नेपाल, भारत, वंगलादेश र पाकिस्तानलगायत देशमा सामाजिक सञ्जालमा लाइक फार्मिङ रोजगारीको एउटा हिस्सा बनिसकेको छ। हजारौँ डिभाइस प्रयोग गरी एक साथ लाइक बढाइदिने र त्यसबापत शुल्क लिने धन्दा चलेको छ।
सोसल मिडियाको हकमा, कसलाई कुन पोस्ट देखाउने, कहिले देखाउने र कति देखाउने भन्ने निर्णय गर्ने कम्प्युटरको सूत्र हो अल्गोरिदम। अर्को हिसाबले भन्दा तपाईँ हाम्रो व्यवहार, आनीबानी र रुचि बुझेर, हामीलाई मन पर्ने सामग्री छानेर देखाउने डिजिटल दिमाग हो अल्गोरिदम।
उदाहरणका लागि तपाईँले आफ्नो स्मार्टफोन/ग्याजेटमा भाइरल चिकित्सक ओम मूर्तिको कुनै भिडियो हेर्नुभयो। फ्याट्टी लिभरबारे थियो भिडियो। तपाईँले भिडियो पूरै हेर्नुभयो। अल्गोरिदमले तपाईँलाई ओम मूर्ति मन पर्दो रहेछ, तपाईँलाई फ्याट्टी लिभरबारे रुचि वा जानकारी आवश्यक छ भन्ने अब चाल पाउँछ। अनि फ्याट्टी लिभरसम्बन्धी भिडियो र ओम मूर्तीका अन्य भिडियो धेरैजसो दिन थाल्छ।
आँ गर्दा अलंकार बुझेजस्तै गर्छ अल्गोरिदमले। तपाईँ कसैसँग साथी हुनुहुन्न, तर उस/उनले पोस्ट गरेको कुरा तपाईँको वालमा देखिन्छ। किनभने तपाईँले कुनै बेला उससँग सम्बन्धित सामाग्री हेर्नुभएको हुनसक्छ, उस/उनको प्रोफाइल चेक गर्नु भएको हुनसक्छ वा तपाईँका साथीहरू (सामाजिक सञ्जालका फ्रेन्ड्स) ले उसको पोस्टमा लाइक, कमेन्ट गरेका हुन सक्छन्।
अल्गोरिदमले प्रयोगकर्ताका साथीभाइको गतिविधि र विगतको 'सर्च हिस्ट्री' का आधारमा कसलाई कुन पोस्ट देखाउने भन्ने निर्णय गर्छ। अल्गोरिदमले फलानोको साथी फलानो छ, उ/उनीसँग यस व्यक्तिको लाइक कमेन्ट चलिराख्छ, यसर्थ यस व्यक्तिलाई पनि यसबारे रुचि हुनुपर्छ भन्ने हिसाब एकदमै छिटो गर्छ, गरिराख्छ।
गोरु बेचेको साइनो खोजे भनेजस्तै क्या!
