‘बाघ वा बाँदर पनि बिक्री गर्न मिल्ने प्रबन्ध तय हुनुपर्छ’

नेपालमा पर्यटकीय आकर्षणको विषय बन्दै आएको हात्ती महोत्सवदेखि हात्तीपोलो खेलसम्मको विरोध गर्दै चर्चामा छाउन खोजिएको कार्यशैली पनि उचित नभएको वन्यजन्तु अध्येता ददि सापकोटाले बताएका छन्।

काठमाडौँ— दुई दशकयता फ्रान्सका बासिन्दा बनेका पत्रकार तथा लेखक ददि सापकोटाले युरोपेली जगत‍मा रहेका नेपालप्रेमी विदेशीहरूका बारेमा प्रशस्तै लेखन तथा चियोचर्चा गर्दै आएका छन्। रुचि र लेखनको यो पाटोबाहेक सापकोटाले नेपालको वनजंगल, जीवजन्तु तथा पन्छीजगतका बारेमा गर्दै आएको अध्ययन र अन्वेषणको क्रममा हालै प्रकाशित ‘ज्ञानिका’ कृति यतिखेर चर्चामा छ।

‘पन्छीजगत’, ‘वनको वैभव’, ‘जीवगाथा’, ‘त्यो नेपाल’, ‘दुखेको युरोप’ लगायतका कृतिका लेखक सापकोटा जीवजन्तु संरक्षण, प्रचार र प्रवर्द्धनका दृष्टिमा पनि फरकधारको मत राख्ने अध्येतामा पर्छन्।

null

नेपाल सरकारले हालै खाडी मुलुक कतारलाई उपहारमा दिएका दुई हात्तीको बारेमा पशु अधिकारकर्मी र संरक्षणविद्ले ‘यो गलत काम भयो’ भनिरहेका बेला सापकोटाले जीवजन्तुको बसोबास, तिनले पाउने सेवा–सुविधा, आहारबिहार प्रबन्ध र उपयोगिताका आधारमा जीवजन्तु आदानप्रदान गर्नु वा बिक्री गर्नुलाई ‘अन्यथा’ भन्न नमिल्ने बताएका छन्।

साथै, नेपालमा पर्यटकीय आकर्षणको विषय बन्दै आएको हात्ती महोत्सवदेखि हात्तीपोलो खेलसम्मको विरोध गर्दै चर्चामा छाउन खोजिएको कार्यशैली पनि उचित नभएको सापकोटाले उकालो संवादमा जनाएका छन्।

null

‘‘हात्तीको आहारबिहार, स्वास्थ्य र सुरक्षा–संवेदनशीलता सहितका पक्षमा ध्यान दिएर मानव हितका निम्ति हात्तीपोलो जस्ता खेलहरू सञ्चालनमा रहनु उपयुक्त हुन्छ,” उनले भने, “आज सबै कुरामा अधिकारवादी मात्रै भएर कुनै निर्णयमा पुग्ने हो भने यो बढी नारामुखी अभियान मात्रै हुनेछ।”

सापकोटाले नेपालमा बाँदर वा बाघको अति संख्या र त्यसले निम्त्याएको समस्याका आधारमा बाहिरी विश्वले प्रयोगमा ल्याएझैँ चीन वा अरू सरोकार सम्बद्ध मुलुकलाई बाँदर बिक्री गर्न सकिनेबारे पनि सोच्न सकिने बताएका छन्।

null

“हाम्रो वासस्थान, हामीले दिन सक्ने स्याहार र यथास्थिति हेरीकन बाँदर, बाघ वा अरू जीवजन्तुको पालनपोषणबारे विचार बनाउनुपर्छ। हप्तामा २५ केजी मासु खाद्यान्नमा चाहिने बाघलाई बढीमा साढे ३ केजी मासु ख्वाएर पाल्नुपर्ने अवस्था भनेको त्यति सुखद होइन, यसकारण संरक्षण र पशु अधिकारको पाटोलाई पुनर्विचार गर्न जरुरी देखिन्छ,” सापकोटा भन्छन्।