इरानमा गत डिसेम्बर २८ देखि रियालको अवमूल्यनपछि शुरू भएको आन्दोलन इन्टरनेट बन्द र सुरक्षाकर्मीको बढ्दो दमनका बीच दुई हप्तादेखि जारी छ। प्रदर्शनकारीहरूले भाँडा बजाएर र आगो बाली सरकारविरोधी भावना व्यक्त गरिरहेका छन्।
इरानभर फैलिएको सरकारविरोधी प्रदर्शन शनिबार दुई हप्ता पुग्न लागेको छ। अधिकारीहरूले दमन जारी राखे पनि आन्दोलन रोकिएको छैन, बरु प्रमुख शहरमा नयाँ र्याली देखिएका छन्।
इन्टरनेट र अन्तर्राष्ट्रिय फोन सेवा लगभग पूर्ण रूपमा बन्द गरिएपछि देशभित्रको वास्तविक अवस्था बाहिरी संसारका लागि अस्पष्ट बनेको छ। यद्यपि, मानव अधिकार समूह र सीमित रूपमा उपलब्ध भिडियो प्रमाणका आधारमा मृतक, घाइते र पक्राउ पर्नेको संख्या बढिरहेको देखिन्छ।
अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सी’का अनुसार हालसम्म कम्तीमा ६५ जनाको ज्यान गएको छ भने दुई हजार ३०० भन्दा बढी प्रदर्शनकारीलाई हिरासतमा लिइएको छ। अर्कोतर्फ, नर्वेमा आधारित ‘इरान मानव अधिकार’ समूहले मृतकको संख्या कम्तीमा ५१ पुगेको भए पनि वास्तविक आँकडा अझ धेरै हुन सक्ने बताएको छ। इरानी राज्य टेलिभिजनले भने सुरक्षा बलमाथि भएको आक्रमण र सुरक्षाकर्मीको हताहतीलाई जोड दिँदै राष्ट्र नियन्त्रणमै रहेको सन्देश प्रसारण गरिरहेको छ।
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले पछिल्लो सम्बोधनमा प्रदर्शनलाई बाह्य शक्तिले उक्साएको आरोप लगाउँदै कडा शब्दमा निन्दा गरेका छन्। उनले अवज्ञा र अराजकता असह्य रहेको भन्दै थप दमनको संकेत गरेका छन्।
यसैबीच, संयुक्त राज्य अमेरिकाले प्रदर्शनकारीप्रति समर्थन जनाउँदै कडा चेतावनी दिएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल ‘एक्स’मार्फत ‘संयुक्त राज्य अमेरिकाले इरानका साहसी नागरिकहरूलाई समर्थन गर्छ’ भनेका छन्। अमेरिकी विदेश मन्त्रालयले छुट्टै वक्तव्य जारी गर्दै इरानलाई राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ‘खेल नखेल्न’ चेतावनी दिएको छ।
शनिबार इरानमा कार्यसप्ताह शुरू भए पनि धेरै विद्यालय र विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। सरकारी तथा अर्ध-सरकारी वेबसाइट आन्तरिक रूपमा सञ्चालनमा रहेको विश्वास गरिए पनि आम नागरिकको इन्टरनेट पहुँच प्रायः बन्द छ। कतारस्थित अल जजिरालाई अपवाद मान्दा अधिकांश अन्तर्राष्ट्रिय सञ्चारमाध्यम इरानभित्र स्वतन्त्र रूपमा काम गर्न असमर्थ छन्।
राज्यनियन्त्रित टेलिभिजनले सरकार समर्थक प्रदर्शन देखाउँदै देशका अधिकांश शहरमा राति शान्ति कायम रहेको दाबी गरेको छ। राष्ट्रवादी भावनालाई बलियो बनाउन इरान–इराक युद्धकालीन गीत बारम्बार प्रसारण गरिएका छन्। तर, एसोसिएटेड प्रेस र एएफपीले पुष्टि गरेका भिडियोमा उत्तरी तेहरानको सादाताबादसहित विभिन्न क्षेत्रमा हजारौँ मानिस सडकमा उत्रिएर ‘खामेनी मुर्दावाद’ जस्ता नारा लगाइरहेको देखाएको छ।
