जेन–जी आन्दोलन र त्यसपछिको समयको चित्र देखाउने कविताकृति

दुई दिनको रामछायापछि जसरी एकाएक देशको राजनीति बदलिन खोज्यो र सरकार चलाउन सक्ने प्रधानमन्त्री तथा मन्त्री पात्रको खोजी भयो, त्यसबारे कवि थापाले व्यङ्ग्यात्मक रूपमा कवितामार्फत भाव पोखेका छन्।

जेन–जेडलाई सजिलो रूपमा हामी जेन–जी भन्छौँ र लेख्छौँ। साहित्यकार निर्मलकुमार थापाको नयाँ काव्यकृति ‘जेन–जी काल’ले पनि त्यही बोलीचालीको शब्दावलीलाई टिपेको छ। कविता थोरै पढिने र धेरै लेखिने विधामध्येको साहित्यको गम्भीर विषय हो। गहिरा, गम्भीर र नसुल्झिएका विषयलाई शब्दको रङ ओढाएर, भावनाको लेपद्वारा व्यक्त गरिने माध्यम कविता हो। निर्मलकुमारका कविताले समकालीन समयको आवाजलाई मुखरित गरेका छन्।

संसारभरि चलिरहेको परिवर्तनको लहरलाई नेपालले पनि आत्मसात् गर्‍यो र त्यो युवा लहर ‘जेन–जी उवाच’ बनेर दुई दिनमै देशको इतिहासलाई खलबल्याउने क्षमता राख्न सफल भयो। दशकौँदेखिको राजनीतिदेखि वाक्क भएको नेपाली समाजलाई जरैदेखि हल्लाउने काम युवाहरूको ऊर्जाले गरिदियो। सिंहदरबार जल्यो, संसद् भवनदेखि न्यायालय र जनतासँग ठाडो सम्पर्क भएका सुरक्षा निकाय पनि जले। व्यक्तिका निजी सम्पत्तिमा पनि आक्रमण र आगजनी भए।

यसै पनि पार्टीका नेताहरूको छवि धुमिल थियो। शीर्ष नेताहरू भूमिगतझैँ भएका थिए। सरकारमा रहेकाहरूले तत्कालै राजीनामा दिनुपर्ने अवस्था आयो। यतिका घटनाक्रमहरूमध्ये सबैलाई जीउ नै सिरिङ्ग हुने घटना चाहिँ, विभिन्न अपराधमा जेलमा रहेकाहरू अनायास सडकमा खुल्ला रूपमा देखा पर्न थाले। सुरक्षा निकायबाट लुटिएका हतियारहरू कसले लग्यो भन्ने भेऊ नै पाउन सकिएन।

उल्लिखित दृश्यमाझ, धेरैका धेरैथरी अड्कलबाजी थिए। सबैले आ–आफ्ना विचार र तर्क अघि सारेका थिए। तर सर्जक थापाजस्ता व्यक्तिहरू पक्ष–विपक्षभन्दा पर गएर सिर्जनामा लीन भएका रहेछन्, तब पो ‘जेन–जी काल’ कवितासंग्रह जन्मियो। यस कृतिलाई समकालीन समयको दर्पण भने पनि हुन्छ। हामीले समाचारमा पढेका, हेरेका, सुनेका कुरालाई साहित्यिक तरिकाले व्यक्त गरिएका छन्। आधुनिक कविताशैलीमा लेखिएका विभिन्न २२ कविता यस संग्रहमा अटाएका छन्।

कविताउपर ध्यानदृष्टि
सारमा जेन–जी भनेर सन् १९९७ देखि २०१२ मा जन्मेका पुस्ता भनेर चिनिन्छ, जुन कालखण्डमा प्रविधिको विकास भयो। उनीहरू इन्टरनेट, सामाजिक सञ्जाल, स्मार्टफोन जस्ता प्रविधिमैत्री बने। अघिल्लो सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध आन्दोलनका लागि मूल जरो बनेको थियो। तर सरकारको आशय ती बहुराष्ट्रिय कम्पनीहरूलाई करको दायरामा ल्याउने र देशको कानूनमा बाँध्नेभन्दा युवाहरूको दिनचर्याको अभिन्न अंग बनिसकेको प्रविधिलाई नियन्त्रण गर्ने थियो। त्यही कारण विरोध भयो र अराजक अवस्थामा पुग्यो।

थापाका कवितामा आन्दोलनको कारण, परिणाम र भविष्यका विषय बिम्बात्मक ढंगले आएका छन्। लोकतन्त्रको आधार, चुनावी परिणामलाई स्विकारेर सदनमा आउने र सरकार चलाउनेहरू अचानक अवकाश पाएपछि सामाजिक रूपमा सक्रिय र इन्टरनेटमा बहुल समय बिताउने पात्रहरू सरकारका अंग बन्दा सबैलाई आश्चर्य त लाग्ने नै भयो। थापाको कवि हृदयलाई समेत त्यस घटनाले छोएपछि लेख्छन्:

धारा मर्मत आफै पाइप बोकेर गर्ने
ख्यालख्यालैमा खोलेको खोला पार्कमा ढुंगा उदाउने
पूर्वी फाँचोको नौ जवान
निर्विकल्प रोजाइ मै हुँ भन्दै हिनहिनाइरहेको छ...

