विधि र विचारबाट चल्ने भएकाले पार्टीहरूलाई लोकतन्त्रका संवाहक भन्ने गरिएको हो। तर नेपालका पार्टीहरूमा यी सबैको साटो व्यक्तिलाई देवत्वकरण गर्ने प्रवृत्ति झाँगिँदो छ। त्यसकै पछिल्लो उदाहरण रास्वपा हो।
काठमाडौँ— कुरा चार वर्षअघिको हो। नेकपा एमालेले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनअघि विधान महाधिवेशनको तयारी गरिरहेको थियो। २०७८ असोज १४ गते बिहानै बबरमहल हाइटस्थित केन्द्रीय कार्यालय पुग्दा कार्यालय भवनको अघिल्तिर दुइटा काठका पिलरबीच राखिएको विशाल ‘फ्लेक्स’ बोर्डमा एकातिर पार्टीका संस्थापकलगायत दिवंगत नेताहरू पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीका तस्वीर सानो आकारमा थिए। बीचमा पार्टीको चुनावचिह्न, महाधिवेशनको मिति र नारा राखिएको थियो। बोर्डको अर्को छेउमा पार्टी अध्यक्ष केपी शर्मा ओली हिँडिरहेको भीमकाय तस्वीर थियो।
त्यहाँ पुगेका एमाले नेता–कार्यकर्ता त्यसैलाई पृष्ठभूमि बनाएर तस्वीर लिइरहेका थिए। त्यहीबेला पुगेकी तत्कालीन एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले त्यही बोर्डतर्फ औँला तेर्स्याएर भनिन्, “यो व्यक्ति–केन्द्रित संस्कृति हो। यस्तो हुनु राम्रो होइन। तर के गर्नु, हामीले मात्रै विरोध गरेर केही हुनेवाला छैन। सबैलाई अध्यक्षको नजरमा राम्रो बन्नु छ।”
भोलिपल्टदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुरू भएको एमालेको विधान महाधिवेशनस्थलमा त ओलीको काठको स्ट्याचु (शालिक) नै बनाएर राखिएको थियो र त्योसँग तस्वीर लिन नेता–कार्यकर्ताहरूबीच तँछाडमछाड नै चलेको थियो। ललितपुर, गोदावरीका बलबहादुर थापा मगर भन्दै थिए, “अध्यक्षज्यूलाई प्रत्यक्ष भेट्न गाह्रो छ। उहाँको तस्वीरसँग भए पनि फोटो खिचेर चित्त बुझाएका छौँ।”
एमालेमा मूल नेतृत्वको ‘देवत्वकरण’ कसरी चुलिँदो छ भनेर बुझाउने दृष्टान्त थियो त्यो, जसले पार्टीमा नीति, सामूहिक नेतृत्व र संस्थागत प्रक्रियाभन्दा नेताको व्यक्तित्व प्रधान बनेको सन्देश दिइरहेको थियो। ओलीका यस्ता तस्वीरको खुलेर विरोध गरेका एमालेका तत्कालीन उपाध्यक्ष भीम रावलले भनेका थिए, “सिद्धान्ततः सामूहिकतामा विश्वास गर्ने कम्युनिस्ट राजनीतिमा समेत यस्तो व्यक्तिपूजाको अभ्यास हुनु आफैँमा गम्भीर विरोधाभास हो। तर हाम्रो आलोचनाबाट नेतृत्व सच्चिने संकेत देखिन्न, न त ओलीलाई पूजा गर्नेहरू सच्चिन तयार छन्।”

रास्वपाले अंगालेको नेताको ‘देवत्वकरण’
यो अभ्यासको आलोचना गर्ने रावल कालान्तरमा एमालेबाट अलग भए, शाक्य एमालेको सक्रिय राजनीतिबाट टाढिइसकेकी छन्। जेन–जी आन्दोलनका नाममा गत भदौ २३–२४ गते भएका घटनापछि सत्ताच्युत भएका ओलीको यस्तो ‘जयजयकार’ बरु गत मंसिरमा सम्पन्न ११ औँ महाधिवेशनमा अलि कमै देखियो, भलै एमालेमा उनको एकछत्र किन नहोस्।
दक्षिण एसियाली राजनीतिमा बेलाबखत देखिइरहने नेतृत्वको ‘देवत्वकरण’ र व्यक्तिविशेषलाई अगाडि सारेर गरिने जयजयकार खासमा भारतमा नरेन्द्र मोदीको उदयसँगै अलि बढी चर्चामा आएको हो। ओलीले मोदीको त्यही पदचाप पछ्याएका थिए।