अल्गोरिदम र लाइकको सोझो सम्बन्ध छ। अल्गोरिदमले कति मानिसलाई पोस्ट मन पर्यो, कति छिटो लाइक आयो, पोस्टमा कति जना इङ्गेज भए भन्ने हिसाब गर्छ। मान्छेलाई मन पर्ने खालको रहेछ भन्ने भयो भने उस्तै रुचि भएका अरूको वालमा पनि सो पोस्ट देखाउँदै लैजान्छ। पैसाले पैसा तान्छ भनेझैँ लाइकले लाइक बढाउन थाल्छ। यो विधि वास्तविक लाइकको आधार हो।
'बुस्ट'मार्फत पनि बढाउन सकिन्छ लाइक। यसका लागि फेसबुक, एक्स, युट्युबलगायत जुन सञ्जाल प्रयोग गरेको छ, ती सञ्जाललाई सामग्री फैलाउन चाहने व्यक्तिले पैसा तिर्नुपर्छ। यसरी तिर्दा सम्बन्धित कम्पनीले ‘स्पोन्सर्ड’ भनी मार्क गरेका हुन्छन्। बुस्टका अलावा लाइक/लभ बढाउने अरू विधि पनि छन्। धेरैले चाहिँ अन्य विधि अपनाउँछन्, किनकि अरू विधिबाट बढाइएका लाइक, कमेन्ट, रियाक्ट र भ्युज नक्कली हुन् भनेर छुट्टाउन मेहनत नगरी सकिन्न।
नेपाल, भारत, वंगलादेश र पाकिस्तानलगायत देशमा सामाजिक सञ्जालमा लाइक फार्मिङ रोजगारीको एउटा हिस्सा बनिसकेको छ। हजारौँ डिभाइस प्रयोग गरी एक साथ लाइक बढाइदिने र त्यसबापत शुल्क लिने धन्दा चलेको छ। यस्तो खेती विकसित देशका कम्पनीले पनि अविकसित देशमा खोलेका हुन सक्छन्। ती देशमा कानुनी कडाइ र मजदुरी महँगो हुने गर्छ। मजदुरी सस्तोमा गराउन पाइने र कानूनी छिद्रमा खेल्न पाइने भारत-नेपालजस्ता देश पनि तिनको रोजाइमा पर्छन्। म्यानुअल्ली थिचेर पनि लाइक बढाइन्छ। सफ्टवेयरको प्रयोग गरी 'एजेन्टिक एआइ'मार्फत एकै पटक हजारौँ लाइक समेत बढाउन सकिन्छ।
यस्तो लाइक जसले जसको लाइक बढाउन पनि सक्छ। मात्र सम्बन्धित 'लाइक खेती गर्ने वाला ('लाइक फार्म') लाई कसैले पैसा दिनु पर्यो। यस्तो खेतीपातीलाई 'क्लिक फार्मिङ' पनि भनिन्छ। इन्गेजमेन्ट फार्मिङ्, क्लिक फार्मिङ्, फ्लोअर फार्मिङ्, बोट एक्टिभिटिज, इन्गेजमेन्ट पड, स्क्याम इन्गेजमेन्ट आदि-इत्यादि इन्टरनेट मार्केटिङका शब्दावली हुन्। कहिलेकाहीँ सम्बन्धित व्यक्ति आफै अचम्ममा परिरहेको हुन सक्छ-आफ्नो पोस्टमा आएका रियाक्ट र कमेन्ट देखेर। न बुस्ट गरेको छ न त कसैलाई पैसा तिरेको छ, तर पनि औसतभन्दा बढी इन्टर्याक्सन भइरहेको छ। तपाईँको पोस्टले अर्कोलाई फाइदा पुग्ने रहेछ भने अर्कैले तपाईँले थाहा नपाउने गरी समेत चलखेल गरिदिएको हुनसक्छ।
पछिल्लो समय रवि-बालेनको पक्षधरतासँगै भाइरल बनेका सञ्चारकर्मी एवम् रास्वपा उम्मेदवार राजीव खत्रीले भनेका रहेछन्, "मेरो पोस्टमा नक्कली रियाक्ट बढाउन कृपया खर्च नगरिदिनुहोला, कसले गरिरहेको छ, मलाई थाहा छैन। हाहा रियाक्ट गराएर मलाई फाइदा पनि केही छैन।"
राजीव खत्रीकैमा अनजान व्यक्तिले खर्च गरिदिएका छन् भने अरूहरूको मा के के भइराखेका होलान्?
