मगर र छन्त्याल समुदायमा माघे संक्रान्तिको रौनक

मगर र छन्त्याल समुदायमा माघे संक्रान्ति पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुशी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ।

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघे संक्रान्ति पर्वको रौनक छाएको छ। 

जिल्लामा बहुलता रहेको मगर समुदायले माघे संक्रान्ति र साउने संक्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्छन्। अल्पसंख्यक छन्त्याल समुदायले माघे संक्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्छन्।

नेपाल मगर संघ म्याग्दीका अध्यक्ष खम थापामगरले साउने सक्रान्तिलाई हिउँद र माघे संक्रान्तिलाई बर्खा शुरू भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको बताए।  

“प्रकृतिका पुजारी मगर समुदायले साउने संक्रान्तिलाई हिउँद र माघलाई बर्खा शुरू भएको दिनका रूपमा मान्ने गर्छन्,” उनले भने, “माघे संक्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठामिठा परिकार खुवाउने चलन छ।”

यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुशी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ। मगर बस्तीमा माघे र साउने संक्रान्तिमा भेला भएर नाचगान गर्ने, पुर्ख्यौली नृत्य देखाउने र खुशी साटासाट गरी रमाइलो गर्ने चलन छ। 

चेलीबेटीहरू तरुल र सेलरोटी, फलफूल लिएर माघे संक्रान्तिमा माइतीघर जान्छन्। यो पर्व मनाउन सहर, बजार र विदेशबाट मगर समुदाय जन्मथलोमा फर्किएका अन्नपूर्ण गाउँपालिका–७ टिकोटकी टिका तिलिजा पुनले बताइन्। 

चाडपर्वले आफन्तजन र साथीभाइसँग भेटघाट हुने अवसर जुराएको उहाँले बताउनुभयो। माघे संक्रान्ति पर्वको अवसरमा मगर बस्तीहरुमा खेलकुद तथा सांस्कृतिक मेला आयोजना भएका छन्। 

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा पर्ने म्याग्दीको सदरमुकाम बेनी बजारमा २०० वर्षअघि बस्ती बसेदेखि माघे संक्रान्तिको अवसरमा मेला लाग्ने चलन रहेको बेनी नगरपालिकाका पुर्वप्रमुख हरिकुमार श्रेष्ठले बताए। उनका अनुसार चामल, कोदो, भाँगो, डोका, डाली, ठेका, घ्यू, तामा, फलामबाट बनेका सामग्री बिक्री गर्न वरपरका मानिसहरू बेनीको माघे संक्रान्ति मेलामा आउने गर्थे।

बेनीस्थित कालीगण्डकी नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। “त्यसबेला अहिलेको जस्तो गाउँ गाउँमा बजार थिएनन्। किनमेलका लागि मेला कुर्नुपर्थ्यो। बेनीमा माघे संक्रान्तिको मेला किनमेलको माध्यम थियो,” श्रेष्ठले भने, “युवाहरूले गीत गाउने, नाच्ने गरेर रमाइलो गरेको अझै झलझली लाग्छ।”

समय, परिवेश र जीवनशैलीमा आएको परिवर्तनसँगै बेनीमा हुने मेलाको स्वरूप पनि फेरिएको छ। पछिल्लो समयमा यहाँ मेला र महोत्सव आयोजना गरेर पुरानो परम्परालाई निरन्तरता दिँदै संरक्षण र प्रवर्द्धनमा जोड दिइएको छ। 

हरेक तीन/तीन वर्षमा स्थानीय उत्पादन, कला, संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ महोत्सव आयोजना गरिँदै आएको छ। संघअन्तर्गतको महिला उद्यम विकास समितिले महोत्सव नहुने वर्षमा माघे संक्रान्ति मेला सञ्चालन गर्दै आएको छ। यस वर्ष बुधबारदेखि बेनीमा ११ औँ माघे संक्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रदर्शनी शुरू भएको छ। 

बेनीमा परम्परागत रूपमा लाग्ने माघे संक्रान्ति मेलाको जगेर्ना, स्थानीय खाना, कला संस्कृतिको संरक्षण र संवर्द्धन, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन, प्रतिभा पहिचानका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको समितिका सभापति अम्बिका श्रेष्ठले बताइन्।