ट्रम्पलाई ग्रीनल्यान्डका दलहरूको जवाफ– हामी अमेरिकी बन्न चाहँदैनौँ

अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रीनल्यान्ड नियन्त्रणमा लिन बल प्रयोग गर्ने संकेत गरेपछि त्यहाँका दलहरूको साझा धारणा छ, ‘हामी अमेरिकी बन्न चाहँदैनौँ र पूर्ण रूपमा डेनिस पनि रहन चाहँदैनौँ, बरु हामी ग्रीनल्याण्डवासीका रूपमा आफ्नो स्वतन्त्र पहिचान बनाउन चाहन्छौँ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज स्रोतसम्पन्न डेनिस स्वायत्त क्षेत्र ग्रीनल्यान्ड नियन्त्रणमा लिन बल प्रयोग गर्न सकिने संकेत दिएपछि त्यहाँका राजनीतिक दलहरूले आपत्ति जनाएका छन्। ग्रीनल्यान्डमा सक्रिय दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरूमा ‘अमेरिकी बन्ने चाहना’ नरहेको बताएका हुन्। 

अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रीनल्यान्डका सम्बन्धमा वासिङ्टनले रुचाए पनि नरुचाए पनि केही कदम चाल्ने चेतावनी दोहोर्‍याएपछि शुक्रबार राति उक्त वक्तव्य आएको हो।

ग्रीनल्याण्डको संसद्मा प्रतिनिधित्व गर्ने पाँच दलका नेताहरूले साझा धारणा राख्दै भनेका छन्, “हामी अमेरिकी हुन चाहँदैनौँ र पूर्ण रूपमा डेनिस पनि रहन चाहँदैनौँ। हामी ग्रीनल्याण्डवासीका रूपमा आफ्नो स्वतन्त्र पहिचान बनाउन चाहन्छौँ। ग्रीनल्याण्डको भविष्यबारे यहाँका जनताले नै निर्णय गर्नुपर्छ।”

राष्ट्रपति ट्रम्पले स्वायत्त आर्कटिक टापु ग्रीनल्यान्डमा डेनमार्कको सार्वभौमिकतालाई बेवास्ता गर्दै शुक्रबार फेरि ग्रीनल्यान्ड कब्जा गर्न बल प्रयोग गर्ने संकेत दिएका हुन्। तेल कम्पनीका कार्यकारीहरूसँग भेनेजुएलामा लगानी गर्ने विषयमा ह्वाइट हाउसमा आयोजित भेटमा उनले भने, “उनीहरूले यो मन पराउन् वा नपराउन्, हामी ग्रीनल्यान्डमा पनि केही गर्नेछौँ।"

ग्रीनल्याण्डबारे सोधिएको प्रश्नमा उनले भने, “म एक सम्झौता गर्न चाहन्छु। यदि हामीले सहज तरिकाले सम्झौता गर्न सकेनौँ भने हामी यसलाई कठिन तरिकाले भए पनि गरिछाड्नेछौँ।”

राष्ट्रपति ट्रम्पले आर्कटिकमा रुस र चीनको बढ्दो सैन्य गतिविधिलाई मध्यनजर गर्दै खनिजले धनी टापुलाई नियन्त्रण गर्नु अमेरिकी राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण रहेको बताए। उनले भने, “हामी ग्रीनल्यान्ड रुस वा चीनले कब्जा गरेको देख्न चाहँदैनौँ। यदि हामीले त्यसो गरेनौँ भने उनीहरूले के गर्न सक्छन्, यो विचार गर्नुपर्ने विषय हो। त्यसैले हामीले ग्रीनल्यान्डलाई सहज वा कठिन, जसरी हुन्छ संरक्षण गर्नुपर्छ।”

चीन र रुस दुवै देशले हालैका वर्षहरूमा आर्कटिक क्षेत्रमा सैन्य गतिविधि बढाएका छन्, तर दुवैले यो विशाल टापुमा कुनै दाबी गरेका छैनन्। डेनमार्क र अन्य युरोपेली सहयोगीहरू ट्रम्पको भनाइबाट स्तब्ध भएका छन्। ग्रीनल्यान्डमा संयुक्त राज्य अमेरिकाको पहिलेदेखि नै सैन्य आधार रहेको छ।

डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले ग्रीनल्यान्डमाथिको आक्रमणले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) र दोस्रो विश्वयुद्धपछिको सुरक्षा संरचनाकै अन्त्य हुने चेतावनी दिएकी छन्। राष्ट्रपति ट्रम्पले सन् २००३ मा इराकमाथि भएको आक्रमणमा अमेरिकासँग सामेल भएको आफ्नो दृढ सहयोगी डेनमार्कको चिन्ताप्रति आश्वासन दिने कोशिश गरेका छन्।

“म डेनमार्कको प्रशंसक पनि हुँ, उनीहरू मसँग धेरै सकारात्मक छन्। तर तथ्य यो हो कि ५०० वर्ष पहिले उनीहरूको त्यहाँ डुंगामार्फत पहुँच थियो, यसको मतलब यो होइन कि उनीहरूको जमिनमा स्वामित्व छ,”  ट्रम्पले भने।

यसबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ग्रीनल्यान्डका विदेशमन्त्री र डेनमार्कका प्रतिनिधिसँग अर्को साता भेटवार्ता गर्ने कार्यक्रम छ।