मुस्ताङमा गाडी पसेको दुई दशक भयो, अहिले उत्तरी नाका कोरलासम्मै सवारीसाधनमा जान सकिन्छ। गाडी पुगेसँगै मुस्ताङीको भान्सामा पाक्ने परिकार र लगाउने पोसाक मात्र होइन, पेसा पनि फेरिँदैछ।
म्याग्दी– “हुने खानेहरू जहाजमा जान्थे, खाद्यान्न खच्चडबाट लगेर खान्थे। केही कमाइ नहुनेले हिउँदमा सानोतिनो व्यापार गर्न तल झर्थे र केही घर खर्च बोकेर फर्कन्थे। ती दिन सम्झँदा सपना जस्तो लाग्छ, छोराछोरीलाई सुनाउँदा कथा सुनाए झैँ लाग्छ,” लो–घेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङका थुप्तेन गुरुङले सुनाए।
गधा र घोडामा सामान बोकाएर बालबच्चा डोर्याउँदै बेँसी झर्ने र उसैगरी फर्कने मुस्ताङीको परम्परा फेरिएको छ। “शहर झर्दा र घर फर्कंदा गाडीमा आउजाउ गर्छन्, खाद्यान्न गाडीबाट दैलोमै ओराल्छन्,” गुरुङ भन्छन्।
मुस्ताङमा गाडी पसेकै दुई दशक भयो। अब उत्तरी नाका कोरलासम्मै सवारीसाधनमा जान सकिन्छ। यो सडकलाई सरकारले प्राथमिकता दिएर सुविधाजनक बनाइरहेको छ। सडकले मुस्ताङलाई शहरसँग जोड्नुअघि लोमन्थाङमा एक किलो चामल पुर्याउन ढुवानीकै लागि ४० रुपैयाँ खर्च लाग्थ्यो, अहिले १० रुपैयाँमा पुग्छ।
३० वर्षअघिको सडक सपना
मुस्ताङमा सडकको सपना सरकारले २०५१ सालमा ल्याएको ‘आफ्नो गाउँ आफै बनाऔँ’ कार्यक्रमबाट शुरू भएको हो। उक्त कार्यक्रममार्फत तत्कालीन गाउँ विकास समिति (गाविस)हरूको खातामा सोझै ३ लाख रुपैयाँ बजेट आउन थालेपछि उपल्लो भेगका १० वटा गाविसले सडकमा रकम खर्च गर्न थाले। त्यसका लागि २०५४ सालमा लोमन्थाङका आङ्गेल विष्टको अध्यक्षतामा उपभोक्ता समिति बनाइएको थियो।
त्यही उपभोक्ता समितिमार्फत स्थानीयले चीनसँगको सीमा कोरलाबाट सडक खनेर छोसेर र लोमन्थाङ हुँदै २०६१ सालमा घमीसम्म ल्याए। त्यसपछि चिनियाँ मालबाहक गाडी दैनिक उपभोग्य सामान बोकेर कोरलाबाट ३५ किमि तल घमीसम्म आउँथे।
तत्कालीन जिविस सदस्य तथा प्रतिनिधिसभाका पूर्वसांसद प्रेमप्रसाद तुलाचनका अनुसार, सडक खन्नुअघि घोडा र मान्छे मात्र हिँड्न मिल्ने बाटो थियो। “पोखराबाट इन्जिनियरलाई जहाजमा जोमसोम र घोडामा कोरला नाकासम्म लगेर त्यहाँबाट तलतिर सडक सर्वे गराएका थियौँ,” तुलाचन भन्छन्, “आज गण्डकी प्रदेशकै लाइफलाइन ठानिएको पोखरा–जोमसोम–कोरला सडक अन्तरदेशीय व्यापारिक नाका भएको छ।”
माओवादीले गरेको १० बर्से सशस्त्र विद्रोहका बेला हिमालपारि मुस्ताङलाई सडक सञ्जालमा जोड्न अवरोध भयो। उपल्लो मुस्ताङमा गाविसहरूले सडक खनिरहेका बेला घाँसालाई जोमसोम जोड्न २५ किलोमिटर सडक खनियो। त्यहाँ माओवादी प्रभाव थिएन र काम सहज भयो। तर जोमसोम जोड्न म्याग्दीको गलेश्वरबाट खन्न थालिएको सडकमा माओवादीले अवरोध पुर्याए।