अर्ध-आधिकारिक ‘फार्स’ समाचार एजेन्सीले इस्फहानबाट आएको भन्दै सार्वजनिक गरेको सीसी क्यामेरा फुटेजमा केही प्रदर्शनकारीले आगजनी र हतियार प्रयोग गरेको देखाइएको छ। राज्य सञ्चालित ‘यङ जर्नालिस्ट्स क्लब’का अनुसार विभिन्न शहरमा बासिज स्वयंसेवक बल र प्रहरीसहित सुरक्षा निकायका केही सदस्य मारिएका छन्। ती सुरक्षाकर्मीको अन्त्येष्टि दृश्य कोम र शिराजलगायत शहरमा सरकारी टेलिभिजनले प्रसारण गरेको छ।
बिहीबारदेखि सरकारले इन्टरनेट र अन्तर्राष्ट्रिय सञ्चार पूर्ण रूपमा बन्द गरेपछि अधिकारकर्मीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। ‘नेटब्लक्स’ नामक इन्टरनेट निगरानी संस्थाले राष्ट्रव्यापी ब्ल्याकआउट ३६ घण्टाभन्दा बढी समयदेखि जारी रहेको जनाएको छ। एम्नेस्टी इन्टरनेसनलले सुरक्षा बलले प्रदर्शनकारीमाथि घातक बलको गैरकानूनी प्रयोग बढाएको रिपोर्ट प्राप्त भइरहेको बताएको छ।
नोबेल शान्ति पुरस्कार विजेता शिरिन एबादीले सञ्चार अवरोधको आवरणमा ‘व्यापक हिंसा र सम्भावित नरसंहार’को जोखिम रहेको भन्दै चिन्ता व्यक्त गरेकी छन्। उनका अनुसार तेहरानका अस्पतालमा आँखामा गम्भीर चोट लागेका सयौँ घाइते पुगेका छन्। यसअघि भएका आन्दोलनमा पनि सुरक्षा बलले जानाजानी प्रदर्शनकारीको आँखामा गोली हानेको आरोप लाग्दै आएको छ।
तेहरान, मशहद, तब्रिज, कोम, हामेदानलगायत प्रमुख शहरमा रातभर भएका प्रदर्शनकारीहरूले भाँडा पिटेर, आगो बालेर र कारको हर्न बजाएर सरकारविरोधी भावना व्यक्त गरिरहेका छन्। केही स्थानमा प्रदर्शनकारीले शाहकालीन सिंह र सूर्य अंकीत झन्डा फहराएका दृश्यसमेत देखिएका थिए।
इरानका निर्वासित पूर्वयुवराज रेजा पहलवीले आन्दोलनलाई ‘ऐतिहासिक’ भन्दै शनिबार र आइतबार थप लक्षित प्रदर्शन गर्न आह्वान गरेका छन्। उनले अब आन्दोलनको लक्ष्य केवल सडकमा निस्कनु मात्र नभई ‘शहरका केन्द्रहरू कब्जा गर्ने तयारी’ रहेको बताए। यद्यपि, उनको भूमिका र समर्थनबारे इरानभित्र मत विभाजित देखिन्छ।
यो आन्दोलन डिसेम्बर २८ मा इरानी रियालको अवमूल्यनपछि शुरू भएको हो। हाल रियाल करिब १४ लाख प्रतिअमेरिकी डलरमा कारोबार भइरहेको छ। आणविक कार्यक्रमका कारण लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धले थलिएको अर्थतन्त्र, बढ्दो महँगी र बेरोजगारीले शुरू गरेको असन्तोष क्रमशः इस्लामिक गणतन्त्रको शासन व्यवस्थामाथि प्रत्यक्ष चुनौतीमा परिणत भएको विश्लेषक बताउँछन्।
इरानी अधिकारीहरूले भने देश ‘युद्धको अवस्थामा’ रहेको दाबी गर्दै कडा कदम चाल्ने चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय समुदायले बढ्दो हिंसा र दमनप्रति गहिरो चासो व्यक्त गर्दै संयम, मानव अधिकारको सम्मान र संवादमार्फत समाधान खोज्न आग्रह गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