देशको पुरानोमध्येको दल नेपाली कांग्रेसमा झन्डै एक दशक एकछत्र हालीमुहाली गरेका सभापति शेरबहादुर देउवालाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा उठेका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनबाट लगभग शक्तिविहीन नै बनाइदिने प्रयास गरेका छन्। अर्थात् कांग्रेसमा अब नेताविशेषको देवत्वकरण र जयजयकारको गुञ्जायस देखिन्न। झन्डै चार दशकदेखि नेतृत्वमा अविचलित रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को देवत्वकरणमा अनवरत योगदान दिएका जनार्दन शर्मालगायत नेताहरूले अब त्यस्तो नगर्ने घोषणा गर्दै छुट्टै दल खोलिसकेका छन्। पछिल्ला दिनमा उनकै कार्यकर्ताले पनि दाहालको ‘देवत्वकरण’मा समय खर्चिन छाड्दै छन्।

तर अरूले छाड्न थालेको यो प्रवृत्तिको हुबहु सिको गर्ने पंक्तिमा देखा परेको छ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)। रास्वपा त्यही पार्टी हो जो आफूलाई यही प्रवृत्तिविरुद्ध उभ्याएर राष्ट्रिय राजनीतिमा उदाएको थियो। तर स्थापनाकालदेखि सभापति रवि लामिछानेलाई ‘पार्टीभन्दा माथि’ राख्ने अभ्यास शुरू गरेको रास्वपामा अहिले त्यो अभ्यास थप झाँगिएको छ।
गत पुस २१ गते राष्ट्रिय सभागृहमा त्यसको उच्चतम रूप देखा पर्यो। त्यस दिन सभागृहमा नागरिक उन्मुक्ति पार्टीको पूर्वनेतृत्व र थरुहट अभियन्ताहरू रास्वपामा समायोजन हुने सभा राखिएको थियो। त्यसअघि नै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको समूह र तत्कालीन ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा) रास्वपामा समाहित भइसकेका थिए। सभागृहको त्यही सभामा रास्वपाभित्र झाँगिएको व्यक्तिको केन्द्रीकरण छर्लंग देखियो।
सभा शुरू हुनुअघि त्यहाँको मञ्चमा टाँगिएको ब्यानरको दायाँ र बायाँ छेउमा रास्वपा सभापति लामिछानेका स–साना तस्वीर भएका दुइटा फ्लेक्स बोर्ड राखिएका थिए। लामिछाने कार्यक्रमस्थलमा आइपुग्न ढिलो भएपछि रास्वपा कार्यकर्ताले ती ठाउँमा दुइटा ठूलो आकारका फ्लेक्स बोर्ड ल्याएर राखे। तिनमा लामिछानेका बडेमानका तस्वीर थिए।
नयाँ फ्लेक्स बोर्ड राख्नसाथै हलमा ताली बर्सियो। त्यसपछि तिनै बोर्डसँग तस्वीर खिच्ने, रिल र टिकटक बनाउनेहरूको तँछाडमछाड शुरू भयो।

लामिछाने सभामा आउनुअघि नै रास्वपाका उपाध्यक्षद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले, नेताहरू मनिष झा, सोविता गौतम, हरि ढकाललगायत आएर अग्रपंक्तिका कुर्सीमा बसिसकेका थिए। लामिछाने प्रवेश गर्दा भीड यसरी उर्लियो कि उनलाई अडिनै हम्मे पर्यो। उनी कुर्सीमा नबसी मञ्चतर्फ सोझिए। मञ्चबाट लामिछानेले हात हल्लाइरहेका बेला उपाध्यक्षद्वय अर्याल र वाग्ले पनि कुर्सी छाडेर उतै लागे र लामिछानेसँगै मिसिएर हात हल्लाए। सभामा उपस्थित रास्वपाका एक नेता साउती गर्दै थिए, “जता पनि रविदाइलाई मात्र भगवान बनाउन थालिएको छ। बिचरा डोलप्रसाद र स्वर्णिम दाइले ‘हामी पनि नेता हौँ’ भन्नलाई कुर्सी छाडेर मञ्चमा जानुपर्यो। रविदाइलाई कसैले केपी ओली बन्नबाट बचाओस्।”