२०५८ सालमा हेलिकोप्टरमा झुण्ड्याएर लगिएका जिप र ट्याक्टर मुस्ताङका सडकमा चल्थे। २०६५ सालमा नेपाली सेनाले बेनी—जोमसोम ट्रयाक खोलेपछि मुस्ताङ राष्ट्रिय सडक सञ्जालमा जोडियो। अहिले १८६ किलोमिटर लामो बेनी—जोमसोम—कोरला सडकले नेपालको चीनसँग व्यापार गर्ने नयाँ ढोका खोलेको छ। कोरला नाकामा रहेको २४ नम्बर सीमास्तम्भ पार गरेर चीनतर्फ पस्ने सडक सिगात्सेबाट आएको ‘चाइना नेसनल हाइवे २१९’ मा जोडिन्छ।
लो–घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल (राजु) विष्टका अनुसार, चीनले २०५० सालतिरै कोरलासम्म सडक ल्याइपुर्याएको थियो। त्यति बेला नेपालतर्फको सडक बाग्लुङसम्म मात्र पुगेको थियो। विष्ट भन्छन्, “कोरला नाकासम्म आइपुगेको चिनियाँ सडकसँग जोडिन सके रोग, भोग र अभावमा रुल्मलिएको उपल्लो मुस्ताङको जीवनमा सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्यले सडक खन्न थालेका थियौँ।”
सडकले मुस्ताङ जोडिएपछि खाद्यान्न सस्तो हुँदा कुपोषण र भोकमरीसँग जुध्न सजिलो भएको विष्ट बताउँछन्। त्यसैगरी, पर्यटक आगमन बढ्दा आर्थिकरूपमा पनि फाइदा पुगेको उनको भनाइ छ।
मुक्तिनाथ–कैलाश मानसरोवर धार्मिक सर्किट
तिब्बती पठारको दक्षिणी छेउ तथा नेपालको उत्तरी भूभाग कोरला नाकामा पछिल्लो समय पर्यटक बढेका छन्। यहाँ अन्तरदेशीय व्यापारिक चहलपहल पनि बढेको छ। सडकले मुस्ताङीको जीवनशैली र संस्कृतिमा पनि फेरबदल ल्याएको छ।
गत कात्तिकमा कोरला नाकास्थित अध्यागमन कार्यालयबाट प्रस्थान अनुमति लिएर लोमन्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिका जनप्रतिनिधिहरू चिनियाँ समन्वय र व्यवस्थापनमा कोरला–कैलाश मानसरोवर यात्रामा गए। उक्त यात्रामा गएका लोमन्थाङ गाउँपालिका अध्यक्ष टशीनर्वु गुरुङ भन्छन्, “कोरला–मानसरोवर यात्रा सहज बनाउन नेपाल र चीनबीच थप कूटनीतिक पहल र भौतिक पूर्वाधारमा लगानी आवश्यक छ। हामीले अब मुस्ताङ दक्षिण एशिया र मध्य एशिया जोड्ने एउटा प्रमुख गेटवे बन्ने उज्यालो भविष्य देखेका छौँ।”
अध्यक्ष गुरुङका अनुसार, कोरला नाकाबाट करिब ३५० किमि दूरीमा अवस्थित कैलाश मानसरोवर मुस्ताङ कागबेनी श्राद्ध र मुक्तिनाथ दर्शन गरी कोरला हुँदै मानसरोवर जाने ‘रिलिजियस सर्किट’ बन्न सक्छ। यी क्षेत्रको भूगोल मिल्दोजुल्दो भएकाले लेक लाग्ने जोखिम कम हुने र लागत पनि सस्तो पर्ने उनको भनाइ छ। तर बेनी–जोमसोम सडकको दिगोपना र हिउँदमा उपल्लो मुस्ताङमा बढ्ने चिसो बाधक हुनसक्ने उनी बताउँछन्।