मध्यरातमा बमबम भोले
अब मसँग लड्छ कसले भन्दै
बुटीपानपछि उम्लेको मुग्ध क्षुब्ध मनुवा पनि
मध्यरातको सुनसान सडकमा
गाँजाको गीत गाउँदै हिँडिरहेको छ...

मेरो गलामा सरस्वतीको बास छैन
ओठमाथि दुर्गा माताको आशीष छ
कृपया हेरिवोस् भोटो हेरेजसरी
यो जेन–जी कालखण्डेमा
र मलाई नै प्रधानमन्त्री पद दिइओस्...
(प्रधानमन्त्री चाहियो)

दूषित राजनीतिक दलदलबारे कविता
दुई दिनको रामछायापछि जसरी एकाएक देशको राजनीति बदलिन खोज्यो र सरकार चलाउन सक्ने प्रधानमन्त्री तथा मन्त्री पात्रको खोजी भयो, त्यसबारे कवि थापाले व्यङ्ग्यात्मक रूपमा कवितामार्फत भाव पोखेका छन्। चुनावी संरचना छोडेर अचानक सरकारमा ६ महिनाका लागि भए पनि जाने आशाकारी व्यक्तिहरू धेरै थिए। सबैको सामाजिक पृष्ठभूमि फराकिलो नभए पनि सामाजिक सञ्जालमा सामान्य चर्चा कमाएकै भरमा उनीहरू छनोटमा परेका थिए।

लोकतन्त्रको रतिक्रियामाथि कवि थापाले प्रहार गरेका छन्। उनले अन्य कवितामा पनि छनोटमा परेका पात्रहरूको योग्यताप्रति कटाक्ष गरेका छन्। ख्यालख्यालैमा सरकारमा सर्माउँदै पुगेकाहरूको विज्ञता र अनुभवशून्यतालाई सरकारले कसरी धानिरहेको होला? जनताले कस्तो खालको सास्ती बोकिरहेका होलान्? जेन–जी अर्थात् युवामैत्री पुस्ताले उठाएको आन्दोलनको फल खानेहरू पूर्व सरकारी कर्मचारीहरू हुन पुगेको तथ्य पनि कवितामा पाउन सकिन्छ।

भर्खरै घटित नेपाली परिवेशलक्षित यावत् पीडाको व्याख्या हाँस्यरसले भरिएका कविताहरू— खोजी, देशको भेष, महामहिम भूतहरू, हामी उठ्नेछौँ, मन्त्रीको मौन स्वीकृति, वैद्यबाको ओखती, जेन–जी चोक, रमितालगायतका सिर्जनाहरूमार्फत आएको छ।

वर्षौंसम्म सरकारमा जानु र सरकारी सेवा–सुविधाभोगी भएर बसेका वयोवृद्ध नेताहरूको सत्तामोहमाथि कविले कडा प्रहार गरेका छन्। जेन-जी आन्दोलनका क्रममा पनि देउवा दम्पती लगायतका नेताहरूले जघन्य आक्रमणको क्षति बेहोरेका थिए र धेरैजसो नेताहरू त भूमिगत शैलीमा वाचाल बनेका थिए। लगभग चल्तीका सबै नेताहरूका घर र कार्यालय जलेका थिए। ती सबै क्रियाकलापहरूको जिम्मेवारी तिनै नेताहरूको रजगजका कारण नै थियो।

उनीहरूले सीमित व्यक्तिको स्वार्थमा गरेको कामकारबाही र लोकतन्त्रको उपहास हुने गरी गरिएका चुनावी अभ्यासहरू विरोधका बिउ थिए। जसै आन्दोलनको क्रम सकियो, तिनै नेताहरू दोहोरी–तेहरीमा दलका मुखपत्र र सञ्चारमाध्यममा छाएका थिए। ती सहजै बिर्सिने पीडादायी पात्रहरूले कसरी देशलाई दशकौँसम्म बन्धकीमा राखे होलान्, कवि हृदयले स्वतन्त्र भएर विस्तारित चेतमा सबै दृश्यलाई व्यक्त गरेको छ।

शिर छेदन हुनबाट बालबाल बचेका
अंगभंग हुनबाट मिनेट, घण्टाले पछि हटेका
अज्ञातस्थलमा बसी जीवनरक्षाको जप गरिरहेका 
ती तमाम् शीर्ष नेताहरू र तिनका झोला बोकिदिने 
दमका रोगी दासहरू फेरि टाउको चियाउन थालेका छन्
हामी उठ्नेछौ, पक्कै उठ्नेछौ ...।
(हामी उठ्नेछौ)