रास्वपाको स्थापनाकालदेखि नै सडक प्रदर्शनदेखि अरू कार्यक्रममा समेत लामिछानेका तस्वीर केन्द्रमा देखिने गर्छन्। अहिले त सामाजिक सञ्जालमा एआईको प्रयोगबाट बनाइएका तस्वीर र भिडिओमार्फत प्रचार झन् बढेको छ। चुनावी अभियानमा ‘रविको पार्टी’ भन्ने बिम्ब सामान्य बनेको छ। बरु ‘रास्वपाको नेता–प्रतिनिधि’ भनेको बिरलै सुनिन्छ। सभागृहमा ती नेताले नै चिन्ता व्यक्त गरे, “रास्वपा जन्मिनुमा रवि लामिछानेको भूमिका छ भन्नेमा विवाद रहेन, रास्वपा केवल रविका कारण मात्र बनेको पार्टी पनि होइन। तर ‘रास्वपा भनेकै रवि, रवि भनेकै रास्वपा’ भन्ने भाष्य मात्र स्थापित गरिँदै जानु खतरनाक छ।”
प्रश्न गर्दाको भय
अनौठो त रास्वपाका धेरै कार्यकर्ता लामिछानेको देवत्वकरणलाई उनीप्रतिको सम्मान र कृतज्ञताका रूपमा व्याख्या गर्छन्। रास्वपामा सक्रिय काठमाडौँ, सोह्रखुट्टेका भुवन पौडेलले भने, “रवि दाइको पार्टी निर्माणमा ठूलो भूमिका छ। उहाँलाई प्रतिशोध साँधेर जेल हालियो। अब उहाँलाई नमानेर कसलाई मान्ने?”
रास्वपामा ‘माहौल’ यस्तो छ कि यस्तो प्रवृत्ति र नेताको विरोधमा कोही बोले दण्डित हुनुपर्ने अवस्था छ। नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदा पार्टी छाड्नुपर्ने अवस्था आएको त तत्कालीन सहमहामन्त्री सुमना श्रेष्ठले पार्टी छाड्ने बेला नै सार्वजनिक गरेकी थिइन्। उनले विरोधको केही अर्थ नभएपछि ‘एक व्यक्ति एक पद’ भन्दै पदाधिकारीबाट आफै राजीनामा दिएकी थिइन्। संसदीय दलका प्रमुख सचेतक रहेका सन्तोष परियारले पनि नेतृत्वको कार्यशैली सुधारको माग गर्दा पार्टीबाट बाहिरिन बाध्य हुनुपरेको बताएका थिए। “गलतलाई गलत भन्न खोज्दा हामी नै दोषी बन्यौँ,” उनको भनाइ थियो।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीलाई लिएर पार्टीको निर्णयप्रति सार्वजनिक रूपमा असहमति जनाएकी केन्द्रीय सदस्य डा. तोसिमा कार्कीलाई प्रत्यक्षतर्फको टिकट नै नदिने तयारी गरिएको चर्चा पार्टीभित्र व्याप्त छ। केही समयअघि उनले सामाजिक सञ्जालमै लेखिन्, “अन्धभक्त र अन्धविरोध दुवै लोकतन्त्रका लागि घातक हुन्।”
रास्वपामा मूल नेतृत्वको देवत्वकरणलाई लिएर नेताहरू मौनप्रायः छन्। सके आफै त्यसमा लागेका छन्, नभए चुप बसेका छन्। सञ्चारमाध्यम, बौद्धिक वृत्त र नागरिकले भने यस्तो प्रवृत्तिमाथि प्रश्न उठाइरहेका छन्, कतिपयले रचनात्मक सुझावसमेत दिइरहेका छन्। तर नेतृत्वको देवत्वकरणमा उत्रिएका रास्वपा नेता र कार्यकर्ताले उनीहरूको खेदो खन्ने, ट्रोल बनाउने काम गरिरहेका छन्।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेको बुझाइमा दलहरूभित्र अन्तरपार्टी लोकतन्त्रको अवस्था अत्यन्त नाजुक छ। सञ्चारमाध्यमले कमीकमजोरी औँल्याइदिँदा पार्टी नै बलियो हुन्छ भन्ने चेत नेतृत्वमा पलाउनै नसकेको, फलतः उनीहरूले नेतृत्वमाथि हुने स्वस्थ आलोचनालाई पनि ‘शत्रुतापूर्ण टिप्पणी’का रूपमा बुझ्ने गरेको उनले बताए।
