होइन, परजीवी बनायौ। तिमी सिंहासनमा त बसेनौ, तर राज्यलाई आफ्नो अहं र अनिर्णयको बन्दी बनायौ र जीवनभर त्यही झ्यालखानाको कारापाल बनेर बसिरह्यौ।”
सम्भवतः भीष्मले गुरुबाट यति कठोर वचनको अपेक्षा गरेका थिएनन्। उनी एक अंगुल जति अझ घोसिए।
परशुरामले नजिकै बगिरहेको नदीलाई देखाउँदै भने, “यो नदी बगिरहेको देख्दैछौ नि, देवव्रत! हावा चलिरहेको पनि अनुभव गरिरहेकै छौ। नदी, हावा र समयले हामीलाई सदैव निर्बन्धताको पाठ पढाइरहेका छन्। समाज र राजनीति पनि कसैका सांगाहरूमा बाँधिँदैन। तर तिमीले जीवनभर सामाजिक र राजनीतिक प्रवाहहरूलाई बाँध्न खोज्यौ। तिमीलाई लाग्यो, बाँध बलियो भयो भने नदी सुरक्षित रहन्छ। तर थुनिएको पानी गतिहीन हुन्छ र बग्न नपाएको पानी सफा हुन पाउँदैन भन्ने तिमीले बुझ्न सकेनौँ। तिमी त्यति अबुझ त थिएनौँ, सायद बुझ्नै चाहेनौ। जसरी बगेको पानीले आफूलाई आफैँ चोख्याउँदै जान्छ, आफ्नै गतिमा अघि बढेको समाजले पनि आफूलाई परिमार्जन गर्दै जान्छ। तर तिमीले हरेक क्षणमा समयलाई रोक्न खोज्यौ, र आफ्नो हिसाबले हिँडाउन खोज्यौ। तिमी पितामह भनिएकोमा दंग परिह्यौ तर न त पौत्र-प्रपौत्रहरूको समय चिन्यौँ न त चिन्नुपर्ने आवश्यकता नै बुझ्यौ।”
“केही गल्ती अवश्य भए हुनन् गुरुदेव, तर मेरो नियत कहिल्यै नराम्रो थिएन...”
परशुराम भीष्मको धुनीमा दाउरा चलाउँदै, भीष्मलाई उनका कदम र कामहरू सम्झाउँदै तिनका परिणामहरू नंग्याउन र केलाउन थाले।
“देवव्रत, तिम्रा ती 'महान्' भनिएका निर्णयहरूले आज कस्तो वीभत्स नतिजा ल्याए, आँखा उघारेर हेर!”
परशुरामको स्वरमा समयले खारेको गम्भीरता थियो। “पहिलो, जुन ‘भीष्म प्रतिज्ञा’ का लागि तिमीले भारतवर्षभरि प्रशंसा बटुल्यौ, सम्झ त त्यो दिन! तिमीले भन्यौ, ‘पिताको खुसी र राज्यको स्थिरताका लागि म ब्रह्मचारी बस्छु’। सुन्दा कति उदात्त, कति महान्! तर सत्यको कसीमा घोटेर हेर त, तिमीले आफ्ना बाबुको अमित कामवासनाको तृप्तिका लागि सिंगो राज्यको मेधालाई नववंशवाद को चिहानमा गाडिदियौ। तिमीले गरेको त्यही एउटा भावुक प्रतिज्ञाले हस्तिनापुरको सबैभन्दा योग्य उत्तराधिकारीको अधिकार मात्र खोसेन, बरु हस्तिनापुरलाई सधैंका लागि अयोग्य र कमजोर शासकहरूको हातमा सुम्पिएर एउटा राजनीतिक पतन इनार खन्यो। त्यस इनारले कहिल्यै कसैको तिर्खा मेटाउन सकेन, तर आज त्यसैमा सबै जना डुब्दैछन्।”
यहाँ भीष्मले गुरुको वाक्य पूरा पनि हुन नपाई, पुलुक्क परशुरामका आँखामा हेरेर प्रश्न गरे, “कसको अधिकार खोसियो र गुरुदेव?”
