अमेरिकामा हिमपातबाट ३० जनाको मृत्यु, ५ लाखभन्दा बढी घर बिजुलीविहीन

अमेरिकामा हिमपात र हिउँ आँधीका कारण ३० जनाको मृत्यु हुनुका साथै पाँच लाखभन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

आइतबार वासिङ्टनको अमेरिकी क्यापिटल अगाडि हिउँ पन्छाउन प्रयोग गरिएको यन्त्र। तस्वीर : जुलिया डेमारी निखिन्सन/एपी

अमेरिकाको उत्तर-पूर्वी र दक्षिणी क्षेत्रमा आएको भीषण हिमपात र बरफिलो आँधीका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ। कडा चिसो र बिजुली अवरुद्ध हुँदा लाखौँ मानिसको जनजीवन कष्टकर बनेको छ।

अर्कान्सासदेखि न्यु इंग्ल्यान्डसम्मको दुई हजार १०० किलोमिटर क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जम्दा यातायात ठप्प हुनुका साथै हजारौँ उडानहरू रद्द भएका छन्। राष्ट्रिय मौसम सेवाका अनुसार पिट्सबर्गको उत्तरी क्षेत्रमा २० इन्चसम्म हिउँ परेको छ भने केही ठाउँमा हावाको चिसोपना माइनस ३१ डिग्री सेल्सियससम्म पुगेको छ।

हिमपातसँग सम्बन्धित दुर्घटनामा परी विभिन्न राज्यमा कम्तीमा ३० जनाको ज्यान गएको छ। म्यासाचुसेट्स र ओहायोमा हिउँको ढिस्कोले किचेर दुई जनाको मृत्यु भएको छ भने अर्कान्सास र टेक्सासमा किशोरकिशोरीहरू स्लेडिङ दुर्घटनामा परेका छन्। न्युयोर्क शहरमा मात्रै चिसोका कारण आठ जना मृत फेला परेका छन्।
पावर

पावरआउटेज डट कमका अनुसार सोमबार साँझसम्म देशभर पाँच लाख ६० हजारभन्दा बढी घरमा बिजुली आपूर्ति बन्द थियो। विशेषगरी मिसिसिपी र टेनेसीका क्षेत्रहरू बढी प्रभावित छन्। मिसिसिपीमा सन् १९९४ पछिको यो सबैभन्दा ठूलो हिउँ आँधी हो। गभर्नर टेट रिभ्सका अनुसार धेरै घर र सार्वजनिक सडकहरूमा ठूलो क्षति पुगेको छ।

मिसिसिपी विश्वविद्यालयले हप्ताभरका लागि कक्षाहरू रद्द गरेको छ। अक्सफोर्डका मेयर रोबिन ट्यानहिलले सडकको अवस्था भयावह रहेको बताउँदै ‘हरेक सडकमा आँधीबेहरी आए जस्तो’ देखिएको उल्लेख गरेका छन्।

उडान ट्र्याकर फ्लाइटअवेयर डट कमका अनुसार सोमबार १२ हजारभन्दा बढी उडानहरू डिले वा रद्द भएका छन्। उड्डयन विश्लेषण फर्म सिरियमका अनुसार आइतबार ४५ प्रतिशत अमेरिकी उडान रद्द भएका थिए, जुन कोभिड–१९ महामारीपछिकै उच्च दर हो।

न्युयोर्क शहरमा ८ देखि १५ इन्चसम्म हिउँ परेको छ। सार्वजनिक विद्यालयहरू भौतिक रूपमा बन्द भए पनि करिब पाँच लाख विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी गराइएको छ।