“दलहरूको आन्तरिक लोकतन्त्र बलियो बनाउन मिडियाले सहयोग गरिरहेको हुन्छ। यो सहयोगबारे उनीहरू अनभिज्ञ बनिरहेका छन्,” गाउँलेले भने, “उल्टो मिडियालाई आफ्नो शत्रु ठान्न पुगिरहेका छन्।”
पुराना दलदेखि आफूलाई उनीहरूको विकल्प दाबी गर्ने रास्वपासम्म यो प्रवृत्तिबाट अछुतो नरहेको, रवि लामिछानेदेखि बालेन शाहसम्मले आधुनिक मिडियाले टीकाटिप्पणी र आलोचना गरेर दल र लोकतन्त्रलाई बलियो बनाइरहेका हुन्छन् भनेर बुझ्न जरुरी रहेको उनले बताए। “किनभने पुराना दलका नेताहरूले त्यसरी कहिल्यै बुझ्ने कोशिश गरेनन्। रवि या बालेनलाई शंकाको सुविधा दिनुपर्छ होला,” उनले भने।
प्रेस स्वतन्त्रताका अभियन्तासमेत रहेका महासंघकै पूर्वअध्यक्ष तारानाथ दाहाल रास्वपाभित्र बढिरहेको नेतृत्वको देवत्वकरणलाई लोकतन्त्रकै लागि गम्भीर खतरा मान्छन्। दाहालका अनुसार यसले एकातिर वाक स्वतन्त्रता जस्तो संवैधानिक अधिकारमाथि धावा बोलेको छ भने अर्कोतिर सत्य बोल्दा दण्ड भोग्नुपर्ने डरलाग्दो अवस्था सिर्जना गरेको छ।
“पहिले कुनै दलमा देवत्वकरण भयो भनेर आलोचना गर्दा सम्बन्धित व्यक्तिहरूले व्यक्तिगतरूपमा असन्तुष्टि जनाउँथे। अहिले रास्वपामा त्यही प्रवृत्ति दोहोरियो भनियो भने साइबर सेनाहरू सामाजिक सञ्जालबाट चरित्र हत्या गर्न अग्रसर हुन्छन्। आममानिसले त्यसैलाई पत्याइरहेका छन्। सामाजिक सञ्जालको व्यापक दुरुपयोग भइरहेको छ,” उनले भने, “एकोहोरो प्रचारले बनेको शक्तिले आलोचना सहनै सकिरहेको छैन।”

घातक देवत्वकरण
पुरानादेखि नयाँ पार्टीसम्म मौलाउँदो नेतृत्वको देवत्वकरण पार्टीभित्र व्यक्तिको लोकप्रियता बढाउने अभ्यास मात्र होइन, यसले पार्टी सँगसँगै मुलुकलाई पनि नकारात्मक प्रभाव पार्छ। राजनीतिक विश्लेषक खगेन्द्र प्रसाईंका अनुसार देवत्वकरणले पार्टीको आन्तरिक लोकतन्त्र त कमजोर बनाउँछ नै, एक व्यक्तिलाई मात्र मान्यता दिँदा अरू नेतालाई नै प्रश्न उठाउन नसक्ने बनाउँछ। यसले पार्टीको नीति, बहस र सुधारको ढोका बन्द गर्ने र दीर्घकालमा पार्टी मात्र नभएर लोकतन्त्रकै आधारमा असर पार्ने उनको भनाई छ।
“यस्तो अवस्था उदारवादी प्रणालीमा संस्थागत लोकतन्त्र कमजोर पार्ने रणनीतिका रूपमा पनि प्रयोग हुन सक्छ,” उनले भने, “व्यक्तिलाई मात्र बलियो बनाए निर्णय प्रक्रियामा बाधा पुग्छ र अन्य नेताहरूको सिर्जनशीलता कम हुन्छ।”
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले अहिले नयाँ दलहरूमा पनि नेतृत्वलाई देवत्वकरण गर्ने प्रवृत्ति फेसन जस्तो बढिरहेको ठान्छन्। “यसले पार्टीभित्र वास्तविक नीति र वैचारिक बहसलाई दबाउँछ। केवल नेताको लोकप्रिय छवि बनाएर पार्टीको पहिचान निर्माण गर्ने प्रयास दीर्घकालीन रूपमा घातक छ,” उनले भने, “रास्वपामा रवि लामिछानेको व्यक्तिपूजनले अन्य नेताहरूको विकास र स्वतन्त्र योगदानलाई दबाइरहेको छ। पार्टीभित्र आलोचना गर्ने बाटो बन्द हुँदा नेतृत्व असहमत भएमा नेता नै अलग हुने स्थिति उत्पन्न हुन्छ।”
