‘इरान हिंसा रोक्न अन्तर्राष्ट्रिय समुदायको साझा प्रयास आवश्यक’

क्षेत्रीय मुलुकले सम्भावित सैन्य कदमले मध्यपूर्व क्षेत्रको स्थायित्व र विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने भन्दै संयमता अपनाउन आग्रह गरेका छन्।

‘इरान हिंसा रोक्न अन्तर्राष्ट्रिय समुदायको साझा प्रयास आवश्यक’
एएफपी

अमेरिका र इरानका प्रतिनिधि बिहीबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपत्कालीन बैठकमा सहभागी भएका छन्। बैठकमा इरानमा देखिएको अवस्थाबारे गम्भीर चासो व्यक्त गर्दै अमेरिकी पक्षले आवश्यक सबै विकल्प विचाराधीन रहेको जनाएको छ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले परिषद्लाई सम्बोधन गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले परिस्थितिको नजिकबाट मूल्यांकन गरिरहेको र नागरिक सुरक्षालाई प्राथमिकतामा राख्दै उपयुक्त कदम चाल्ने बताए। 

इरानमा देखिएको हिंसा रोक्न अन्तर्राष्ट्रिय समुदायको साझा प्रयास आवश्यक रहेकोमा उनको जोड थियो। मानव अधिकारसम्बन्धी संस्थाका अनुसार हालैका प्रदर्शनका क्रममा ठूलो संख्यामा मानवीय क्षति भएको छ। यद्यपि इरान सरकारले आधिकारिक विवरण सार्वजनिक नगरेकाले यथार्थ अवस्था स्पष्ट हुन सकेको छैन। 

हाल प्रदर्शन कम हुँदै गएको देखिए पनि सुरक्षासम्बन्धी व्यवस्था र सञ्चार सीमितता यथावत् रहेको जनाइएको छ। बैठकमा इरानका उपराजदूत होसेन दरजीले आन्तरिक घटनाक्रममा बाह्य हस्तक्षेप भएको आरोप अस्वीकार गरे। अन्तर्राष्ट्रिय समुदायलाई इरानको सार्वभौमिकताको सम्मान गर्नसमेत उनको आग्रह थियो। 

यस अवसरमा इरानी नागरिक अधिकारका पक्षधर मसीह अलिनेजाद र अहमद बतेबीले मानव अधिकारको संरक्षणका लागि थप अन्तर्राष्ट्रिय ध्यान आवश्यक रहेको बताएका थिए। 

यसैबीच, क्षेत्रीय मुलुकले सम्भावित सैन्य कदमले मध्यपूर्व क्षेत्रको स्थायित्व र विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने भन्दै संयमता अपनाउन आग्रह गरेका छन्। यता, अमेरिकाले मानव अधिकार उल्लंघनसँग सम्बन्धित आरोपमा केही इरानी अधिकारीहरूमाथि लक्षित प्रतिबन्ध घोषणा गरेको छ।

विश्लेषकका अनुसार हाल इरानको अवस्था केही शान्त देखिए पनि कूटनीतिक संवाद र अन्तर्राष्ट्रिय समन्वय अझै महत्त्वपूर्ण बनेको छ। (रासस/एपी)