उकालो डटकममा नवयुवाको आन्दोलन लगत्तै प्रकाशित 'बालेन: मियो कि मोहोरा' भन्ने लेखमा मैले अल्गोरिदमबारे थोरै लेखेको थिएँ। हिजोआज यसबारे आम रूपमा चासो बढेको देखिन्छ। राजनीतिलाई 'लाइक'ले कतिसम्म छोएको छ भने केपी ओलीको पोस्टमा ५० हजार लाइक आए एमालेको बहुमत कसैले रोक्न सक्दैन भनी विष्णु रिमालले एकाध वर्ष पहिले घोषणा गरेका थिए।
अस्ति मात्र स्वयं केपी ओली गुनासो गर्दै थिए, "ए बाबा, त्यही छेउमा लाइक हुन्छ- थिचिदिनू नि!" ८ लाख पार्टी सदस्य भएको पार्टीका अध्यक्षको पोस्टमा लाइक ठोक्ने जाँगरसमेत एमाले जनले गुमाएका छन्। फलतः अध्यक्षको पोस्टमा छेडखानी गरी गरिएको कमेन्टमा आएका लाइक पोस्टका लाइक भन्दा तेब्बर भइदिन्छन्।
नेतालाई त लाइकले हायलकायल पारिसकेको छ भने सर्वसाधारणमा यसको प्रभाव कति परेको होला? कसको स्वार्थमा कसका पोस्टमा कति लाइक बढे होलान् र बढाउँदै गरिएको होला? चुनावमा लाइकको कस्तो प्रभाव पर्ला? यसबारे विषय विज्ञले अनुसन्धान गर्न र सम्बन्धित निकायले नियमन गर्न आवश्यक छ। फेसबुक, एक्स र युट्युबजस्ता सञ्जालको नीति फेक लाइक र इन्गेजमेन्ट निरुत्साहन गर्ने छ। ठोस प्रमाणसहित उजुरी गरेमा त्यस्ता अकाउन्ट बन्द पनि गरिदिन सक्छन्।
चुनाव आउँदै गर्दा लाइक र भ्युजका खेती ह्वात्तै बढ्ने निश्चित छ। पक्कै बढिरहेको होला। खासगरी नवयुवाहरू जो मोबाइलको डिभाइस खेलाउँदै हुर्के, तिनको जीवनको समयको महत्त्वपूर्ण हिस्सा मोबाइल चलाएर बित्ने गरेको छ, तिनले भ्युज् र लाइकहरूलाई धेरै शक्तिशाली ठान्छन्। त्यही आधारमा तिनले धारणा पनि बनाइरहेका छन्।
फेरि, युगौँदेखि त्यही हुने गरेको छ–सत्य तितो र भ्रम मिठो। आफ्नो लोकप्रियता सदा कायम राख्न चाहने व्यक्तिहरूले सामाजिक सञ्जालमा पनि लोकले रुचाउने तर लोकका लागि हानिकारक विचार पस्किरहेका हुन्छन्। किनकि सत्य सहजै बजारमा बिक्दैन। सत्य धेरैलाई पच्दैन। लोकको यही कमजोर मनोदशामा टेकेर सामाजिक सञ्जालमार्फत आम जनताको टाउकोसम्म 'गुलियो हानिकारक तत्त्व' आइपुग्ने गरेको छ। पछिल्लो समय सञ्जालको लाइक र भ्युज (सक्कली/नक्कली) को घोडा चढेर लोकप्रियतावाद संसारभर फैलँदो छ। त्यसमा सबै सचेत हुन जरुरी छ।
लाइक र भ्युजका भ्रमपूर्ण अवधारणा शतप्रतिशत मतपत्रमा बदलिन्छ या बदलिँदैन, तर त्यसले खासगरी कमजोर मनोविज्ञान भएका सर्वसाधारणले लिने फैसलामा केही प्रभाव पक्कै पार्छ। यस्तो अवस्थामा इन्टरनेट र सामाजिक सञ्जालको यो स्क्याम बुझ्न जरुरी छ। भ्युज र लाइकका आधारमा नेता चुन्ने कुरा डरलाग्दो हुन्छ भनेर बुझ्न अत्यावश्यक छ। नवयुवाहरूले बुझेर अरूलाई बुझाउनु आवश्यक छ।
(उकोलोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

गज्जब आलेख । अल्गोरिदमका बारेमा पनि जानकारी भयो । यो शब्द केहीयता खुबै सुनिदैआएको थियो ।
Ishwor Pokharel
5 months, 3 weeks ago