अर्का राजनीतिक विश्लेषक भाष्कर गौतम रास्वपा लामो संघर्षभन्दा पनि एउटा भेलाबाट उदाएको पार्टी भएकाले पहिल्यै व्यक्तिकेन्द्रित भइरहेको टिप्पणी गर्छन्। “एउटा धरातल नै नबनाई रास्वपा र रवि लामिछाने मात्र एक विकल्प हो भन्ने भाष्य निर्माण भइरहेको छ। यस्तो प्रवृत्तिले पार्टीमा रातारात एक व्यक्तिलाई सर्वोच्च मान्ने अवस्था सिर्जना गर्न सक्छ,” गौतम भन्छन्, “यसरी जन्मिएको पार्टीले रातारात एउटा व्यक्तिलाई भगवान मान्छ र रातारात भ्रष्ट हुने अवस्था पनि सिर्जना हुन सक्छ। त्यसो भयो भने व्यक्ति त रहन्न नै, पार्टी पनि रहन्न।”
गौतमका अनुसार अमुक व्यक्तिको देवत्वकरणले पार्टीभित्र नयाँ नेता जन्मिन नसक्ने अवस्था उत्पन्न हुन्छ। “रास्वपामा अहिले जसरी रवि लामिछानेलाई भगवान बनाइएको छ, यसले पार्टीलाई प्राइभेट कम्पनी जस्तो बनाउँछ र अन्य नेता जन्मिन पाउँदैनन्। अनि असहजता आउँदा पार्टीपंक्ति लड्न-भिड्न सक्दैन,” उनले भने, “एउटा व्यक्तिलाई मात्र पार्टी मान्ने प्रवृत्ति बढ्दा संस्थागत लडाइँ, विधि, प्रक्रिया सबै ओझेलमा पर्छ।”
कतिपयले रास्वपामा भइरहेको देवत्वकरणलाई विश्वका दुई ठूला लोकतन्त्र मानिने भारत र अमेरिकामा भइरहेका अभ्याससँग पनि दाँज्ने गरेका छन्। संस्थाभन्दा व्यक्ति बलियो हुँदाका दुष्परिणामबारे अमेरिकाको येल विश्वविद्यालयका इतिहासका प्राध्यापक टिमोथी स्नाइडरले सन् २०१७ मा प्रकाशित आफ्नो पुस्तक ‘अन टिर्यानी’मा उल्लेख गरेका छन्। २०औँ शताब्दीका तानाशाहहरूको उदयको जग नै ‘व्यक्तिपूजन’ रहेको तथ्यसहित उनले लेखेका छन्, “जब बफादारी संस्थाबाट व्यक्तिमा सर्छ, तब निरंकुशताको ढोका खुल्छ।”
उनको यो चेतावनी अहिले अमेरिकाको रिपब्लिकन पार्टीमा ठ्याक्कै मेल खान्छ। डोनाल्ड ट्रम्पको उदयपछि झन्डै १५० वर्ष पुरानो यो पार्टीका स्थापित विधि र संस्था ओझेलमा परेका छन्। पार्टीको नीतिभन्दा ट्रम्पको ‘व्यक्तित्व’ र उनका भनाइ नै पार्टीका विधानझैँ बनेका बनेका छन्। स्नाइडरका अनुसार जब पार्टीका नेताहरूले संविधानको सट्टा एउटा व्यक्तिको सनकलाई साथ दिन्छन्, तब लोकतन्त्रको क्षयीकरण शुरू हुन्छ।
दक्षिण एशियाली राजनीतिका अध्येता, इतिहासकार रामचन्द्र गुहाले सन् २०१६ मा प्रकाशित आफ्नो पुस्तक ‘डेमोक्र्याट्स एन्ड डिसेन्टर्स’ मा चेतावनी दिएका छन् “विचार र नीतिको बहस हराएर जब पार्टीमा केवल व्यक्तित्वमा ताली बज्न थाल्छ, तब लोकतन्त्रको पराजय शुरू हुन्छ।”
भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) मा अहिले यही देखिन्छ। कुनै समय सामूहिक नेतृत्व र आन्तरिक बहसका लागि चिनिने भाजपा अहिले पूर्णतः नरेन्द्र मोदीकेन्द्रित देखिन्छ। गुहाका अनुसार, देवत्वकरणले प्रश्न गर्नेहरूको अस्तित्व समाप्त पार्छ र पार्टीलाई एउटा व्यक्तिको जस्तो बनाइदिन्छ। नेपालमा पनि एमालेका ओली हुँदै रास्वपाका लामिछाने पनि त्यही बाटोमा अग्रसर रहेको राजनीतिक विश्लेषक वाग्लेको निष्कर्ष छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
