अमेरिकामा फ्लुबाट २ लाख ३० हजार मानिस अस्पताल भर्ना

अमेरिकामा फ्लुको संक्रमण प्रायः डिसेम्बरदेखि फेब्रुअरीसम्म उत्कर्षमा रहने गर्दछ। जोखिमलाई मध्यनजर गर्दै सीडीसीले ६ महिनाभन्दा माथिका सबै व्यक्तिलाई तत्काल खोप लगाउन आग्रह गरेको छ।

प्रतीकात्मक तस्वीर

अमेरिकामा यस सिजनमा इन्फ्लुएन्जा (फ्लु)बाट संक्रमित हुनेको संख्या कम्तीमा एक करोड ८० लाख पुगेको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार फ्लु संक्रमणका कारण हालसम्म नौ हजार ३०० जनाको मृत्यु भइसकेको छ भने करिब दुई लाख ३० हजार मानिस अस्पताल भर्ना भएका छन्।

सीडीसीका अनुसार अमेरिकाभर मौसमी फ्लुको सक्रियता अझै उच्च छ। यद्यपि, पछिल्ला दुई सातादेखि संक्रमण दर केही घट्दो वा स्थिर देखिएको छ। यस सिजनमा इन्फ्लुएन्जा ए (एच३एन२) भाइरस सबैभन्दा बढी फैलिएको पाइएको छ।

विशेषगरी बालबालिकाहरूमा यसको असर गम्भीर देखिएको छ। जनवरी १० सम्मको एक सातामा मात्रै थप १५ बालबालिकाको मृत्यु भएपछि यस सिजनमा फ्लुका कारण ज्यान गुमाउने बालबालिकाको कुल संख्या ३२ पुगेको छ। मृत्यु हुनेमध्ये करिब ९० प्रतिशत बालबालिकाले फ्लुविरुद्धको खोप पूर्णरूपमा नलगाएको सीडीसीको प्रतिवेदनमा उल्लेख छ।

अमेरिकामा फ्लुको संक्रमण प्रायः डिसेम्बरदेखि फेब्रुअरीसम्म उत्कर्षमा रहने गर्दछ। जोखिमलाई मध्यनजर गर्दै सीडीसीले ६ महिनाभन्दा माथिका सबै व्यक्तिलाई तत्काल खोप लगाउन आग्रह गरेको छ। स्वास्थ्य अधिकारीहरूले समयमै खोप लगाउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने र लक्षण देखिएमा तत्काल चिकित्सकको सल्लाह लिनु नै फ्लुबाट जोगिने प्रभावकारी उपाय भएको बताएका छन्।