अस्ट्रेलियाली कानूनअनुसार सामाजिक सञ्जाल प्लेटफर्महरूले १६ वर्षमुनिका बालबालिकाका खाता हटाउन पर्याप्त कदम नचालेमा ४ करोड ९५ लाख अस्ट्रेलियन डलरसम्म जरिबाना हुन सक्छ।
अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएपछि करिब ४७ लाख खाताहरू हटाइएको वा पहुँच बन्द गरिएको छ। बालबालिकाका रूपमा पहिचान भएका ती खाताहरूमाथि सामाजिक सञ्जाल कम्पनीहरूले कारबाही गरेको अधिकारीहरूले बताएका छन्।
अस्ट्रेलियाली सञ्चारमन्त्री अनिका वेल्सले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै भनिन्, “हामीले यो सम्भव छैन भन्ने खालका धेरै तर्कहरू सुनेका थियौँ। विश्वका शक्तिशाली र धनी कम्पनीहरू तथा उनीहरूका समर्थकहरूको दबाब पनि झेलेका थियौँ। तर, अब अस्ट्रेलियाका अभिभावकहरू आफ्ना सन्तानले सुरक्षित बाल्यकाल फिर्ता पाउनेछन् भन्नेमा विश्वस्त हुन सक्छन्।”
गत डिसेम्बरमा लागू गरिएको यस प्रतिबन्धपछि पहिलो पटक सार्वजनिक भएको तथ्याङ्कले अनलाइन वातावरण र बालबालिकाको सुरक्षाका विषयमा सरकारको प्राथमिकतालाई प्रतिविम्बित गरेको छ। यो कानूनले प्रविधिको प्रयोग, गोपनीयता, बाल सुरक्षा र मानसिक स्वास्थ्यका सम्बन्धमा नयाँ बहस सुरु गरेको छ भने अन्य देशहरूलाई पनि यस्तै नीतिबारे अध्ययन गर्न प्रेरित गरेको छ।
अस्ट्रेलियाली कानूनअनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, स्न्यापच्याट, रेडिट, किक, थ्रेड्स र ट्विचजस्ता प्लेटफर्महरूले १६ वर्षमुनिका बालबालिकाका खाता हटाउन पर्याप्त कदम नचालेमा ४ करोड ९५ लाख अस्ट्रेलियन डलरसम्म जरिबाना हुन सक्छ। ह्वाट्सएप र फेसबुक मेसेन्जरजस्ता सन्देश सेवालाई भने यस प्रतिबन्धबाट बाहिर राखिएको छ।
उमेर प्रमाणित गर्न प्लेटफर्महरूले परिचयपत्र, अनुहारबाट उमेर अनुमान गर्ने प्रविधि वा उपलब्ध डाटाको प्रयोग गरेका छन्। अस्ट्रेलियाकी सुरक्षा आयुक्त जुली इनमान ग्रान्टका अनुसार देशमा ८ देखि १५ वर्ष उमेरका करिब २५ लाख बालबालिका छन्। विगतका अनुमानअनुसार ८ देखि १२ वर्ष उमेरका ८४ प्रतिशत बालबालिकाको सामाजिक सञ्जालमा खाता थियो। उनले ४७ लाख खाता हटाइनु वा निष्क्रिय पारिनु उत्साहजनक भएको बताइन्।
फेसबुक, इन्स्टाग्राम र थ्रेड्सको स्वामित्वमा रहेको मेटाले मात्र प्रतिबन्ध लागू भएको भोलिपल्ट करिब पाँच लाख ५० हजार खाताहरू हटाएको जनाएको छ। मेटाले प्रतिबन्धको आलोचना गर्दै यसले साना प्लेटफर्महरूमा जोखिम बढ्न सक्ने चेतावनीसमेत दिएको छ।
यो कानून अभिभावक र बाल सुरक्षा अभियानकर्तामाझ लोकप्रिय भए पनि केही गोपनीयता पक्षधर र किशोर प्रतिनिधि समूहहरूले यसको विरोध गरेका छन्। यद्यपि प्रधानमन्त्री एन्थोनी अल्बानिजले ‘केही शंकाका बाबजुद यो उपाय प्रभावकारी देखिएको र विश्वका अन्य देशहरूले पनि अस्ट्रेलियालाई पछ्याउन थालेको’ बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