“तिम्रो आफ्नै!” गुरु बोले। तिमीले बाबु राजा शन्तनुको कामवासना र सत्यवतीका बाबु निषादराज दासराजको आफ्नै नातिलाई राजा बनाउने तुच्छ स्वार्थसँग देशको भविष्य साट्यौ। त्यो दिन तिमीले हस्तिनापुरलाई एउटा यस्तो खाडलमा खसाल्यौ, जहाँ योग्यता भन्दा स्वार्थ ठूलो भयो। तिमीले राज्य बचाउने नाममा समाज र राज्यका नियम, प्रचलन र भविष्यको सम्भावनालाई खाडलमा खसालिदियौ।”
भीष्मले घोसे मुन्टो लगाएरै, पिलिक्क परशुरामका नजरमा हेरे। उनले आफ्नो महान् भीष्म प्रतिज्ञालाई आफ्नै गुरुले यसरी धुजा धुजा पारिदेलान् भन्ने लागेको थिएन।
“तिमीले राजमुकुट त त्याग्यौ, तर राजशक्तिबाट आफूलाई कहिल्यै मुक्त गर्न सकेनौ। काशीका राजकुमारीहरू ...”
यो घटना वास्तवमा भीष्मको मनमा रहेको, गाडे पल्टेको घाउ थियो। युद्धको अघिल्लो दिन, यसै पनि आफ्नो सम्बल बढाउनु पर्ने बेलामा आफूले सुन्नै मन नगरेको यो विषय चाहिँ नकोट्याइयोस् भनेर उनी केही भन्न खोजेझैँ देखिए, तर परशुरामले उनको त्यो प्रयत्न बुझेको नबुझ्यै गरिदिए।
“तिमी राजा त भएनौ, तर तिम्रो अहंकार सधैँ नै राजकीय मुकुटभन्दा पनि गह्रौँ रह्यो। तिमीले बिनाउत्तरदायित्व शक्तिको यस्तो नग्न प्रदर्शन गर्यौ, जुन काम गर्न कुनै निरंकुश शासक पनि गर्न डराउँथ्यो। अम्बा, अम्बिका र अम्बालिकाको अपहरण तिम्रो सबभन्दा अराजकीय र अमानवीय कृत्य थियो। तिमीले त्यसलाई कुरुवंशको परम्परा र भाइको विवाहका लागि हो गरेको भन्यौ। तर त्यो अम्बाको प्रेम र जीवनलाई नै आफ्नो सिंहासनको मौलोमा बली चढायौ। एउटी अबलाको आँसुले भिजेको जगमा उभिएको हस्तिनापुर कसरी सुरक्षित रहन्थ्यो? प्रतिशोधको प्रतिमूर्ति शिखण्डी जन्माएको पनि तिमीले नै हो।”
परशुरामको स्वर अब अझ कठोर भयो, “अझ बाँकी दुइटी बहिनीहरूको हालत सम्झ। विचित्रवीर्यको मृत्युपछि वंश जोगाउने नाममा तिमीले ती भर्खरका बिधवा बुहारीहरूलाई, उनीहरूको पति वियोग र शोकका बारेमा ध्यानै नदिई, उनीहरूको इच्छा विपरीत, डरलाग्दो रूपरङ भएका व्याससँग नियोग गर्न बाध्य पार्यौ। तिमीले ती चेतनायुक्त नारीहरूलाई केवल सन्तान उब्जाउने कुरुवंशको खेत ठान्यौ, जहाँ तिमीले व्यासबाट बलजफ्ती बीजारोपण गरायौ। रुखो खेतमा उब्जेको बाली कहिल्यै पोसिलो हुँदैन, भीष्म! अपमानित कोखबाट जन्मिएको सन्तानले कहिल्यै न्यायको शासन गर्न सक्दैन भन्ने कुरा तिमीले बिर्सियौ। त्यसैले त आज तिमीले सिर्जना गरेको हस्तिनापुर कि त अन्धो छ, कि त रोगी!”
परशुरामले भीष्मका आँखामा सिधै हेर्दै भने, “अझै बाँकी छ भीष्म! तिमीले दृष्टिहीन धृतराष्ट्रलाई राजा स्वीकार गर्दा कुलको परम्परा र ‘ज्येष्ठता’ को प्राविधिक तर्क त गर्यौ, तर 'योग्यता' को धर्मलाई बिर्सियौ र विवेकको घाँटी निमोठ्यौ। तिमीलाई थाहा थियो, धृतराष्ट्र मोहले समेत अन्धा छन्, र तिनको मोहान्धताले राजाले राज्यलाई अन्धकारतर्फ धकेल्छ। तर तिम्रो अहंकारले भन्यो, ‘राजाले देख्न नसकेर के भयो, म छँदै छु नि सम्हाल्नलाई!’