सडक पहुँचका कारण मुस्ताङ भारतीय र आन्तरिकसहित बाह्या पर्यटकको संख्या पनि वृद्धि भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको अभिलेखअनुसार, सन् २०२५ मा मुस्ताङमा १ लाख ६१ हजारभन्दा बढी बाह्या पर्यटक पुगे। यीमध्ये २८ हजार २७५ जना तेस्रो मुलुकका थिए। बाँकी पर्यटक भारतीय र सार्क मुलुकका हुन्। मुस्ताङ प्रहरीको अभिलेखअनुसार, यहाँ वार्षिक पाँच लाखभन्दा बढी पर्यटक आउँछन्।
बदलिँदै जीवनशैली
पर्यटक बढेसँगै स्थानीयले परम्परागत घर बनाउने शैली छोडेर आधुनिक घर बनाउन थालेका छन्। पशुपालनजस्ता पेसामा परिवर्तन आउन थालेको छ। यहाँ उत्पादित स्याउले बजार पाउन थालेको छ।
अहिले भान्सामा पाक्ने परिकार पनि फेरिएका छन्। उवा, फापर, आलु पाक्ने भान्सामा तराइबाट आइपुगेको चामल, मैदा, आटादेखि चिनियाँ र भारतीय ब्राण्डका चाउचाउसमेत पाक्न थालेको छ। मुस्ताङी भान्सामा स्थानीय नुनचिया (सुइया)सँगै कफी पनि पाक्न थालेको छ।
खाना पकाउन झाडीका काठ, चौरीको गोवर सुकाउन छाडिएको छ। त्यसको ठाउँ एलपी ग्याँस, इलेक्ट्रोनिक इन्डक्सन, इन्फारेड चुल्होले लिएका छन्।
पहिले मुस्ताङीको पहिरन भनेकै भेडा, च्यांग्राको ऊनबाट बुनिएका बाक्ला बख्खु थिए। अहिले ती बख्खु सांस्कृतिक पर्वमा लगाउने पोसाकमा सीमित हुन थालेका छन्। पुरानो पुस्ताले पनि बख्खुभन्दा आधुनिक ज्याकेट नै लगाउँँदा सजिलो महसुस गर्न थालेको छ।
सडक पुग्नुअघि उपल्लो भेगका बासिन्दा बिरामी पर्दा उपचार पाउनै मुस्किल थियो। सुत्केरी ब्यथा लागेका गर्भवती र गम्भीर बिरामीलाई घोडामा बोकाएर ८–१० दिन हिँडाएर शहर पुर्याउन मुस्किल थियो।
सडकले स्वास्थ्य उपचार सजिलो बनाएको छ। स्थानीय पालिकाहरूले एम्बुलेन्स राख्न थालेका छन् र एकैदिनमा अस्पताल पुग्न सम्भव भएको छ।
मुस्ताङीको जीवनको प्रमुख आधार पशुपालन थियो। घोडाले मान्छेलाई मात्र बोक्दैन थिए, आवश्यक खाद्यान्न पनि ओसार्थे। गधाखच्चडले तिब्बतबाट नुन र तल मधेशबाट खाद्यान्न ल्याइपुर्याउन महिनौँ कुर्नुपर्थ्यो। मोटरबाटो पुगेपछि पशुपालनको चलन घट्दो छ।
घोडा अब मलको लागि पाल्ने गरिएको भए पनि खच्चड र गधा विस्थापित हुँदै गएका छन्। हिजो दशैँ, तिहारजस्ता चाडपर्वमा मुस्ताङीहरू घरमा पालेका चेलुक, च्याङग्रा धपाउँदै बेनी, पोखरासम्म पुग्थे। अहिले शहरबाट व्यापारी मुस्ताङ नै आएर ट्रकमा हालेर लैजान्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
