उपत्यकाका तीन जिल्ला– कहाँबाट कसको उम्मेदवारी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाका १५ निर्वाचन क्षेत्रमा केही दलले पुरानै उम्मेदवार दोहोर्‍याएका छन् भने केहीले नयाँ पनि लिएर आएका छन्।

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता भयो।

यसै क्रममा काठमाडौँ उपत्यकाका १५ निर्वाचन क्षेत्रमा चुनाव लड्न केही पुरानै उम्मेदवार दोहोरिका छन् भने केही नयाँ पनि आएका छन्। देशकै राजधानी र त्यससँग जोडिएका जिल्ला भएकाले पनि उपत्यकाबाट को नेता उठे भन्ने कुरा आम चासोको विषय पनि हुन्छ। यहाँबाट प्रतिनिधिसभाका लागि काठमाडौँमा १०, ललितपुरमा ३ र भक्तपुरमा २ निर्वाचन क्षेत्र रहेका छन्।

काठमाडौँ
कांग्रेसका नेता प्रकाशमान सिंहले जित्दै आएको काठमाडौँको क्षेत्र नम्बर १ मा यसपटक भने उनी उम्मेदवार छैनन्। उनको ठाउँमा कांग्रेसले प्रबल थापालाई उभ्याएको छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रविन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टी (स्वपा)बाट रञ्जु दर्शना र नेकपा एमालेका मोहोनराज रेग्मीले यहाँबाट मनोनयन दर्ता गरेका छन्। १८ भन्दा बढी दलसँग एकता गरेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले यहाँबाट मेनका भण्डारीलाई उठाएको छ।

क्षेत्र नम्बर २ मा कांग्रेसका तर्फबाट कविर शर्मा, एमालेका मणिराम फुयाल, नेकपाका नितेश पौडेल र राप्रपाकी नेत्री कुन्ती पोखरेलले मनोनयन दर्ता गराएका छन्। यही क्षेत्रबाट नेकपाबाट उपेन्द्र कार्की, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट शर्मिला माली र स्वतन्त्र उम्मेदवार रूपक सिम्खडाले पनि उम्मेदवारी दर्ता गर्दै चुनावमा होमिएका छन्। यसअघि यस क्षेत्रबाट जितेकी रास्वपा नेत्री यसपटक भने रेणु दाहाललाई टक्कर दिन चितवन ३ पुगेकी छन्।

काठमाडौँको क्षेत्र नम्बर ३ मा धेरैको नजर छ, कारण बनेका छन्– कुलमान घिसिङ। जेनजी आन्दोलनपछिको अन्तिरिम सरकारमा तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका उनले चुनावकै लागि राजीनामा दिए। उनले आफ्नै दल उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन्। यस क्षेत्रमा चुनावी प्रतिस्पर्धा रोचक हुने देखिन्छ। दुई ठूला दल कांग्रेस र एमालेका उम्मेदवार क्रमशः रमेश अर्याल र रामेश्वर फुयाँलसँग घिसिङले प्रतिस्पर्धा गर्नुपर्नेछ। राप्रपाले यहाँबाट सुन्दरसिंह बोहोरा र नेकपाले निरज लामालाई उठाएको छ। यही क्षेत्रबाट रास्वपाले राजुनाथ पाण्डेलाई अघि सारेको छ। काठमाडौँ महानगरका पूर्व प्रहरी प्रमुखका साथै निवर्तमान मेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहका निकट मानिने उनी पनि अन्य उम्मेदवारका लागि चुनौती हुने देखिएको छ। यसअघि २०७९ को चुनावमा यस क्षेत्रबाट कांग्रेसका सन्तोष चालिसेले चुनाव जितेका थिए।

कांग्रेस सभापित गगन थापाको गढ मानिने काठमाडौँ क्षेत्र नम्बर ४ मा यसपटक उनी छैनन्। कांग्रेसले उनको ठाउँमा सचिन तिमिल्सिनालाई उम्मेदवार उठाएको छ भने थापा सर्लाही–४ मा पुगेका छन्। तिमिल्सिना क्रिकेट कमेन्टेटर पनि हुन्। यस्तै, यस क्षेत्रबाट एमालेका राजन भट्टराई, नेकपाका इन्द्र भुसाल, रास्वपाका पुकार बम र राप्रपाका सुरेन्द्र भण्डारीले उम्मेदवारी दिएका छन्।

क्षेत्र नम्बर ५ बाट एमालेले ईश्वर पोखरेल, कांग्रेसले प्रदीप पौडेल, नेकपाले कल्पना शर्मा, राप्रपाले कमल थापा र रास्वपाले सस्मित पोखरेललाई उम्मेदवार उठाएका छन्। २०७९ को चुनावमा ईश्वर पोखरेललाई हराउँदै यहीँबाट प्रदिप पौडेलले संसदीय यात्रा थालेका थिए।