तिम्रो यही ‘म छु नि’ भन्ने घमण्डले नै दुर्योधनलाई अझ अराजक र आततायी हुन प्रेरित गर्यो। उसलाई थाहा थियो, जस्तोसुकै पाप गरे पनि तिम्रो प्रतिज्ञा र योग्यताले उसलाई सुरक्षा दिइरहनेछ। देवव्रत, तिमी सधैँ एउटै कुरामा डराइरह्यौ, ‘म नभए यो राज्यको स्थिति के होला?’ तर तिमीले कहिल्यै यो सोच्ने हिम्मत गरेनौ, ‘म हुनाले यो राज्यको के दुर्गति भइरहेको छ?’ यदि तिमी समयमै पन्छिदिएको भए, इतिहासले अर्को र अझ सुन्दर मोड लिने थियो। तिमी पुरानो र विशाल वृक्ष जसरी उभिइरह्यौ, जसको छायामा अरू साना बिरुवाहरू कहिल्यै हुर्कनै पाएनन्। तिम्रो 'म छु' नै हस्तिनापुरको अस्तित्वको निरन्तरताका लागि सबैभन्दा ठूलो अवरोध भयो।
भीष्म निशब्द भए। उनका आँखाबाट तरर आँसु बगे र सेता दाह्री भित्र हराए।
“अनि द्रौपदी...” परशुराम रोकिएनन्। “त्यस दिन भरी सभामा आफ्नी कुलवधुको इज्जत लुटिँदा तिमी मौन बस्यौ। जुन दिन रक्षकले नूनको अगाडि न्यायलाई बन्धकी राख्छ, त्यो दिन ऊ कसैको पनि पितामह रहँदैन, प्रतिज्ञाको जन्जिरमा बाँधिएको एउटा जीवित काठको मूर्ति मात्र हुन्छ।”
परशुरामले अन्तिम प्रहार गरे, “तिमीलाई लाग्यो तिमीले हस्तिनापुरलाई आफ्नो काँधमा बोकेका छौ, तर वास्तवमा तिमीले अहिलेसम्म पनि हस्तिनापुरको घाँटीमा आफ्नो प्रतिज्ञाको सांलो अल्झाइरहेका छौ। तिमी लोकले बुझेजस्तो महामानव त हुँदै होइनौ, स्वतन्त्र इच्छाशक्ति भएका व्यक्ति समेत होइनौ। तिमी आफ्नै विगतका गलत सम्झौताहरूका कैदी मात्र हौ।”
रात गहिरिँदै थियो। भीष्मले काँपेको स्वरमा सोधे, “मैले बुझेँ गुरुदेव! म हस्तिनापुरको ढाल बन्न खोजेको हुँ। मैले यसको भविष्यको सास थुन्ने सांलो बन्न चाहेको थिइनँ। अब उपाय के छ गुरु? म यो खाडलबाट कसरी निस्कूँ?”
परशुराम उठे। उनले आफ्नो परशु काँधमा राखे। जाने बेलामा उनको स्वरमा अलिकति करुणा मिसियो।
“भीष्म! त्यो पनि त्यति सजिलो छैन। तिमीले इच्छामृत्युको वरदानको कवच जो ओढेका छौ तिमीलाई सत्य देख्न दिँदैन। तर अब तिम्रा लागि यो खाडलबाट जिउँदो निस्कने कुनै बाटो छैन। हस्तिनापुरले अब तिम्रो विजयबाट होइन, तिम्रो बहिर्गमनबाट मात्र नयाँ जीवन पाउन सक्छ।”
परशुरामले नजाँदिदो क्षमाशीलता मिसाएर थपे, “आज म तिमीप्रति नचाहँदा नचाहँदै पनि कठोर भएको छु। तिमीले आफ्नो छात्र जीवनमा समेत नदेखेको कठोरता अनुभव गरिरहेका छौँ। दशकौँ पहिले तिमीले आफ्ना बाबुका लागि त्यो भीषण प्रतिज्ञा गर्दा नै मैले यो कठोरता देखाइदिएको भए स्थिति अर्कै हुन्थ्यो होला। तर त्यसबेला मलाई लाग्यो, केही जडताहरू यति बलिया हुन्छन् कि तिनलाई परशुले काटेर सकिँदैन, तिनलाई आफ्नै अहंकारको आगोमा डढ्न दिनुपर्छ। त्यसबेला मैले तिमीलाई बचाउन होइन, यो व्यवस्थालाई यसको अन्त्यसम्म पुर्याउन बडो यत्नपूर्वक आफूलाई मौन राखेको थिएँ।”
