थारु संस्कृति संरक्षणमा युवा पुस्ताको अग्रसरता

थारु बस्ती बाक्लो भएको गाउँहरूबाट पछिल्लो समय थारु समुदायका युवायुवतीहरू आफ्नो वेशभूषामा सजिएर सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रम बढ्दै गएको छ।

घोराही– थारु जातिको कला, संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ। जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमसँगै मेला, महोत्सवमा थारु जातिको मौलिक संस्कृतिका रूपमा रहेका नृत्यमा नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो। 

घोराही उपमहानगरपालिका–७ का जानकी चौधरी संस्कृति संरक्षणमा जुटेकी छन्। सांस्कृतिक कार्यक्रममा उनी आफ्नै मौलिक पोसाकमा भेटिइन्। पुराना पुस्ताले जगेर्ना गर्दै आएको रीतिरिवाज, परम्परालाई जोगाइराख्न नयाँ पुस्ताको पनि दायित्व भएको उनको भनाइ छ। 

आफ्नो मौलिक पहिचानका रूपमा रहेका थारु वेशभूषा, गरगहनामा सजिएर विभिन्न कार्यक्रममा सहभागी हुनेदेखि नाच्ने गरेको उनी बताउँछिन्। थारुको पहिचानका रूपमा रहेका बड्का नाच, छोक्रा नाच, सख्या नाचहरू नाच्न पनि सिकेकी छन्। “शुरूमा नाच्न मन लागे पनि लाजका कारण डर लाग्थ्यो। जसले गर्दा सार्वजनिक कार्यक्रममा सहभागी हुने र नाच्न मन लाग्दैन थियो,” उनले भनिन्, “तर अहिले सहज लाग्छ। आफ्नो जातिगत वेशभूषा र पहिरनमा सजिएर नृत्य देखाउँदा खुशी लाग्छ।” 

नृत्यसँगै थारु जातिका महिलाहरूले परापूर्वकालदेखि चाडपर्वमा लगाउने गरेको लहंगा, घुर्या, हातमा कर्या, घाँटीमा लगाउने सुत्यालगायत पहिरनमा सजिन मन लाग्ने गरेको उनले बताइन्। आफ्नो कला र संस्कृतिप्रतिको रहरले आफू गाउँदेखि सहरसम्म हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएकी छन्। 

विभिन्न कार्यक्रम तथा सभा सम्मेलनमा थारु जातिसँग सम्बन्धित नाचको माग हुन थालेपछि समूह बनाएर सहभागी हुने गरेको घोराही उमहानगरपालिका–१४ का आशा चौधरी‍ले बताइन्। पछिल्लो समय फुर्सदको समयमा थारु नृत्य सिक्नेदेखि कार्यक्रममा सहभागी हुने गर्छिन्। “आफूले जानेका नृत्य नाच्ने र नजानेका नाच सिक्दै कार्यक्रममा सहभागी हुने गरेको छु,” उनले भनिन्, “आफ्नो कला संस्कृतिका बारेमा थप ज्ञानसँगै आर्थिक रूपमा केही आम्दानीसमेत हुने गरेको छ।” जसले गर्दा आफूलाई हौसल्ला बढाउने काम गरिरहेको उनको भनाइ छ।  

थारु बस्ती बाक्लो भएको गाउँहरूबाट पछिल्लो समय थारु समुदायका युवायुवतीहरू आफ्नो वेशभूषामा सजिएर सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रम बढ्दै गएको छ। जिल्लामा हुने धेरैजसो कार्यक्रमहरूमा आफ्नो वेशभूषा र पहिरनमा सजिएर नाचगान गर्नेदेखि पाहुनाको स्वागतमा खटिने गर्छन्। पछिल्लो समय यो क्रम झनै बढेको थारु अगुवाको भनाइ छ। 

घोराही उपमहानगरपालिका–७ पर्साका विकास चौधरीले आधुनिकतासँगै बाह्य संस्कृतिका कारण ओझेलमा परेको थारु संस्कृतिको विकासमा युवा पुस्ताको अग्रसरताले वेशभूषा तथा संस्कृति संरक्षणमा सहयोग पुर्‍याउने बताए।

“थारु समुदायको मौलिक संस्कृतिका रूपमा रहेको मघौटा, बड्का, झुम्रालगायतका नाचहरूमा नयाँ पुस्ता आउँदा खुसी लागेको छ,” चौधरीले भने, “नयाँ पुस्ताको अग्रसरताले ओझेलमा परेको थारु संस्कृति संरक्षणमा सघाउ पुर्‍याउनेदेखि नयाँ पुस्ताको आकर्षणमा सहयोग पुग्नेछ।” 

थारु जातिमा सखिया गीत गाउने, माघीमा मघौटा नाच नाच्ने चलन छ। त्यस्तै जहिले सुकै नाचिने छोक्रा नाच, हातमा रंगीविरंगी टालो बाँधेर नाचिने झुम्रा नाच, बड्का नाच पनि नाच्ने गरिन्छ। चौधरीले थारु कला, संस्कृतिका बारेमा नयाँ पुस्तालाई संरक्षण कसरी गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षणको व्यवस्था हुनुपर्ने बताए। 

थारु समुदायका विभिन्न बाजा संरक्षणका लागि प्रदेश सरकार, स्थानीय सरकारले पनि सहयोग गर्न आवश्यक रहेको उनको भनाइ छ। बाबुबाजेले जोगाउँदै आएको थारु जातिको कला, संस्कृति संरक्षण र संवर्द्धनमा राज्यको सहयोग पनि आवश्यक रहेको चौधरीको भनाइ छ।