क्षेत्र नम्बर ६ मा कांग्रेसबाट सबुज बानियाँ, एमालेबाट अनमकुमार मास्के, राप्रपाबाट उद्धवराज भेटुवाल, नेकपाबाट हेमलाल शर्मा र रास्वपाबाट शिशिर खनालले मनोनयन दिएका छन्। खनालले यसअघि पनि यहीँबाट जितेका थिए। यस्तै, क्षेत्र नम्बर ७ बाट कांग्रेसले प्रमोदहरि गुरागाईंलाई, एमालेले प्रकाश श्रेष्ठ, राप्रपाले लालकुमार लामा, नेकपाले बसन्तप्रसाद मानन्धर र रास्वपाले गणेश पराजुलीलाई उठाएको छ। पराजुलीले अघिल्लो चुनावमा पनि यहीँबाट बाजी मारेका थिए।

क्षेत्र नम्बर ८ मा राप्रपाबाट नवीन शाही, नेकपाबाट सुमन सायमी, एमालेबाट राजेश शाक्य, रास्वपाबाट विराजभक्त श्रेष्ठ र कांग्रेसबाट सपनाराज भण्डारीबीच प्रतिस्पर्धा हुनेछ। अघिल्लो चुनावमा यहाँबाट रास्वपाका विराजभक्तले जितेका थिए।

यस्तै, क्षेत्र नम्बर ९ मा कांग्रेसबाट नानु बाँस्तोला, एमालेबाट अजयक्रान्ति शाक्य, रास्वपाबाट डीपी (डोलप्रसाद) अर्याल, नेकपाबाट राधाकृष्ण महर्जन र राप्रपाबाट दिलिप कार्कीले चुनाव लड्नेछन्। यस क्षेत्रबाट अघिल्लो चुनावमा एमालेका कृष्णगोपाल श्रेष्ठले जितेका थिए।

क्षेत्र नम्बर १० बाट राप्रपाका बलराम थापा, रास्वपाका प्रदीप विष्ट, एमालेका विनोद श्रेष्ठ, नेकपाका हितमान शाक्य र कांग्रेसका हिमाल कार्कीले चुनाव भिड्नेछन्। यघिल्लो चुनावमा यहाँबाट कांग्रेसका राजेन्द्रकुमार केसीले बाजी मारेका थिए।

ललितपुर
ललितपुरमा तीन निर्वाचन क्षेत्र छन्। ललितपुर १ बाट एमालेले चेतनाथ सञ्जेल, नेकपाले सुनिल महर्जन, कांग्रेसले उदयशमशेर राणालाई उम्मेदवार उठाएको छ। अघिल्लो चुनावमा राणाले यस क्षेत्रबाट जितेका थिए।

यस्तै, क्षेत्र नम्बर २ मा रास्वपाका तर्फबाट निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले उम्मेदवारी दर्ता गराएका छन्। यहाँबाट कांग्रेसले प्रेमकृष्ण महर्जन, एमालेबाट प्रेमबहादुर महर्जन र नेकपाले राजेन्द्र अमात्यलाई उम्मेदवार बनाएको छ। यसअघि यहाँबाट एमालेका महर्जन विजयी भएका थिए।

ललितपुर क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका विजय पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीका डा तोसिमा कार्की र नेकपा एमालेबाट सन्दन थापा मगरले मनोनयन दर्ता गराएका छन्। सो क्षेत्रमा यसअघि रास्वपाकी कार्की निर्वाचित भएकी थिइन्।

भक्तपुर
भक्तपुरमा प्रतिनिधि सभाको लागि दुई निर्वाचन क्षेत्र छन्। एक नम्बर क्षेत्रलाई नेपाल मजदुर किसान पार्टीको पकड क्षेत्र मानिन्छ। यहाँबाट २०४८ यता अरू दलले चुनाव नै जितेका छैनन्। लामो समयदेखि यहाँबाट चुनाव जित्दै आएका प्रेम सुवाल यस पटक पनि यहीँबाट उम्मेदवार छन्। यस क्षेत्रबाट उनलाई टक्कर दिन रास्वपाले रुकेश रञ्जित, कांग्रेसले किरण न्यौपाने, नेकपाले हरिराम लवजू र एमालेले नवराज गेलाललाई उठाएको छ।

यस्तै, यहाँको क्षेत्र २ लाई एमाले सचिव महेश बस्नेतको पकड मानिन्छ। यद्यपि अघिल्लो चुनावमा उनले कांग्रेसका दुर्लभ थापासँग झन्डै एक हजार मतले हारेका थिए। यसपालि भने कांग्रेसले यहाँबाट कविर राणालाई उठाएको छ भने रास्वपाले राजिव खत्री र नेकपाले रामप्रसाद सापकोटा (दीपशिखा)लाई उभ्याएका छन्। खत्री पूर्वसञ्चारकर्मी पनि हुन्। यस क्षेत्रबाट २०७४ को चुनाव जितेर संसदीय यात्रा थालेका महेश बस्नेतलाई पुनः त्यही मञ्चमा पुग्न तीनै दलका ‘बलिया’ मानिएका उम्मेदवारलाई हराउनुपर्नेछ।