फेरि भीष्म र परशुरामका आँखा जुधे। गुरुको पछिल्लो वाक्य भीष्मका लागि साँच्चै नै अनपेक्षित थियो।
“तर देवव्रत, तिम्रो राज्य र वंश अहिले जुन महाविनाशको सँघारमा उभिएको छ, यो तिमी एक्लो व्यक्तिको गल्तीको परिणाम मात्र भने होइन। समय त्यति निरीह पनि कहाँ हुन्छ र! यो त दशकौँदेखिका अनेकौँ मौनताहरू, डरहरू र क्षुद्र स्वार्थहरूबाट क्रमशः पोसिएका साना-ठूला अहंकारहरूको एउटा सामूहिक विस्फोट मात्र हो।”
यतिले मात्र पनि ती महान् योद्धा, अजेय देवब्रत भीष्म अलिकति आस्वस्त जस्ता देखिए।
“व्यक्तिगत रूपमा भन्दा, मेरो मौनताले तिमीलाई अजेय भएको भ्रमको कवच ओढाइदियो। तिमीलाई लाग्यो, गुरुले पनि नरोकेपछि म त धर्मकै बाटोमा छु। तर त्यही भ्रमले हस्तिनापुरलाई आज खरानीको बाटोमा उभ्याइदिएको छ। जब प्रबुद्धहरू मौन बस्छन् र शासकहरू आफू अपरिहार्य भएको भ्रममा पर्छन्, तब कुरुक्षेत्रको जन्म निश्चित हुन्छ।”
भीष्मले आफ्नो शब्दकोशमै नभएको शब्द ‘बहिर्गमन’कै अर्थ बुझेनन् कि त्यसको बाटो पहिल्याउन सकेनन्, परशुरामले प्रत्यक्ष र परोक्ष दुवै हिसाबले जवाफ दिइसकेको आफ्नो प्रश्न शब्दशः दोहोर्याए, “अब उपाय के छ गुरु? म यो खाडलबाट कसरी निस्कूँ?”
“सजिलो छैन भीष्म। तिमी स्वयं सेनापति भएर लडिने, भोलिदेखि शुरू हुने युद्धमा म तिमीलाई जित्नका लागि नलड, ढल्नका लागि लड भन्न पनि सक्दिनँ। विजय तिम्रो कर्ममा छैन र तिम्रो प्रायश्चित र मुक्ति पनि कुनै राजकीय मखमली बिछ्यौनामा छैन। म तिम्रो मुक्ति शरशैयामा देखिरहेको छु,” परशुराम अभिधार्थमै जवाफ दिन बाध्य भए।
“जब अर्जुनका तीखा वाणहरूले तिम्रो शरीर छिया-छिया पार्नेछन्, तब तिम्रो रगतसँगै तिम्रो अहंकार र यो दशकौँदेखिको ग्लानि पनि बगेर जानेछ। अनि तिम्रो शरीरले पृथ्वीको यो बलियो आधार पाउनेछैन र केवल शराग्रहरूमा अडिनु पर्नेछ, तब मात्र तिमीले आफूले बोकिरहेको धर्तीजत्तिकै गह्रौँ बोझहरूबाट वास्तविक मुक्ति पाउनेछौ। हस्तिनापुरलाई अब तिम्रो सुरक्षा होइन, तिम्रो पतन चाहिएको छ देवव्रत!”
यति भनेर परशुराम मध्यरातको कुहिरोभित्र एउटा छाया बनेर बिलाए।
भीष्म उभिए। सधैँजस्तै एक्लै, तर आज यो एक्लोपनमा कुनै बोझ थिएन। मानौँ यीनै कुरा, यति नै स्पष्ट शब्दमा सुन्नका लागि उनले लामो समयपछि गुरुलाई आह्वान गरेर भेटेका थिए।
नदीपारि स्यालको आवाजले रातको चकमन्नतालाई चिर्यो। भीष्मले आफ्नो भारी धनुष उठाए। आज पहिलो पटक उनको अनुहारमा युद्ध जित्ने उत्साह थिएन, बरु एउटा गहिरो आत्मबोध र मृत्युलाई अँगाल्न सक्ने शान्ति थियो।
उनले क्षितिजतिर हेरे, जहाँ भोलिको सूर्योदयले एउटा नयाँ युगको न्याय मागिरहेको थियो। उनी बिस्तारै बर्बराए, “प्रतीक्षा गर अर्जुन! म एउटा पुरानो र जड युगको अन्त्य गर्न र नयाँ न्यायको उदयका लागि बाटो छोडिदिन... ढल्नका लागि आउँदैछु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
