भारत–ईयू स्वतन्त्र व्यापार सम्झाैता– 'सबै सम्झाैताको जननी'

हाल भारत र युरोप दुवैले अमेरिकासँग व्यापारको विषयमा तनावको सामना गरिरहेका बेला यस ऐतिहासिक सम्झाैतालाई विशेष महत्वका साथ हेरिएको छ।

काठमाडाैँ– भारत र युरोपेली संघ (ईयू)बीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता (एफटीए)मा हस्ताक्षर भएको छ।

सम्झाैता सोमबार (हिजो) नै भए पनि दुवै पक्षले यसको औपचारिक पुष्टि आज गरेका हुन्। यस स्वतन्त्र व्यापार सम्झाैतालाई 'सबै सम्झाैताको जननी' भनिएको छ। आज १६औँ भारत-ईयू शिखर सम्मेलनको अवसरमा यस सम्झाैताको घोषणा भएको हो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस सम्झाैताको प्रशंसा गर्दै यो विश्वव्यापी मञ्चमा दुई प्रमुख अर्थतन्त्रहरूबीचको साझेदारीको उत्तम उदाहरण भएको बताए। उनले यस सम्झाैतालाई सबैले 'सबै सम्झाैताको जननी' भनिरहेको भन्दै खुसी व्यक्त गरे। साथै, सम्झौतामा हस्ताक्षर भएकोमा देश र देशवासीलाई बधाई दिँदै उनले यसबाट लाभान्वित हुने मानिसहरूको पनि रूपरेखा प्रस्तुत गरे।

"हिजो मात्र भारत र युरोपेली संघबीच धेरै ठूलो सम्झौतामा हस्ताक्षर भएको छ। विश्वका मानिसहरू यसलाई सबै सम्झौताहरूको आमाको रूपमा छलफल गरिरहेका छन्," उनले भनेका छन्, "यो सम्झौताले भारतका १.४ अर्ब जनता र युरोपेली देशका लाखौं जनताका लागि अपार अवसरहरू ल्याउनेछ। यो विश्वका दुई ठूला अर्थतन्त्रबीचको समन्वयको उत्कृष्ट उदाहरण हो।" उनले यस सम्झौताले विश्वव्यापी कूल गार्हस्थ्य उत्पादनको लगभग २५ प्रतिशत र विश्वव्यापी व्यापारको लगभग एक तिहाइ प्रतिनिधित्व गर्ने बताए।

null

‍यो सम्झौताले कपडा, रत्न तथा आभूषण, छाला र जुत्ता जस्ता क्षेत्रहरूलाई फाइदा पुर्‍याउने विश्वास गरिएको छ। यो सम्झाैतासँगै भारतमा उत्पादन वृद्धि हुने, रोजगारी सिर्जना तथा सेवा क्षेत्रको विस्तार हुने मोदीले दाबी गरेका छन्। साथै, यस सम्झौताले भारतमा व्यवसाय र लगानीकर्ताहरूको विश्वासलाई अझ बलियो बनाउने उनले बताएका छन्।

यस सम्झाैताकै लागि युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा केही दिनदेखि भारतमै छन्। दुवै जना सोमबार भारतको गणतन्त्र दिवसको कार्यक्रममा प्रमुख अतिथि पनि रहेका थिए।

युरोपेली आयोगकी प्रमुख लेयनले यस सम्झाैतालाई ऐतिहासिक बताएकी छन्। "युरोप र भारतले आज इतिहास रचिरहेका छन्। हामीले दुई अर्ब मानिसहरूको स्वतन्त्र व्यापार क्षेत्र सिर्जना गरेका छौं, जसले दुवै पक्षलाई फाइदा पुर्‍याउनेछ," आज उनले एक्समा लेखेकी छन्, "यो त शुरूआत मात्र हो। हामी हाम्रो रणनीतिक साझेदारीलाई अझ बलियो बनाउनेछौं।"

भारत र युरोप दुवैले हाल अमेरिकासँग व्यापारको विषयमा तनावको सामना गरिरहेका छन्। यी दुई शक्तिबीचको स्वतन्त्र व्यापार सम्झौता हुनुको एउटा कारण यही सम्बन्ध पनि भएको विज्ञहरू विश्वास गर्छन्।

भारत र युरोपेली संघ बीचको स्वतन्त्र व्यापार सम्झौताको लागि पहिलो वार्ता सन् २००७ मा भएको थियो। त्यसपछि पुन: २०२२ मा भएर मंगलबार अन्तिम रूप लिएको हो।

स्वतन्त्र व्यापार सम्झौता अन्तर्गत, दुई देश वा दुई पक्षहरूले एकअर्कालाई आफ्नो बजारमा पहुँच गर्न सजिलो बनाउनेछ।

भारतको आर्थिक शक्ति द्रुत गतिमा बढिरहेकोले युरोपेली संघका लागि भारतसँगको घनिष्ठ व्यापार सम्बन्ध महत्त्वपूर्ण छ। भारत विश्वको सबैभन्दा छिटो बढ्दो अर्थतन्त्र मध्ये एक हो। यसको कूल गार्हस्थ उत्पादन यस वर्ष ४ ट्रिलियन डलर नाघ्ने अनुमान गरिएको छ र यसले जापानलाई पनि उछिन्न सक्ने बताइएको छ।

यता भारतको लागि ईयू पहिलेदेखि नै सबैभन्दा ठूलो व्यापारिक समूह हो। अब झन् भारतबाट युरोपेली बजारमा आउने धेरै उत्पादनहरूलाई आयात शुल्कमा छुट मिल्नेछ र भारतको अन्तर्राष्ट्रिय बजार झन् विस्तार हुनेछ।

यो सम्झौतापछि, युरोपबाट भारतमा आउने कार र प्रिमियम सवारी साधनहरूमा पनि आयात शुल्क ११० प्रतिशतबाट घटेर ४० प्रतिशत मात्र हुनेछ। यसको अर्थ अडी, मर्सिडिज र पोर्श जस्ता कारहरू अब भारतीय सडकहरूमा अझ बढी संख्यामा देखिनेछन्। यो सम्झौतापछि भारतमा धेरै वस्तुहरू कम दरमा उपलब्ध हुनेछन्। कारदेखि रसायनसम्म सबै चीजहरूको मूल्य घट्नेछ। वाइन, बियर र पेय पदार्थहरू पनि सस्तो हुन सक्छन्। यो सम्झौताले मदिरा, खाद्य उत्पादन, रसायन, मेसिनरी, औषधि र एयरोस्पेस जस्ता प्रमुख वस्तुहरूको मूल्य पनि घटाउनेछ।  –एजेन्सीहरूको सहयोगमा