उल्लेखित कवितामा सर्जक थापाले नेताहरूको दुर्दशालाई सकल भावमा राख्नुभएको छ। नेताहरूले परिवारलाई जसरी ख्याल गरे वा आफन्तदेखि दलका आसेपासेहरूलाई सुरक्षाको घेरामा राख्ने चिन्ता गरे र आर्थिक लाभ लिएर देशलाई घाटा हुने काम नगरेको भए उनीहरूले पीडा भोग्नुपर्ने कतै थिएन; तर उनीहरूमा चास्नी मोह अझै घटेको देखिएन, त्यो छटपटी उनीहरूका वक्तव्यबाट चाल पाउन सकिन्थ्यो।

ध्वंसपछि आशाको कामना
हरेक कविताहरू भविता ओढेर आएजस्तो लाग्छ। ती पीडा नाघेर आएका, पीडामा मलम जसरी शीतल लगाउने, मनकारी भाका लिएर पाठकमाझ आएका छन्। तालीको खोज, समालोचनाको बोझभन्दा पनि वर्तमान समयको नेपाली घडी ओखरले दिने समय जसरी टिकटिक गरेर, केस्रा–केस्रा तहलाई केलाएर हरेक शीर्षकमा घुलेका छन्। सुख चाँडै बिर्सने तत्त्व हो, तर मान्छेहरू दुःखलाई जीवनको अबेर कालसम्म पनि सम्झिरहन्छन्, घोत्लिरहन्छन्। सुख र दुःखको ललाटमा थापाका कविता टल्किएका छन्।

ती भन्छन्, घटित सबै दृश्यहरू केही सुखको कारक बन्न सक्छन् भने केही दुःखका। कारण, हामीले आउने भविष्यको सुखद कल्पनामा नयाँ रेखाहरू कोर्न समर्थ हुनेछौँ; पुराना धमिला, धरमराएका रेखाहरू छोडेर युवापुस्ताले ल्याउने पारिलो भविष्यको अग्रभोग गर्न लालायित हुनेछौँ। तर, दुःख यस मानेमा रहिरहनेछ कि हामीले इतिहासको नर्तन खेलमा यसरी कहिल्यै निरस र कुरूप लाग्ने दर्दनाक दृश्यको सामना गरेका थिएनौँ।

त्यसो त, नेपाली भूमिमा उठेका मुख्य–मुख्य सत्ताका शक्तिहरूको उदय कतै न कतै हिंसा वा हतियारका कारण भएको देखिन्छ, तर सरकारी सम्पत्तिमाथिको आगजनी र सुरक्षाकर्मीलाई गरिएको आक्रमण निन्दनीय खालको थियो। देशको मूल मर्म मानिने न्यायालय पनि जलेको थियो। त्यसको पीडा कवि थापालाई कति भएको थियो भन्ने हृदयविदारकता तलको कवितांशमा पाउन सकिन्छ:

कालो कोट लाएकै भरमा 
सेतो हृदय भएका जनतालाई सास्तीको सातु खुवाउने
न्यायको वकालत गर्ने तर सधैँ निदोर्षीलाई अन्याय गरिरहने
हाँसेका छन् न्यायाधीशसँगको साँठगाँठ नमिलेर बहस लम्बिएकोमा
थोपा थोपाको रिसलाई ती तमाम कालीचरणहरूले 
यसरी न्यायको चीरहरण गरे कि
चौबाटोमा सर्वोच्च न्यायालय अबेरसम्म बलिरह्यो
बहसहरू शान्त भए, 
न्याय गुँड मासिएको परेवासँगै कतै उडेर गयो
(अवसान सत्यको)

जेन–जी काल, निर्मलकुमार थापाको सशक्त समकालीन साहित्यिक सिर्जना हो। यसले साहित्यिक मनको गम्भीरतालाई सूक्ष्म रूपमा केलाएको छ। हृदयलाई छुने घटनाले चित्रकारलाई छुँदा त्यो गज्जबको चित्राकृति बन्छ, यदि मूर्तिकारको दृष्टिमा पुग्यो भने मूर्तिकला बनेर बोल्छ, गायकले सुन्दर गायनशैलीद्वारा भावलाई छुने विषयलाई अमर बनाउँछ; त्यसैगरी कवितामा भन्न रुचाउने कवि थापाको लेखनशैली आधुनिक भएर पनि गहिरो संवादका विषयलाई सजिलो भाष्यमा कवितामार्फत भनिदिएका छन्।

यसको समयसापेक्षता मात्र नभएर चिरकालीन विषयबोध बनिरहनेछ भन्ने मेरो अनुमान छ। लेखक थापाले मौसमी कृति ल्याएर विगतलाई सोसेर, वर्तमानमा टेकेर भविष्यका बारेमा बिस्कुन लगाइदिनुभएको छ। विरोध र विद्रोहको ज्वालालाई सहज भावमा भन्न सक्ने कलालाई नमन गर्दछु।

(साहित्य विषय प्राध्यापन गर्ने पराजुली कवि तथा समालोचक हुन्।)